Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयजलहरी प्रकरण छिटो किनारा लागोस्

जलहरी प्रकरण छिटो किनारा लागोस्


काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरी छानबिनको अन्तिम चरणमा पुगेको छ । पशुपतिमा राखिएको उक्त जलहरी निर्माण गर्दाको क्रममा करिब ११ किलो सुन कम भएको अर्थात् अनियमितता भएको भन्ने आरोप लागेको थियो । दुई वर्षअघि परेको उजुरीमा बल्ल अख्तियारले छानबिनलाई अघि बढाउँदै जलहरीको तौल यकिन गर्न गएको थियो । आइतबार यो छानबिनको एउटा प्रक्रिया पूरा भएको छ । त्यो भनेको गर्भगृहबाट जलहरी झिकेर तौलनु हो । अख्तियारले मन्दिरको गर्भगृहबाट जलहरी निकालेर गुणस्तर विभाग, पुरातत्व विभाग, चारैपटी सुरक्षा निकाय, पशुपति क्षेत्र विकास कोष, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपतिका पुजारी, जनप्रतिनिधिलगायतको रोहवरमा यो काम गरेको हो । अनौपचारिक जानकारीअनुसार बाहिर आएजस्तो जलहरीको तौलमा ठूलो अन्तर देखिएन । तर आराध्यदेवको गर्भगृहमा रहेको वस्तुमा पनि शंका गर्नुपर्ने अवस्था आउनु आफैँमा सामान्य थिएन । यसको सन्देश राम्रो जाँदैन । पशुपतिनाथ संसारभरका हिन्दुहरुका आराध्यदेव हुन् । त्यसकारण पशुपतिनाथको जलहरीमा यस्ता विषय जोडिनु नै आपत्तिजनक हो । त्यसकारण पनि यो अनुसन्धान अब धेरैलामो समय विचाराधीन रहनुहुँदैन ।

कतिपय निकायले पहिले पनि प्रक्रियागतरूपमा यो काममा शंका मानेका थिए । महालेखाले आफनो प्रतिवेदनमा जलहरी निर्माणका क्रममा प्रकट भएको अनियमिततालाई औँल्याएको थियो । पशुपतिनाथको मन्दिरभित्र देखिएको अनियतिताबारे महालेखाको ५९ औँ प्रतिवेदनमा भनिएको छ –‘सबै प्रकारका आम्दानी र खर्चको विवरण कोषबाट नै लेखाङ्कन हुनुपर्नेमा परिषद्ले दातामार्फत ज्याला सोझै भुक्तानी गर्ने व्यवस्था उल्लेख गरेकाले दाताबाट प्राप्त नगद एवं जिन्सी आम्दानी खर्चको लेखाङ्कन नभएबाट जलहरी निर्माण कार्यमा भएको खर्चको यथार्थ अवस्था यकिन हुन सकेन । सो रकम यकिन गरी कोषको खातामा आम्दानी बाँधिनुपर्छ र नियमावलीअनुसार प्राप्त चन्दा, अनुदान, भेटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्ने व्यवस्था गरिनुपर्दछ ।

यसले बुझाउँछ कि पशुपतिनाथमा हुने आम्दानी र खर्चको सहि प्रकारले हिसाबकिताब राख्ने गरिएको छैन । मन्दिरमा दाताहरूले दिएको नगद एवं जिन्सीको विवरण पनि स्पष्ट छैन । त्यसैकारण महालेखाले आम्दानी खर्चको लेखाङ्कन नभएको भन्दै यसको आम्दानी खर्चलाई शंकाको घेरामा राखिदियो । यद्यपि महालेखाले हिसाबकिताब सहि हुनुपर्छ भन्ने सुझाव दिएको छ । जलहरी निर्माणको पारिकश्रमिक दाताहरूको भरमा छाडिएको अवस्थामा जलहरी निर्माणमा कति खर्च भयो भन्ने यकिन हुन नसकेको अवस्था प्रकट भयो । त्यसैकारण सो रकम यकिन गरी कोषको खातामा आम्दानी बाँधिनुपर्दछ भनेर महालेखाको सुझाव आयो । पशुपति विकास कोषको ‘नियमावलीमा नै प्राप्त चन्दा, अनुदान, भेटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्नुपर्नेछ भनिएको छ । तर महालेखाले भने यो ठाउँमा अन्यथा भएको उल्लेख गरेको छ ।

अनौपचारिकरूपमा चर्चामा आएजस्तो गर्भगृहमा रहेको जलहरी झिक्दा त्यसमा तत्कालीन पदाधिकारीहरूको नाम कुँदिएको भेटिएको छ । तत्कालीन राष्ट्रपति, तत्कालीन प्रधानमन्त्री, तत्कालीन पर्यटनमन्त्रीलगायतको नाम के आधारमा जलहरीमा राख्न लगाइयो भन्ने पनि एउटा अनुसन्धानको विषय हुनुपर्छ । त्यसबेला तत्कालीन प्रधानमन्त्रीले यो जलहरी बनाउन ३० करोड विजियोजन गराएका थिए । यो कुरा पहिले चर्चामा आएको थिएन । अहिले जलहरी झिकेपछि मात्र यस्तो भेटिनाले यो के–कति औचित्यपूर्ण हो भन्ने पक्षबाट पनि हेरिन आवश्यक छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया