Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसात प्रदेशमा १३ खर्ब ४३ अर्ब औद्योगिक कर्जा

सात प्रदेशमा १३ खर्ब ४३ अर्ब औद्योगिक कर्जा


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो छ महिनामा औद्योगिक कर्जा प्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले औद्योगिक कर्जा प्रवाह घटेको देखाएको हो । सातै प्रदेशको एकीकृत अर्ध–वार्षिक प्रतिवेदन २०७९/०८० अनुसार २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा छ दशमलव नौ प्रतिशतले घटेर १३ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १९ दशमलव चार प्रतिशतले बढेको थियो ।

कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा मात्र प्रवाहित कर्जाको अंश २७ दशमलव नौ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा एक दशमलव तीन प्रतिशत, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २० दशमलव एक प्रतिशत, गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३९ दशमलव छ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा १३ प्रतिशत, विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगमा २० प्रतिशत र धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा छ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । सम्बन्धित प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट भएको लगानीका आधारमा औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी नौ खर्ब दुई अर्ब ८८ करोड अर्थात् ६७ दशमलव २१ प्रतिशत कर्जा लगानी रहेको छ । यस अवधिमा भने कर्णाली प्रदेशमा पाँच अर्ब २८ करोड अर्थात् शून्य दशमलव ३९ प्रतिशत कर्जा लगानी रहेको छ ।

राष्ट्र बैंकका अनुसार औद्योगिक कर्जामा कोशी प्रदेशमा प्रवाहित कर्जाको हिस्सा नौ दशमलव ५२ प्रतिशत, मधेश प्रदेशको आठ दशमलव ४९ प्रतिशत, बागमती प्रदेशको ६७ दशमलव २१ प्रतिशत, गण्डकी प्रदेशको दुई दशमलव ९७ प्रतिशत, लुम्बिनी प्रदेशको नौ दशमलव २५ प्रतिशत, कर्णाली प्रदेशको शून्य दशमलव ३९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा प्रवाहित कर्जाको हिस्सा दुई दशमलव १७ प्रतिशत रहेको छ । वित्तीय सेवाअन्र्तगत भने २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकका पाँच हजार २९, विकास बैंकका एक हजार एक सय २८, फाइनान्स कम्पनीका दुई सय ८० तथा लघुवित्त वित्तीय संस्थाका पाँच हजार एक सय ५१ गरी कुल ११ हजार पाँच सय ८८ वटा शाखा सञ्चालनमा रहेका छन् । यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी तीन हजार २५ शाखा तथा कर्णाली प्रदेशमा सबैभन्दा कम चार सय ५९ शाखा सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७८ पुस मसान्तको तुलनामा नौ दशमलव एक प्रतिशतले वृद्धि भई ५३ खर्ब ४७ अर्ब ६४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १४ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । २०७८ पुस मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०७९ पुस मसान्तमा तीन दशमलव चार प्रतिशतले वृद्धि भई ४८ खर्ब १३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष कर्जा २७ दशमलव चार प्रतिशतले बढेको थियो । यसैगरी २०७८ पुस मसान्तमा कुल कर्जा कुल निक्षेप अनुपात ९४ दशमलव नौ प्रतिशत रहेकोमा २०७९ पुसमा ९० प्रतिशत रहेको छ । कुल कर्जा कुल निक्षेप अनुपात मधेश प्रदेशमा सबैभन्दा बढी एक सय ७३ दशमलव दुई प्रतिशत र बागमती प्रदेशमा सबैभन्दा कम ७२ दशमलव दुई प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६९ दशमलव चार प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको एक दशमलव दुई प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा बागमती प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा प्रवाहको अंश सबैभन्दा धेरै ५५ दशमलव छ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा प्रवाहको अंश एक दशमलव दुई प्रतिशत रहेको छ । सेवा क्षेत्र कर्जाअन्तर्गत २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०७८ पुस मसान्तको तुलनामा सात दशमलव तीन प्रतिशतले बढेर ३१ खर्ब २५ अर्ब ७३ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३२ दशमलव ३९ प्रतिशतले बढेको थियो । कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश २०७९ पुस मसान्तमा ६४ दशमलव नौ प्रतिशत रहेको छ । सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये थोक तथा खुद्रा विक्रेता उपक्षेत्रमा सबैभन्दा बढी ३१ दशमलव सात प्रतिशत कर्जा प्रवाह भएको छ भने उपभोग्य कर्जा उपक्षेत्र, वित्त, बीमा तथा अचल सम्पत्ति उपक्षेत्र, पर्यटन उपक्षेत्र, रियल स्टेट उपक्षेत्र, यातायात, भण्डारण र सञ्चार उपक्षेत्र, शिक्षा उपक्षेत्र, अन्य सेवा उपक्षेत्र, स्वास्थ्य र अन्य सामाजिक कार्यसम्बन्धी उपक्षेत्र र अन्य उपक्षेत्रमा क्रमशः २८ दशमलव पाँच प्रतिशत, छ दशमलव पाँच प्रतिशत, छ दशमलव पाँच प्रतिशत, पाँच दशमलव तीन प्रतिशत, तीन दशमलव चार प्रतिशत, दुई दशमलव साात प्रतिशत, दुई दशमलव तीन प्रतिशत, एक दशमलव नौ प्रतिशत र ११ दशमलव पाँच प्रतिशत कर्जा प्रवाह भएको छ ।

सेवा क्षेत्रमा प्रवाहित कर्जामध्ये बागमती प्रदेशमा प्रवाहित कर्जाको हिस्सा सबैभन्दा बढी ५२ दशमलव दुई प्रतिशत रहेको छ । यसअन्र्तगत कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम अर्थात् एक दशमलव छ प्रतिशत रहेको प्रतिवेदमा उल्लेख छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया