Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालको कृषिमा औषधिजन्य वनस्पति खेती

नेपालको कृषिमा औषधिजन्य वनस्पति खेती


काठमाडौं । नेपाल पृथ्वीको उत्तरी गोलार्ध २७ं २२ देखि ३०ं २७ आक्षांश र ८०ं४ देखि ८८ं१२ देशन्तरमा अवस्थित चीन र भारतको बीचमा रहेको एउटा देश हो । यसको कुल क्षेत्रफल १४७२५१ वर्ग किमि रहेको छ भने चौडाइ अधिकतम १७५ किमि रहेको छ ।

भौगोलिकरूपमा नेपाल उत्तरमा बाहै्र महिना हिउँले ढाकिने हिमालयदेखि दक्षिणमा उखरमाउलो गर्मी हुने तराई रहेको छ । अर्थात् नेपालको जमिन उत्तरदेखि दक्षिणतर्फ ढलित छ । हिमालय र तराईको बीचमा हजारौं नदीहरूले सिँचित उपत्यकाहरू, पानीविनाका टाकुराहरू र ठूलाठूला वनस्पतिले भरिएका पहाडहरू छन् ।

देशको कुल जनसंख्या करिबकरिब तीन करोड रहेको छ । त्यस्तै, १२३ भन्दा बढी जाति जनजातिहरू आफ्नै भाषा र संस्कृति मान्दै यस देशमा रहिआएका छन् । नेपालका जाति जनजातिहरूले आफ्नै भाषा र संस्कृति मान्दै आएका छन् । नेपाल समुद्री सतहभन्दा ५९ मिटरको उचाइदेखि संसारकै सर्वोच्च हिमाल सगरमाथा ८८४८ मिटर उचाईसम्म रहेको छ । यसैले यो देशमा ६ वटा नै ऋतुहरू विद्यमान छ ।

राजनीतिकरूपमा यो देशलाई ७ प्रदेश र ७५३ स्थानीय तहको रूपमा विभाजन गरिएको छ । सारांशमा भन्नुपर्दा नेपाल भौगोलिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएको एउटा विश्वमै सुन्दर देश हो ।

भौगोलिक विविधताका कारणले नेपाललाई समग्ररूपमा तीन भागमा बाँडिएको छ । ५९ मिटरदेखि ७०० मिटरसम्म उचाइ भएको भागलाई तराई भूभाग भनी नामाकरण गरिएको छ । त्यस्तै, ७०० मिटरदेखि ३००० मिटरसम्मको भूभागलाई पहाडी भूभाग नामाकरण गरिएको छ भने ३००० मिटरदेखि ८८४८ मिटरसम्मको भागलाई हिमाली भूभाग भनी नामकरण गरिएको छ ।

यही भौगोलिक विविधताले गर्दा नेपाल जैविक विविधतामा संसारकै सबैभन्दा उत्कृष्ट राष्ट्रमा पर्दछ । यहाँ सबै महादेशहरूमा पाइने लगभग सबै प्रकारका जनावरहरू र वनस्पतिहरू प्रशस्तरूपमा पाइन्छ । संक्षेपमा भन्नुपर्दा नेपाल जैविक विविधताले भरिपूर्ण एउटा जिउँदो म्युजियम नै होभन्दा कुनै अत्युक्ति हुँदैन ।

नेपालको सुन्दरता र जैविक विविधाहरूको जतिसुकै व्याख्या र विश्लेषण गरे पनि यथार्थ ज्यादै मर्मस्पर्शी र करुणामयी छ । नेपालको प्रतिव्यक्ति आय केवल अमेरिकी डलर १३०० को हाराहारीमा रहेकाले यस देशलाई निम्न मध्यम आय भएको एउटा गरिब र विकासोन्मुख देश भनी अन्तर्राष्ट्रिय रूपमा वर्गीकरण गरिएको छ । जसले हामी सारा नेपालीहरूको शिर लाजले झुकेको छ । देशको लगभग २२ प्रतिशत जनताहरू आधारभूत गरिबीको रेखामुनि रहेका छन् । मानव विकास सूचकांकको आधारमा पनि यो देश विश्वको न्यूनतम सूचकांकमा परेको देश हो भनी वर्गीकरण गरिएको छ । दक्षिण एसियाली राष्ट्रहरूमध्ये पनि नेपाल मानव विकास सूचकांकको आधारमा केवल अफगानिस्तानभन्दा मात्रै माथि छ । गरिबी, अशिक्षा, बेरोजगारी, धनी र गरिबबीचको आर्थिक खाडलजस्ता विकृतिहरूले यो देशलाई आक्रान्त पारेको छ ।

