Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपदयात्रा पर्यटनसँग जोडिँदै कफुचे हिमताल

पदयात्रा पर्यटनसँग जोडिँदै कफुचे हिमताल


पोखरा । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको चापसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ सरकारको प्राथमिकतामा यो पदमार्ग परेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको यो ताललाई नेपालको सबैभन्दा कम उचाइमा रहेको हिमतालका रूपमा लिने गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला समयमा पर्यटकको रोजाइमा पर्न थालेसँगै स्थानीय तहले पनि यसको प्रवद्र्धन र विकासमा ध्यान दिन थालेको छ । वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए कफुचे हिमताल मादी गाउँपालिकाको मात्र नभई देशकै गौरव रहेको बताए । उनले यसको प्रवद्र्धन र विकास गरी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण नेपालकै ठूलो गुरुङ गाउँ सिक्लेसबाट एकदिनको पदयात्रामा यस स्थानमा पुग्न सकिन्छ । यहाँको विकास तीनवटै सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले संघबाट पोखरा सिक्लेस, ताङतिङ हुँदै मनाङ जोड्ने पदमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने तयारी गरेको बताए । गण्डकी प्रदेश सरकारले मादी गाउँपालिका–७ को थाकबाट ताराहिल टपहुँदै कफुचेसम्मको पदमार्गका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको गुरुङले बताए । त्यस्तै, प्रदेशबाटै सिक्लेस कफुचे पदमार्गका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले अघिल्लो वर्षदेखि नै सिक्लेसबाट कफुचेसम्मका लागि ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको थियो । यसको कार्यविधि पनि तयार भइसकेको र आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको यो ताल लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको छ । उक्त क्षेत्रमा पहिलेपहिले भेँडीगोठ रहे पनि अहिले भने त्यो हराइसकेको छ । कफुचे नामाकरण सम्बन्धमा स्थानीयवासीको भिन्नाभिन्नै तर्क छ । स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको पग्लनु र ‘चे’ भनेको समथर ताल हो । हिउँ पग्लेर बनेको हुनाले यस ताललाई ‘कफुचे’ भन्ने गरिएको बताइन्छ ।

स्थानीयवासीका अनुसार करिब डेढ दशकअघिसम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिन्थ्यो । पछिल्ला समयमा बर्सेनि बढ्दै गएको जलवायु परिवर्तनको असरका कारण हिउँ पग्लेर ताल बनेको स्थानीयवासी बताउँछन् । सिक्लेस–कफुचे मार्गमा पर्ने हुँगु यस क्षेत्रको प्राचीन भेँडी गोठ रहने क्षेत्र हो । कफुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो ढिला हिँड्नेका लागि लगभग साढे तीन घण्टामा हुँगु पुग्न सक्छन् । हिँड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने स्थानीयको भनाइ छ । हुँगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि ढिला हिँड्नेका लागि डेढ–दुई घण्टासम्म लाग्ने स्थानीयको भनाइ छ । पछिल्लो समयमा जथाभावी बाटो खन्ने क्रमसँगै पदमार्ग हराउँदै गएको अवस्थामा सिक्लेस—कफुचेलाई नयाँ पदमार्गका रूपमा विकास गर्न सकिने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताए ।

त्यस क्षेत्रमा सन् २००७/८ सिक्लेस हुँदै नामुन पास भएर तिमाङ पदमार्गको टानले प्रवर्द्धन गरेको बताउँदै अध्यक्ष पन्थीले मादी गाउँपालिकाको याङजाकोटबाट दूधपोखरी हुँदै क्होलासोँथर निस्कने पदमार्गको प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिएको बताए । ‘कफुचे ताललाई पदयात्रा पर्यटनसँग जोड्न सकेमा यहाँ ठूलो सङ्ख्यामा स्वदेशी एवम् विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ’, उनले भने, ‘पदमार्ग क्षेत्रको प्रवर्द्धन, विकाससँगै पर्यटक लक्षित पूर्वाधार विकासमा तीनवटै सरकारको साथ र सहयोग आवश्यक छ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया