Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयधानको उत्पादन बढाउने कुरा घोषणामै सीमित

धानको उत्पादन बढाउने कुरा घोषणामै सीमित


काठमाडौं । दुई दशकअघिदेखि सुरु भएको असार १५ मा राष्ट्रिय धान दिवस मनाउने परम्परा यसपटक पनि धुमधामसँग सम्पन्न भयो । यो कार्यक्रममा सुकिलामुकिला नेताहरू र सरकारी मान्छेहरू रोपाइँ चलिरहेको खेतमा हिलाम्मे अवस्थामा देखिए । यही असार १५ को राष्ट्रिय धान दिवस मनाउने क्रममा केही वर्षपहिले एकजना कृषिमन्त्रीको जागिर नै गएको थियो । रोपाइँ गरिरहेका महिलामाथि अभद्र व्यवहार गरेको भन्ने उनीमाथि आरोप लागेको थियो । त्यसपछिका अर्का एक कृषिमन्त्रीले पाँचतारे होटेलमा गमलामा धान रोपेको भिडिओ आएपछि उनी पनि विवादित बनेका थिए । यो वर्ष त्यस्तो केही भएन तर मन्त्री, प्रधानमन्त्री तथा दलका नेताहरूले यो दिनलाई भव्यताका साथ मनाएका दृश्यहरू भने आइ नै रहे । तर तिनमा कुनै जीवन्तता देखिँदैन थियो । यो दिन मनाउनुपर्छ भन्ने लागेर मात्रै मनाइएको जस्तो देखिन्थ्यो । सहिद दिवसमा सहिदलाई सम्झिएजस्तो धान दिवसमा धानको सम्झना गरेजस्तो मात्रै भयो ।

असार १५ मा राष्ट्रिय धान दिवस मनाउन सुरु गरिँदा त्यसबेलाको सरकारले आन्तरिक उत्पादनमा आत्मनिर्भर बन्ने उद्घोष गरेको थियो । तर यो उद्घोष यतिबेला देशका लागि एउटा व्यङ्ग्यजस्तो बन्न गएको छ । सरकारले यस्तो घोषणा गर्दाको वर्ष देशमा आन्तरिक उत्पादनलाई बढाउन घटाउन असर पार्ने मलको व्यापक अभाव थियो । विगतको दुई दशकसम्म यस्तो अभाव कायमै रह्यो । चालू आर्थिक वर्ष मलको अभाव हुन दिइएन भनी प्रधानन्त्रीले यही असार १५मा पनि दोहो¥याए । विगतका वर्षभन्दा यो वर्ष मलको आपूर्ति अलिक बढी भयो होला तर किसानले चाहेजति अझै पाउन सकेका छैनन् । किसानले मल त्यसै मागेका होइनन्, परेको मूल्य तिर्न तयार भएर मल खोजिँदा पनि नपाइएको अवस्थाले उत्पादकत्व बढाउँदैन । सरकारसँगसँगै कृषिमन्त्री फेरिइरहने रोगै हो । तर पछिल्लो एउटा कालखण्डमा देशमा दुईतिहाइको सरकार थियो । तर मलको अभाव भने त्योबेला झनै उच्च भयो । प्रधानमन्त्रीले अर्को देशको प्रधानमन्त्रीसँग प्रत्यक्षरूपले मल माग्दा पनि आएन । यो भनेको समयमा काम नगरिँदाको परिणाम थियो, जो प्रत्येक वर्ष दोहोरिँदै आइरहेको छ । यो भनेको सरकार खासगरी कृषि क्षेत्रमा आत्मनिर्भरताका लागि भाषणभन्दा बढी केही गर्न तयार नभएको भनी बुझ्नुपर्ने अवस्था हो । अवस्था कतिसम्म भने मल र बीउको पर्याप्त व्यवस्था गरिए उत्पादन आफँै बढ्छ भन्ने सुझावसमेतलाई सरकारले सुन्ने गरेको छैन ।

यो वर्षको धान दिवस जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ मनाइयो । कार्यक्रम पनि त्यसरी नै तयार भएका थिए । २०६१ देखि मनाउन थालिएको यो दिवसमा प्रत्येक वर्ष नयाँ नाराको उत्पादन गरिन्छ तर धानको उत्पादकत्व भने बढ्दैन । त्यसको कारण भने कहिल्यै खोजिएको देखिँदैन । त्यसो नहुँदो हो त प्रतिवर्ष धान चामलको आयातमा वृद्धि हुँदै जाने अवस्था आउने थिएन होला । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकोे तथ्याङ्कमा धानको उत्पादन ५६ लाख टनको हाराहारीमा छ । त्यस्तै, उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७० टनभन्दा माथि बढ्न सकेको पाइँदैन । यो भनेको परम्परागत उत्पादनको अवस्था मात्रै हो । त्यही भएर चामल आयातको मात्रा बढिरहेको अवस्था छ । भन्सार विभागको तथ्याङ्कले गएको वर्षमात्रै ४५ अर्ब ५७ करोड रुपैयाँको चामल आयात भएको थियो । चालू आर्थिक वर्ष आयातमा केही कमी आएको छ तर यसलाई विज्ञहरू उत्पादन बढेर होइन क्रयशक्ति घटेको कारण बताउँछन् । यो झन् दुःखद् पक्ष हो । सरकार गम्भीर हुनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया