Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआर्थिक स्थायित्वका लागि चेम्बर र परिसंघले सहकार्य गर्ने

आर्थिक स्थायित्वका लागि चेम्बर र परिसंघले सहकार्य गर्ने


काठमाडौं । आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक स्थायित्व र विकासका लागि निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाबीच सहकार्य हुन लागेको हो ।

उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र चेम्बर पदाधिकारीबीच भएको भेटमा दुवै संस्थाका नेतृत्वले सहकार्य गरेर अघि बढ्ने समझदारी गरेका छन् । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक स्थायित्वका लागि निजी क्षेत्रका संस्थाहरूबीच सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निजी क्षेत्रको मागलाई सम्बोधन गर्न पनि हामीले सहकार्य गर्न जरुरी छ ।’ उच्च ब्याजदरका कारण लगानीको वातावरण बन्न नसकेको भन्दै उनले पछिल्लो समय समग्र निजी क्षेत्रको मनोबल खस्किएको बताए ।

मौद्रिक नीतिमार्फत वित्तीय स्थायित्व कायम गर्न एवं ब्याजदर नियन्त्रणका लागि सरोकारवाला सरकारी निकायलाई एकै स्वरमा झक्झक्याउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ । चेम्बर, परिसंघ र उद्योग वाणिज्य महासंघले आगामी वर्षको मौद्रिक नीतिका लागि बिहीबार संयुक्त सुझावसमेत पेस गर्दैछन् । ब्याजदर नियन्त्रण गरेर वित्तीय क्षेत्रको सुधारका लागि आगामी वर्ष निरन्तर सहकार्य गर्ने विषयमा पनि चेम्बर र परिसंघबीच समझदारी बनेको छ ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । आर्थिक विकास र समृद्धि निजी क्षेत्रको चाहना भएको भन्दै अग्रवालले आफ्नो मागलाई सम्बोधन गर्नका लागि सरकारसँग नियमित छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उधारो कारोबारलाई निरुत्साहित गर्ने अभियान चलाउने सम्बन्धमा पनि चेम्बर र परिसंघबीच सहकार्य गर्ने समझदारी बनेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया