Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल राष्ट्र बैंक सिंगापुरको कमर्स इन्टरनेसनल बैंकसँग निरीह

नेपाल राष्ट्र बैंक सिंगापुरको कमर्स इन्टरनेसनल बैंकसँग निरीह

पाँच वर्षको सम्झौता सकिएपछि पनि विनाप्रतिस्पर्धा विदेशी मुद्रा खरिद


काठमाडौं । नेपाल राष्ट्र बैंक सिंगापुरको कमर्स इन्टरनेसनल मर्चेन्ट बैंक, वेरहाडसँग निरीह बनेको पुष्टि भएको छ । राष्ट्र बैंकले मुलुकका लागि आवश्यक विदेशी मुद्रा खरिद गर्न सिंगापुरको सोही बैैंकसँग सम्झौता गरेको थियो । अहिले सम्झौताको पाँच वर्ष अवधि पूरा भइसक्दा पनि सम्झौता नवीकरण भएको छैन । तर, राष्ट्र बैंकले विदेशी मुद्रा खरिदका लागि कुनै पनि एजेन्सी बैंक नियुक्त नगरी सोही बैंकलाई जिम्मा दिएको छ ।

राष्ट्र बैंकको नगद विदेशी मुद्रा स्थानान्तरणसम्बन्धी कार्यविधि, २०७७ को बुँदा ३(१)मा बैंकमा जम्मा नगद विदेशी मुद्रालाई एजेन्सी बैंकमा रहेको खातामा जम्मा गर्ने प्रयोजनका लागि प्रतिस्पर्धाद्वारा एजेन्ट बैंक छनोट गरिने र छनोट नभएसम्मको लागि साबिक एजेन्ट बैंकसँग भएको सम्झौताको अवधिसम्म सेवा लिन सकिने व्यवस्था छ । सोअनुसार नेपाल राष्ट्र बैंक र कमर्स इन्टरनेसनल मर्चेन्ट बैंक बेरहाड, सिंगापुरबीच बैंक नोट खरिद गर्नको लागि २८ जनवरी २०१९ मा सम्झौता भएको थियो । उक्त सेवा कम्पनीले बैंक नोट खरिद कमिसनको दरमा पटक–पटक संशोधन गरेको र सोही दर नेपाल राष्ट्र बैंकले स्वीकार गर्दै आएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन २०८१ मा उल्लेख छ ।

महालेखाका अनुसार सम्झौतामा कमर्स इन्टरनेसनल मर्चेन्ट बैंक र नेपाल राष्ट्र बैंकबीच सो संशोधित दरको विषयमा अन्य व्यवस्था भएको छैन । नेपाल राष्ट्र बैंक र कमर्स इन्टरनेसनल मर्चेन्ट बैंकबीच सम्झौता भएको पाँच वर्ष अवधि पूरा भइसक्दा पनि प्रतिस्पर्धात्मक प्रक्रियाबाट नयाँ एजेन्सी बैंकको चयन नभएकोले विदेशी मुद्रा बिक्री गर्नको लागि एजेन्सी बैंकको नियुक्ति सोही कार्यविधिबमोजिम प्रतिस्पर्धात्मक प्रक्रियाबाट हुनुपर्ने व्यवस्था छ ।

महालेखाले नेपाल राष्ट्र बैंकले प्रदान गर्ने स्ट्यान्डिङ लिक्विडिटी फेसिलिटी (एसएलएफ)का विषयमा पनि प्रश्न उठाएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता जोखिम व्यवस्थापन गर्न राष्ट्र बैंकले २०७८ कात्तिक २९ गते जारी गरेको जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिकामा जोखिम व्यवस्थापन कार्यक्रम, जोखिम वर्गीकरण, तरलता जोखिम व्यवस्थापन, बजार जोखिम व्यवस्थापन गर्नेलगायतका व्यवस्था सबै बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन गर्नुपर्ने उल्लेख छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९१ (१)मा राष्ट्र बैंकले जारी गरेको निर्देशन वा आदेशको उल्लंघन गर्ने बैंक वा वित्तीय संस्थालाई उल्लंघनको प्रकृति र गाम्भीर्यता हेरी सचेत गराउने, सुधारात्मक कदम चाल्नका लागि सञ्चालक समितिलाई कबुलियत गराउने, निर्देशन वा आदेशको उल्लंघन नगर्न वा सुधारात्मक कदम चाल्न लिखित आदेश जारी गर्ने व्यवस्था छ ।

आदेशको पालना नगरेमा उल्लंघनको प्रकृति हेरी १० लाख रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था छ । यो व्यवस्थाका बाबजुत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २०७६/०७७ मा ८३ पटकमा एक खर्ब तीन अर्ब, २०७७/०७८ मा एक सय ६७ पटकमा तीन खर्ब ६१ अर्ब र २०७८/०७९ मा चार हजार नौ सय आठ पटकमा ९१ खर्ब ७० अर्व र २०७९/०८० ज्येष्ठ मसान्तसम्म एक हजार छ सय ५७ पटकमा २७ खर्ब २७ अर्ब एसएलएफ सुविधा प्रदान गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले तरलता व्यवस्थापनसम्बन्धी केन्द्रीय बैंकको निर्देशन पालना गर्ने क्रममा तरलता अभाव भएमा उक्त सुविधा प्रदान गर्नुपर्नेमा सोको यकिन नै नगरी यस्तो रकम प्रवाह भएको महालेखाको भनाइ छ । तरलता अभाव भएको सुनिश्चितता हुनेगरी पुष्ट्याइँ समावेश गरी यस्तो सुविधा प्रदान गर्नुपर्ने महालेखाले औँल्याएकोे छ । नेपाल राष्ट्र बैंकको जोखिम व्यवस्थापन निर्देशिका, २०७३ मा जोखिम व्यवस्थापन एकाइको १४ मुख्य जिम्मेवारी तय गरेको भए पनि बैंकले जोखिम पहिचान, अनुगमन, घटनाको परिणाम र सम्भाव्यताको आधारमा जोखिम मूल्यांकन र न्यूनीकरणका कार्यहरू सम्पादन गरी प्रगति विवरण तयार नगरेको महालेखाको भनाइ छ ।

बैंकले प्रमुख कर्मचारीको प्रतिस्थापन योजना, प्राविधिक विशेषज्ञता आवश्यक पर्ने कार्यविवरण हस्तान्तरण, सुनको व्यापारघाटालगायतका कारण उत्पन्न हुनसक्ने जोखिमलाई सम्बोधन गर्न सकेको छैन । यो अवस्थामा जोखिम सूचकका आधारमा कार्य सम्पादन हुने महालेखाले भनेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x