देशलाई कृषिप्रधान देश भने पनि विलासिताका वस्तुहरू मात्र होइन दूध, तरकारी, मासु, गेडागुडी, मकै, कोदो, चामल, गहुँ, तेलहनजस्ता खाद्य वस्तुहरू पनि तीन खर्ब रुपैयाँभन्दा बढीको परिमाणमा वर्षाैंवर्षदेखि आयात भइरहेको छ । डाक्टरी औषधि मात्र होइन जडीबुटीमा आधारित आयुर्वेदिक औषधिसमेत बाहिरबाट आयात भइरहेको छ । यही विविध कारणहरूले गर्दा नेपाली युवाहरू ५०ं डिग्री हाराहारी तापक्रम भएको खाडी मुलुकमा गई आफ्नो पसिना केवल घर धान्नको लागि बगाइरहेका छन् भने पढेलेखेका युवाहरू अवसर र रोजगारीको खोजीमा अमेरिका, युरोप, अस्ट्रेलियाजस्ता देशहरूमा पलायन भइरहेका छन् । समग्रमा भन्नुपर्दा नेपाल गरिबी, अशिक्षा, कुपोषण र बेरोजगारीले ग्रसित एउटा बिमार देशको रूपमा रहेको छ । यही नै हो नेपालको वर्तमान धरातलीय यथार्थ ।

नेपालको वर्तमान अर्थिक अवस्था ज्यादै दयानीय र हृदयविदारक भए पनि यो देश भौगोलिक विविधताको कारणले उत्पन्न जैविक विविधताले भरिपूर्ण छ । प्रमुखरूपमा छुट्याउनु पर्दा नेपालका प्राकृतिक स्रोतलाई यसरी वर्गीकरण गर्न सकिन्छ ।

पर्यटन : विश्वका ८००० मिटरभन्दा १० हिमाली टाकुरामध्ये आठ वटा नेपालमै छन् । ठूलाठूला करेन्टसहितका नदीहरूले यस देशलाई सिँचित गरेको छ । बहुल जातजाति, भाषाभाषी तथा सांस्कृतिक विविधताले नेपाल भरिपूर्ण छ । विश्वका दुई ठूला धर्महरू हिन्दु र बौद्ध उद्गम थलो भएकाले नेपाल धार्मिक, साहसिक र सांस्कृतिक पर्यटनको हिसाबले महत्वपूर्ण छ । यही कारणले पर्यटनलाई ठूलो प्राकृतिक स्रोतको रूपमा लिइएको छ ।

जलस्रोत : नेपालका सबै ठूला नदीहरू हिमनदीबाट उत्पन्न हुने नदीहरू हुन्, जुन बाह्रै महिना प्रवाहित हुन्छन् । जलस्रोतका हिसाबले नेपाल ब्राजिलपछि संसारकै दोस्रो ठूलो देश हो । सिँचाइ, जलविद्युत् उत्पादन, पानीजन्य खेलकुद, जलयात्रा, खानेपानी निकासीजस्ता कार्यहरू यस जलस्रोतलाई उपयोग गरी गर्न सकिन्छ । यिनै कारणले गर्दा नेपालको प्रमुख प्राकृतिक जलस्रोतलाई पनि लिइएको हो ।

जैविक विविधता : समुद्री सतहभन्दा केवल ५९ मिटर उचाइदेखि ८८४८ मिटरको उचाइसम्मको भूभागमा प्रायः संसारमा पाइने सबै प्रकारका प्राणी तथा वनस्पतिहरू पाइन्छन् । यसको अर्थ के हो भने : सबैखाले कृषिका लागि नेपाल उपयुक्त छ भन्ने नै हो । यही कारणले गर्दा विविधतालाई पनि नेपालको ठूलो प्राकृतिको स्रोतको रूपमा लिइएको हो ।

खानी : नेपालमा खानिजन्य पदार्थहरू प्रशस्त छन् । पेट्रोलियम पदार्थ, कोइला, चुनढुङ्गा, सुन चाँदी, तामा, पित्तल, फलाम, निकल, कोबाल्ट, अग्राख, रुबी, एक्वामरिन, पन्ना, गे्रनाइट, युरेनियमहरू जस्ता बहुमूल्य धातुहरूका साथै कटिङ एग टेक्नोलोजीका लागि चाहिने रेयर अर्थ मेटेरियलहरूको खानी पनि प्रशस्त मात्रामा छ । त्यसैले खानीलाई नेपालको ठूलो प्राकृतिक स्रोतमध्ये एकको रूपमा लिइएको हो ।

जलस्रोतको विकास र खानीको उत्खनन् गरी त्यसलाई विकास गर्न ठूलो पुँजीको आवश्यकता पर्दछ । त्यसैले ठूलो पुँजीविना यी प्राकृतिक स्रोतहरूको विकास गर्न सकिँदैन । पर्यटनको विकास गर्न ठूलो पुँजी नचाहिए पनि विनाकृषि विकास पर्यटनको दिगो विकास हुँदैन । त्यसैले कृषिको विकास नै नेपालको विकासको लागि आधारभूत स्तम्भ हो । कृषिको विकासविना विकास सम्भव नै छैन । दैनिक खपत हुने कृषि उपज, आयुर्वेदिक औषधि तथा कस्मेटिक कच्चापदार्थका साथै कच्चा तेलहरू उत्पादन गर्न सकिने नेपालमा ठूलो सम्भावना छ ।

भौगोलिक विविधताले जन्माएको जैविक विविधताको कारणले गर्दा नेपालमा फलफूल खाद्यान्न, तेलहन, तरकारी, दूध तथा मासुहरू ठूलो मात्रामा उत्पादन गर्न सम्भव छ । त्यस्तै, सबैखालका जडीबुटी तथा अन्य वनस्पतिहरूको उत्पादन र प्रशोधन गरी आयुर्वेदिक औषधि, कस्मेटिक सामान तथा कच्चा तेलहरूको उत्पादनको पनि नेपालमा ठूलो सम्भावना छ । तर नेपाल करिब वार्षिक तीन खर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न, तरकारी, मासू, दूध र दलहनहरूको आयात गर्दछ । जडीबुटीले भरिपूर्ण देश भए पनि १० अर्व रुपैयाँभन्दा बढीको आयुर्वेदिक औषधि नेपालले आयात गर्छ । यसरी कृषिजन्य र वनस्पतिजन्य वस्तुहरू नेपालले आयात गर्नु ठूलो विडम्बना हो । यतिमात्र होइन भारतबाट पूरै विषादी र अत्यधिक रासायनिक मल हालेको तरकारी, फलफूलको आयातले नेपालमा ठूलो जनस्वास्थ्य समस्याको अवस्था सिर्जना भएको छ । नेपालकै जडिबुटी र कच्चा तेल लगी डाबर, हिमालयन, युनिलिभर, पतञ्जलीजस्ता कम्पनीहरूले ठूलो परिमाणमा आयुर्वेदिक औषधि र सौन्दर्य प्रशोधन उत्पादन गरी विश्व बजारबाट नाफा कमाइरहेका छन् । तर नेपाल विविध कारणहरूले गर्दा यो अवसरबाट बञ्चित छ । आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गरी देशलाई बेरोजगारीमुक्त बनाउँदै जनस्वास्थ्यलाई टेवा लिँदै आफ्नो देश धनी बनाउन कृषि तथा जडीबुटी क्षेत्रको विकासविना सम्भव छैन, यो धुव्रसत्य कुरा हो । तर एउटा कुरा के हो भने भारत, इन्डोनेसिया, पाकिस्तान, चीन, फिलिपिन्सजस्ता देशहरूको उष्णीय खाद्यान्न, तरकारी र फलफूल, दूध, मासुहरूको उत्पादन लागत ज्यादै कम छ । किनकि उनीहरूको फर्मको साइज, यान्त्रीकरण, बजार व्यवस्थापनले लागत ज्यादै घटेको छ । जससँग नेपालको उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेपालले माथिल्लो भेगमा उच्च मूल्यका कृषि तथा जडीबुटीमा आधारित वस्तुहरूको उत्पादनमा आफ्नो सम्पूर्ण ध्यान लगाउनुपर्छ ।

दक्षिण अमेरिकी महादेशको एन्डिज पर्वतमाला, युरोपको अल्पस पर्वतमाला, काराकोरम रेञ्ज, हिमालयको उत्तरी भागमा केही वनस्पति पनि उम्रिदैन । ती नाङ्गा छन् तर नेपालको हिमालयको दक्षिणमा भने करिबकरिब ४५०० मिटरसम्मको उचाइमा कृषि कार्य गर्न तथा वनस्पति उत्पादन गर्न सकिन्छ । समुद्री सतहभन्दा १५०० मिटरमाथि रहेको जमिनमा उत्पादित खाद्यान्न तरकारी, फलफूल जडिबुटी तथा कच्चा तेलको संसारमा कुनै प्रतिस्पर्धा नै छैन । अतः यी उत्पादनहरू सञ्जीवनी हुन् । हामीले १५०० मिटरभन्दा माथि उत्पादित अर्गानिक तरकारी, खाद्यान्न, फलफूल, पाँचऔंले, सुगन्धवाला, यार्चागुम्बा, विष, जंगली लसुन, गुची, च्याउ, क्यामोमाइल, लेमनगांस, लोठसल्लालगायतका उच्च मूल्यका वस्तुहरू उत्पादन गरी त्यसलाई फिनिस प्रोडक्टको रूपमा प्राइस ट्र्याकरको रूपमा नभई प्राइस मेकरको रूपमा विश्वबजारमा गयौँ भने छिटो समयमा नै नेपाल समृद्ध र विकसित राष्ट्र बन्न सक्छ । यसमा कुनै शंका छैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया