Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमेलम्ची आयोजना स्थलसम्म पुग्ने सडकको निर्माण सुरु हुन सकेन

मेलम्ची आयोजना स्थलसम्म पुग्ने सडकको निर्माण सुरु हुन सकेन


काठमाडौ । दुई वर्षपहिले वर्षाका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनास्थलसम्मकोे सडकको निर्माण अझै सुरु हुन सकेको छैन । दुई वर्षपहिले आएको बाढीबाट आयोजनासँगै सडक पूरै बगाएको थियो । पहिले सडक खोलाको किनारैकिनार रहेकामा त्यस नजिकै वा अन्यत्रबाट सडक निर्माण गर्नुपर्ने इन्जिनियरको भनाइ थियो ।

आयोजनास्थलका लागि मात्रै नभएर हेलम्बु गाउँपालिकाको प्रमुख आवातजावत गर्ने मार्ग समेत यही सडक रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले स्थानीय पालिकाले नदी किनारबाट खोलेको अस्थायी सडक प्रयोग हुँदै आएको छ । क्षतिपछिको पुनःनिर्माणको योजना बनाउँदा सडकको जिम्मेवारी सडक विभागलाई दिइएको समितिका सूचना अधिकारी (सिनियर डिभिजनल इञ्जिनियर) राजेन्द्रप्रसाद पन्तले बताए । आयोजनाको अरू संरचनाको निर्माण समिति र सडक विभागले गर्ने सहमति भएको थियो । उनले भने, ‘आयोजनाको हेडवर्कलगायतका संरचना पुनःनिर्माणका लागि तयारी भइरहेको छ ।’

सो क्षेत्रकै पुनर्निर्माणको योजनाअनुसार तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना रहेको थियो । अब विभागले निर्माण गर्ने सडक दीर्घकालीन योजनामा पर्ने सूचना अधिकारी पन्तले बताए । मध्यकालीन योजनाअनुसार समितिले नदीको किनारैकिनार बाटो खोलेर काम चलाएको उनको भनाइ छ । अब स्थानीयले समेत प्रयोग गर्न सक्नेगरी सडक विभागले बाटो र पुल बनाउनुपर्ने सूचना अधिकारी पन्तले बताए । मेलम्चीसम्म जाने वैकल्पिक सडक पनि सङ्घीय सरकारले नै ट्र्याक खोलेको थियो । आयोजनास्थलसम्म पुग्ने गरी दीर्घकालीन सडक निर्माण विभागले गर्नुपर्ने उनले बताए ।

दीर्घकालीन सडकका लागि पनि सर्वे डिजाइन नै गर्न बाँकी रहेको उनको भनाइ छ । स्थायी समाधानका लागि वैकल्पिक सडकलाई नै विस्तार वा अर्काे रेखाङ्कन गर्ने भनी छलफलबाट टुङ्गो लगाइने उनले जानकारी दिए । उनले भने, ‘यो विषयमा अहिलेसम्म कुरा भएको छैन ।’ मेलम्ची खानेपानी आयोजनासम्मको सडक क्षेत्रमा विगत वर्षमा पनि थोरै काम गरिए पनि निर्माणका लागि पर्याप्त रकम नभएको सडक विभागले जनाएको छ । सडक बनाउने सैद्धान्तिक कुरा भए पनि बजेट नभएको विभागका प्रवक्ता रामहरि पोखरेलले बताए । उनले भने, ‘त्यसका लागि भनेर पैसा नभएर खासै काम पनि हुन नसकेको हो ।’

आगामी वर्षको बजेटमा सरकारले दुई खण्डका लागि पाँच/पाँच करोड रुपैयाँ छुट्याइएको छ । सरकारले छुट्याएको रकमबाट कुनै उल्लेख्य काम गर्न नसकिने उनको भनाइ छ । बहुवर्षीय ठेक्का स्वीकृति पाउँदा मात्रै सडकको निर्माणका लागि नै काम हुन सक्ने उनले बताए । अहिले केही पुरानो गरेको कामको भुक्तानी दिन बाँकी रहेको छ । उनले भने, ‘यही बजेटमा गर्ने भनेको पहिलेको भुक्तानी र नाली पर्खाल बनाउने काम मात्रै गर्न सकिने हो ।’ यो सडक विगतमा समिति आफैँले निर्माण गरेको सडक थियो । बाढीपछिको पुनर्निर्माण गर्ने विषयमा भएको छलफलमा आयोजनाको पुनर्निर्माण समितिले र अरू निर्माण सम्बन्धित निकायले गर्ने सहमति भएको थियो । सम्बन्धित मन्त्रालय र विभागसँग नै सम्बन्धित क्षेत्रका विज्ञ हुने भन्दै सडकको जिम्मेवारी सडक विभागलाई दिइएको थियो ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया