Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमेटाले थ्रेड्स निर्माण गर्न व्यापार गोपनीयता चोरेको ट्विटरको दाबी

मेटाले थ्रेड्स निर्माण गर्न व्यापार गोपनीयता चोरेको ट्विटरको दाबी


अमेरिका । सामाजिक सञ्जाल कम्पनी ट्विटरले फेसबुकको माउ कम्पनी मेटाले आफ्नो व्यापार गोपनीयता (ट्रेड सेक्रेटहरू) चोरेको दाबी गरेको छ । यसविरुद्ध ट्विटरले कानुनी लडाइँ लड्ने चेतावनी दिएको छ । मेटाले भर्खरै ल्याएको ‘थ्रेड्स’ एपमा आफ्नो केही व्यापार गोपनीयता चोरेको आरोप ट्विटरको छ ।

ट्विटरले बुधबार मेटालाई एक पत्र पठाएर थ्रेड्स विकास गर्न आफ्नो व्यापार गोपनीयता प्रयोग गरेको र यो तत्काल बन्द गर्न चेतावनी दिएकोे छ । ट्विटरले थप दाबी गरेको छ कि मेटाले धेरै ट्विटरका पूर्वकर्मचारीहरू नियुक्त गरेको थियो । जसले अनुचितरूपमा ट्विटरका केही उपकरणहरू र कागजातहरू राखेका थिए । मेटाले यो जानाजानी ती व्यक्तिहरूलाई थ्रेड्समा काम गर्न दिएको ट्विटरको आरोप छ ।

ट्विटरको पत्रको जवाफ दिँदै मेटाका प्रवक्ता एन्डी स्टोनले बिहीबार थ्रेड्स प्लेटफर्ममा संलग्न इन्जिनियरिङ टोलीका कुनै पनि सदस्य पहिले ट्विटरको लागि काम नगरेको बताएका छन् ।

कानुनविद्हरूले ट्विटरको व्यापार गोपनीयता चोरी गरेकोबारे प्रमाणित गर्न गाह्रो हुने दाबी गरेका छन् । ट्विटरले मेटालाई पठाएको पत्रबारे खबरहरू छापिएपछि ट्विटरका मालिक एलोन मस्कले ‘प्रतिस्पर्धा ठीकै छ, तर जोरी होइन’, भन्दै ट्विट गरेका थिए ।

मस्कले गतवर्ष ४४ अर्ब डलरमा ट्विटर किनेयता कम्पनीले चर्को प्रतिस्पर्धाको सामना गरिरहेको छ । ट्विटरजस्ता धेरै सामाजिक सञ्जाल आइसकेका छन् । तर, ट्विटरले अहिलेसम्म कसैलाई पनि मुद्दा हालेको छैन । मेटाले थ्रेड्स एप सार्वजनिक गरेको २४ घण्टाभित्रै तीन करोडभन्दा धेरै साइनअप गरेको जनाएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया