Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोरोनाका कारण नेपालसहित दक्षिण एसियाको जीडीपीमा उल्लेख्य अनुपातले कमी आउने

कोरोनाका कारण नेपालसहित दक्षिण एसियाको जीडीपीमा उल्लेख्य अनुपातले कमी आउने


काठमाडौं,बैशाख ११

विश्व बैंकका नेपालका लागि देशीय प्रबन्धक फेरिस हदाद जार्भोसले कोरोना भाइरसको महमारीका कारण नेपालसहित दक्षिण एसियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उल्लेख्य अनुपातले कमी आउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले कोरोना भाइरस महामारीले दक्षिण एसियाली अर्थतन्त्र र नेपालमा पार्ने प्रभावका विषयमा गरेको भिडियो कन्फ्रेन्समा बोल्दै उनले महामारीभन्दा पहिला दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने अपेक्षा गरिएको बताए । तर कोभिड–१९ का कारणले क्षेत्रको वृद्धिदर सन् २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहने र उक्त वृद्धिदर विगत ४० वर्षकै सर्वाधिक खराब भएको बताए ।

आर्थिक वर्ष २०२१ मा पनि दक्षिण एसियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशतको मध्यम स्तरमा रहने अपेक्षा गरिएको उनले जानकारी दिए । विश्व बैंकका देशीय प्रबन्धक फेरिसले विश्वव्यापी अर्थतन्त्रमा आउँदा केही वर्षसम्म कोरोना भाइरस महामारीको प्रभाव दुर्भाग्यपूर्ण हुने बताए । नेपाल दुई ठूला छिमेकीहरूको बीचमा अवस्थित भएको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने कारणले नेपाल र यहाँको वृद्धिदरमा समेत त्यसको नकारात्मक प्रभाव पार्ने उनको भनाई थियो । ‘आर्थिक मन्दीका बारेमा चाखलाग्दो कुरा के छ भने हामी यो कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका छौं, यो अन्यभन्दा फरक छ । यो मन्दीमात्रै होइन, फरक प्रकारकै मन्दी हो’, उनले भने, ‘सामान्यतयाः मन्दीले लगानी र वस्तुको मागमा असर पार्छ । मन्दीहरू मागद्वारा हाँकिएका हुन्छन्, तर विद्यमान मन्दी भने कोरोना भाइरसका कारणले गर्दा आपूर्तिद्वारा हाँकिएको छ ।’

अहिलेको अवस्थामा हामी माग कम हुनुका सट्टा आपूर्ति कम भएको अवस्था सामना गरिरहेका छौं ।’ यो मन्दीलाई अलग ढंगले बुझ्नाले अर्थतन्त्र र वृद्धिलाई फरक ढंगले पुर्नर्जीवित गर्नका लागि अर्थव्यवस्थामा नयाँ र विशिष्ट साधनहरू प्रयोग गर्न सहयोग पुग्ने उनको भनाइ छ । यो संक्रासलाई अलग रूपमा बुझ्नाले देशहरूलाई आपूर्तिमा आएको कमीलाई रोकथाम गर्नका लागि आवश्यक प्रोत्साहन प्याकेज ल्याउन पनि मद्दत पुग्ने उनले बताए ।

विश्व बैंकका प्रक्षेपणअनुसार चालू आर्थिक वर्षमा नेपालको जीडीपीको वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा रहने छ । यो नेपालका लागि विश्वका अन्य भागहरूजस्तै ठूलो प्रहार हो । विप्रेषणमा हुने प्रहारले सीधै नेपालको विदेशी विनियमयमा प्रभाव पानेछ । नेपालको रोजगारी तथा आप्रवासन, व्यापार तथा पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन् । आपूर्ति प्रणाली पारेको झट्का कारण नेपालमा मुद्रास्फीति दर ६ प्रतिशतभन्दा माथि रहने विश्व बैकले अपेक्षा गरेको जनाएको छ । त्यस्तै वित्तीय घाटा र चालू घाटा दुवै विस्तारित हुने अपेक्षा गरिएको छ ।

विश्व बैंकका देशीय प्रबन्धक फेरिसलले विश्व बैंक नेपालमा महामारीको सामना गर्न र अर्थ व्यवस्थालाई पुनर्बहाली गर्नका लागि सरकारसँग मिलेर काम गरिरहको जानकारी दिए । विश्व बैंकले नेपालमा पहिलो प्राथमिकतामा स्वास्थ्य र दोस्रोमा सामाजिक सहयोग र रोजगारीमा क्षेत्रलाई राखेर काम गर्ने उनको भनाइ छ । ‘ठूलो संख्यामा विदेशिएका नेपालीहरू स्वदेश फर्किँदै छन्, जसका लागि ठूलो आकारमा रोजगारीको आवश्यकता छ’, फेरिसले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमहरू र अन्य यस्तै खालका कार्यक्रमहरूमा ध्यान केन्द्रित गरिनुपर्छ ।’

साथै विश्व बैंकले तेस्रो प्राथमिकतामा वस्तुको उत्पादन सुचारु रहने सुनिश्चित तुल्याउँदै साना तथा मझौला उद्योगहरूलाई केन्द्रित र बढावा दिँदै वास्तविक क्षेत्रमा ध्यान केन्द्रीत गर्ने, आपूर्ति शृङ्खला सही ढंगले कायम राख्ने र चौथो प्राथमिकतामा समष्टिगत आर्थिक स्थायित्व कायम हुने गरी काम गर्ने विश्व बैंकले जनाएको छ ।खर्च अवस्था बढ्नेवाला भएकोले खर्चको प्राथमिकीकरण निर्धारण हुनुपर्ने विश्व बैकको भनाइ छ । विश्व बैंकले विद्यमान आफ्नो कुल लगानी (पोर्टफोलियो) परियोजनाहरूबाट पोर्टफोलियाको १८ प्रतिशत कोभिड–१९ को प्रतिक्रियात्मक क्षेत्रमा केन्द्रित गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x