Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकम्पनी रजिष्ट्रारको कार्यालयको बदमासी एउटै नाममा धेरै कम्पनी दर्ता

कम्पनी रजिष्ट्रारको कार्यालयको बदमासी एउटै नाममा धेरै कम्पनी दर्ता


कम्पनी रजिस्ट्रारको कार्यालयले एउटै नाममा एकभन्दा बढी कम्पनी दर्ता गरेको पाइएको छ । कम्पनी ऐन २०६३ को दफा ६ (क) बमोजिम कुनै एक दर्ता भएको कम्पनीको नाम मिल्ने गरी अर्को नाम दर्ता गर्न पाइँदैन । तर, कार्यालयले यसको ख्यालै नगरी एउटै नाममा धेरै कम्पनी दर्ता गरिदिएको फेला परेको हो । त्यो पनि एउटा मात्र होइन धेरै कम्पनीका नाम एक–आपसमा मिल्ने गरेका छन् ।

कार्यालयले २०७७ मंसिर ३ गते (२०२० फेब्रुअरी १८)का दिन गोरखा नगरपालिका वडा नं. ६ गोर्खा ठेगाना भएको गण्डकी सिड्स प्रालि फेरि २०७८ भदौ १८ गते (२०२१ सेप्टेम्बर ३)मा व्यास नगरपालिका वडा नं. १ तनहुँमा दर्ता गरिदिएको छ । यी दुवै कम्पनीको दर्ता नम्बर फरक छन् । गोर्खाको गण्डकी सिड्स प्रालिको दर्ता नम्बर २४७५७८ छ भने तनहुँको गण्डकी सिड्स प्रालिको दर्ता नम्बर २७०४६७ छ । यही कम्पनीसँग नाम मिल्ने अर्को कम्पनी २०७० जेठ ८ गते नै दर्ता भएको थियो ।
यही नाममा अन्य दुई कम्पनी दर्ताका लागि प्रक्रियामा देखिएको छ ।

अर्को कम्पनी ओएसिस ट्रेडिङ प्रालि पनि दुई ठाउँमा फरक–फरक कम्पनीको रुपमा दर्ता छ । २०६५ असोज २६ (२००८ अक्टोबर २०) गते काठमाडौं महानगरपालिका वडा नं. ३ मा दर्ता भएको यो कम्पनी त्यसको छ वर्षपछि २०७२ कात्तिक २२ (२०१५ फेब्रुअरी ८) गते काठमाडौं महानगरपालिका वडा नं. ६ मा दर्ता भएको देखिन्छ । यी दुवै कम्पनीको दर्ता नम्बर पनि फरक–फरक छ । काठमाडौं महानगरपालिका वडा नं. ३ मा दर्ता भएको ओयसिस ट्रेडिङ्गको दर्ता नम्बर ५६८८३ छ भने वडा नं. ६ मा दर्ता भएको ओएसिस ट्रेडिङ्गको दर्ता नम्बर १४१५९८ छ । यी दुई कम्पनी त प्रतिनिधि उदाहरण मात्रै हुन् । कम्पनी रजिस्ट्रारमा यस्ता धेरै कम्पनी छन् जुन एउटै नाममा दुईभन्दा बढी व्यक्तिले छुट्टाछुट्टै ठाउँमा कम्पनी दर्ता गरेर सञ्चालन गरिरहेका छन् ।

कम्पनी ऐन २०६३ को दफा ६ (क) अनुसार प्रस्तवित कम्पनीको नाम अगाडि नै दर्ता भई कायम रहेको कम्पनीको नामसँग मिल्ने भएमा वा भ्रम सिर्जना हुन सक्नेगरी त्यस्तो कम्पनीको नामसँग मिल्दोजुल्दो हुनेभएमा कम्पनी दर्ता गर्न मिल्दैन । तर, कार्यालयका कर्मचारीले मिलेमतोमा कम्पनी दर्ता गरिदिएको देखिन्छ । किनभने अनलाइन प्रणाली लागू भइसकेपछि पनि एउटै नामको दुईभन्दा बढी कम्पनी दर्ता भएको छ । जब कि कम्पनीको नाम जुध्यो भने कम्पनी रजिस्ट्रारको कार्यालयको प्रणाली आफैँले अस्वीकृत गर्न सक्छ । तर, कर्मचारीले त्यसको लुपहोल खोज्दै बिचौलियामार्फत फाइदा उठाउने लालचमा एउटै नामका धेरै कम्पनी दर्ता गरिदिने गरेको आरोप स्रोतको छ । एउटै नाममा प्रणाली आफैँले दर्ता गर्न नदिने भएपछि हिज्जे बिगारेर कम्पनी दर्ता गरेको पाइएकोे छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी ऐेन २०६३ को दफा छ (क)लाई उल्लंघन गरी कसरी कम्पनी दर्ता गरिदिन सम्भव भयो ? कर्पोरेट क्षेत्र हेर्ने वकिलका अनुसार यसरी कम्पनी दर्ता गर्न सम्भव छैन । कर्मचारीको मिलेमतो नभईकन प्रणाली आफँैले नाम स्वीकृत गर्नै नसक्ने ती वकिलले बताए । यसरी कम्पनी दर्ता हुनुले कम्पनी रजिस्ट्रारका कर्मचारीले पैसा खाएर सेवाग्राहीले भनेकै नाममा कम्पनी दर्ता गरिदिएको आशंका गर्ने सुविधा छ । एउटै नाममा एकभन्दा धेरै कम्पनी दर्ता गरिदिँदा व्यवसायीलाई कम्पनीको ब्रान्ड बनाउन समस्या पर्छ । कम्पनीको नाम सञ्चालकको सम्पत्ति पनि हो । एउटै नामबाट धेरैले व्यापार गर्दा त्यसको कारोबारको जिम्मेवारी कसले लिने भन्ने समस्या आउँछ । एउटै प्रकृतिको व्यापार गर्न एउटै नामबाट खोलिएका कम्पनीमध्ये कुनै एकले बदमासी गर्दा अन्य कम्पनीको गुडविलमा असर पर्छ । यसमा जिम्मेवार बनाउन एउटै नामको कम्पनी दर्ता गर्न नदिने व्यवस्था गरिएको हो । तर, कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीले आर्थिक लाभका लागि ऐनको उल्लंघन गर्दै एउटै नाममा धेरै कम्पनी दर्ता गरिदिएको आरोप सेवाग्राहीको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार एवं सूचना अधिकारी शेखरबाबु कार्कीले एउटै नाममा एकभन्दा बढी कम्पनी दर्ता गर्न प्रणालीले नै नदिने बताए । यदि दर्ता भएको भए अनलाइन प्रणाली सुरु नहुँदै दर्ता भएको हुनसक्ने बताए । तर, हामीलाई प्राप्त विवरणमा कार्यालयले अनलाइन प्रणाली लागू गरेपछि नै यसरी कम्पनी दर्ता भएको पाइएको हो । उपरजिस्ट्रार कार्कीले यदि कुनै गल्तीले एउटै नाममा एकभन्दा बढी कम्पनी दर्ता भएको थाहा भए पछिल्लो कम्पनीलाई नाम परिवर्तन गर्न लगाउने गरिएको बताए । उनले एउटै नाममा एकभन्दा बढी कम्पनी दर्ता गरेर कर्मचारीले कुनै आर्थिक लाभ लिन नसक्ने जिकिर पनि गरेका छन् । उनले प्राविधिक त्रुटिकै कारण नाम दोहोरिएको हुनसक्ने दाबी गरे ।

त्यसो त कम्पनी राजिष्ट्रारको कार्यालयमा बिचौलियाको जगजगी नै छ । काम छिटो गराउने नाममा हेर्नुपर्ने कागजात नहेर्ने र पैसाको लेनदेनमा कम्पनी दर्ता गर्ने प्रवृत्ति छ । कुनै पनि काम छिटो नहुने, लामो लाइनमा राख्नुपर्ने, बिचौलिया नलगाई आफैँ काम गर्न खोज्दा झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता व्यवसायीलाई छ । यही कारण सजिलोका लागि बिचौलिया धाउनुपर्ने बाध्यता छ । यसको फाइदा त्यहाँ कार्यरत कर्मचारीले लिनेगरेका छन् । कम्पनी दर्ता मात्रै होइन, कम्पनी अद्यावधिकको प्रमाणपत्र लिन पनि धेरै दिन लाग्ने एक व्यवसायीले बताए ।


क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया