Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनमा ७८ हजार मेट्रिकटन खाद्यान्न आयात

लकडाउनमा ७८ हजार मेट्रिकटन खाद्यान्न आयात


काठमाडौं,बैशाख १२

लकडाउन सुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५ सय ७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो । सो समयमा २४ हजार २ सय १८ मे.टन दलहन, ४० हजार ९९ मे.टन तरकारी, दश हजार ८१८ मे.टन फलफूल र दश हजार ९ सय ९६ मेटन दुग्धजन्य पदार्थ आयात गरिएको छ । त्यस्तै ९७ करोड ६९ लाख ७६ हजार रुपैयाँ बराबरको तयारी औषधि र २१ करोड ९१ लाख १६ हजार बराबरको कच्चा पदार्थ आयात भएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार लकडाउनको पहिलो हप्ताको तुलनामा दोस्रो र तेस्रो हप्ता आयात वृद्धि भएको छ । तेस्रो हप्तामा खाद्यान्न, दुग्धजन्य पदार्थ र तयारी औषधिको आयात बढेको छ । दलहन, तरकारी, फलफूल र औषधिको कच्चा पदार्थ आयात घटेको छ ।सबैभन्दा धेरै दुग्धजन्य पदार्थ ११७ दशमलव ४ प्रतिशतले आयात बढेको छ । त्यसपछि तयारी औषधि ६८ दशमलव ८ प्रतिशत र खाद्यान्न ३७ दशमलव ७ प्रतिशतले बढेको छ । फलफूल ३४ दशमलव ३ प्रतिशत, दलहन २४ दशमलव ४ प्रतिशत, तरकारी ४ दशमलव ५ प्रतिशत र औषधिको कच्चा पदार्थ २ प्रतिशतले घटेको छ ।

भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेकाले गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयात तथा निर्यात ठप्प भएको छ । लकडाउनका अवधिमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २ सय ३० ट्रक भित्रिएको र १ सय ७९ ट्रक बाहिरिएको तथा ६ सय ८३ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट नब्बे ट्रक भित्रिएको, सात ट्रक बाहिरिएको र तीन हजार १ सय ५५ ट्रक रोकिएका छन् ।भैरहवा नाकाबाट १ सय २४ ट्रक भित्रिएको, १ सय ५४ ट्रक बाहिरिएको र हाल २ सय ३४ ट्रक रोकिएका छन् । विराटनगर एकीकृत जाचँचौकीमा १ सय २ ट्रक भित्रिएको, १ सय ३ ट्रक बाहिरिएको र १ सय १ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा आठ ट्रक र काकरभिट्टा नाकामा २८ ट्रक रोकिएका छन् । तातोपानी नाकाबाट यही वैशाख ४ गतेयता पाँच कन्टेनर र एक ट्रक औषधिजन्य पदार्थ नेपाल भित्रिएका छन् । वैशाख ४ गते एक ट्रक, वैशाख ६ गते एक कन्टेनर र वैशाख ७ गते चार कन्टेनर नेपाल भित्रिएका छन् । चीनमा कोराना भाइरसको संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका नेपाल सरकारले चैत १२ गते अत्यावश्यक सामान ल्याउनका लागि खोल्ने निर्णय गरेको थियो ।

चार पसललाई कारबाही
बन्दाबन्दीका समयमा बढी मूल्यमा खाद्यान्न, मासु तथा फलफूल बिक्रीवितरण गर्ने चार पसललाई कारबाहीस्वरुप जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बजार अनुगमनका क्रममा लपु, महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख जरिवाना गरिएको जनाएको छ ।

आयोडिन नुन बढी मूल्यमा बिक्री गरेको पाइएकाले सो पसललाई जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार काठमाडौँ, ज्ञानेश्वरस्थित राजेन्द्र मिट सपमा मूल्यसूची नभएकाले ५० हजार जरिवाना गरिएको छ । त्यस्तै इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसललाई मूल्यसूची नभएवापत ५०÷५० हजार जरिवाना गरिएको छ ।इमाडोलको बाबुलाल फलफूल तथा तरकारी पसलबाट पाँच हजार आठ सय मूल्य बराबरको खान अयोग्य तथा म्याद सकिएका सामान तत्काल नष्ट गर्न वा सम्बन्धित निकायमा फिर्ता गर्न लगाइएको उनले जानकारी दिए । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x