Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयराष्ट्रपतिबाटै वचन पालना भएन

राष्ट्रपतिबाटै वचन पालना भएन


काठमाडौं । यतिबेला देशका राष्ट्रपतिमाथि वचन पालना नगरेको भन्ने गम्भीर आरोप लागेको छ । नयाँ राष्ट्रपतिले भर्खर कार्यकाल सम्हाल्दाको अवस्थामा उनको बोली अर्थात् वचन पालना नगर्ने भनी लागेको यो आरोपलाई सच्याइएन भने अहिलेका राष्ट्रपतिका लागि विगतमा जस्तै धुनै नसक्ने दागका रूपमा स्थापित हुन सक्छ र बोलेको कुरा पूरा नगर्ने उनको यो काम अरूका लागि पनि अनुकरणीय बन्ने खतरा पर्न सक्छ । देशको एक नम्बरमा रहेका पदाधिकारीले गरेको राम्रो होस् वा नराम्रो, त्यो काम अरू पदाधिकारीका लागि पनि उदाहरणयीय बन्छ । यो सन्दर्भ हो, आफ्ना नागरिकसामु व्यक्त गरिएको वचन पालना नगरिएको । यस्तो कुरा अनुकरणीय भयो भने के होला ? नागरिकको सम्मान होला कि अपमान ? यी तमाम प्रश्नहरू अहिले नै खडा हुन थालेका छन् । आफू विगतका राष्ट्रपतिभन्दा धेरै इमान्दार भएर काम गर्ने भनी बोलिएको कुरा पनि यतिबेला दाउमा परेको देखिन थालेको छ । जुन कुरा राष्ट्रका लागि राम्रो होइन ।

तेस्रो राष्ट्रपति विगतको भन्दा बढी बेसञ्चो भइरहने अवस्थाका देखिए । गएको फागुनमा यो पदभार ग्रहण गरेपछि उनका दिन धेरेजसो अस्पतालमा नै बितेको पाइन्छ । कुनै रोग लाग्नु आफैँमा सम्बन्धित व्यक्तिको दोष होइन । तर त्यो रोग के हो भनेर सार्वजनिक पदाधिकारीले नबताउनु चाहिँ दोष हो । केही समयअघि राष्ट्रपतिको भारतमा लगेर उपचार गराइएको थियो । त्यसबेला आपतकालीनरूपमा गराइएको यो उपचारका लागि किन हतार गरिएको थियो ? भन्ने कुरा यो देशका नागरिकले अहिलेसम्म जान्न पाएका छैनन् । त्यो उपचारमा जाँदा राष्ट्रपतिको हवाला दिँदै उनको सचिवालयले उपचार खर्चबापतको रकम आफैँले व्यहोर्ने इच्छा जाहेर भएको भनेको थियो । यसले देशभर चर्चा पनि पायो तर जब उपचार सकेर आए त्यसपछि त्यो खर्च सरकारलाई नै व्यहोर्न लगाइयो । यता त्यो केको उपचार थियो भन्ने रोग नबताइएको र उता आफैँ व्यहोर्ने भनी राष्ट्रपतिले नै भनेको भनेर आएको सार्वजनिक वक्तव्यको विपरीत हुनेगरी राज्यलाई खर्च व्यहोर्न लगाइएको छ । जुन कुरालाई आमनागरिकले पचाउन सकेको देखिएन । बरु उल्टो राष्ट्रपतिले आफ्नै बोलीविरुद्ध आफैँ प्रकट भएको भनी आरोप लाग्न थाल्यो । सार्वजनिक पदमा बसेको व्यक्तिले गर्ने हरेक कुरा सार्वजनिक नै हुन्छन् । अरू जे भए पनि यो घटनाले राष्ट्रपति बोलीमा अड्न नसक्ने व्यक्ति हुन् भन्ने पुष्टि गरेको छ । सम्मानित पदका लागि यस्तो हुनु निश्चय नै राम्रो होइन ।

आफैँले व्यहोर्छुृ भनेको त्यो उपचार खर्च ५५ लाख रुपैयाँ लागेछ । त्यो सरकारले नै बेहोर्ने गरी केही समयअघि मात्रै मन्त्रिपरिषद््ले निर्णय गरेको छ । यो तहसम्म आइपुग्दा उपचारको यो रकमले एकप्रकारले देशकै अपमान गरिहेको थियो । त्यसलाई मध्यनजर राखेर उक्त रकम भुक्तानी गरिदिने सन्दर्भमा परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार नै ग-यो । त्यसो नहुँदा भारतमा अपमानित हुनुपर्ने भन्ने उसको बुझाइ थियो । यो विषयमा त्यसरी नै समाचारहरू आए । यस्तो हुनु पनि राष्ट्रपतिको वचन विपरीतकै कुरा थियोे । आफैँले तिर्ने हो भने अर्काको देशमा आफूले गरेको खर्चको यथासमयमा किन फस्र्यौट भएन भन्ने प्रश्न खडा भएको छ । सामान्यतया यस्ता सम्मानित पदाधिकारी बिमारी भएर विदेशमा उपचार गर्न जाँदा राज्यले खर्च व्यहोर्दै आएको थियो । यसपटक त्यस्तो खर्च आफैँ व्यहोर्ने भनेर राष्ट्रपतिबाट भनिँदा नयाँ अभ्यासको थालनी भएको मानिएको थियो । तर त्यो केही दिन पनि टिकेन । अर्थात् राष्ट्रपतिबाट नै वचनको पालना भएन ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया