Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र हुलाक विभागबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र हुलाक विभागबीच सम्झौता


काठमाडौं । हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकलाई हस्तान्तरण गरेको छ । सरकारको आव २०८०/०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकारको निर्णयबमोजिम हुलाक बचत बैंकमा रहेको खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरणसम्बन्धी आइतबार भएको सम्झौतामा हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीको ऋण लगानीका खाताहरू विभागले बैंकका विभिन्न शाखा कार्यालयमार्फत यही असार २८ गतेभित्र विवरण हस्तान्तरण गर्नेछ । हुलाक बचत बैंकका निक्षेपकर्ताले बैंकको नजिकैको शाखा कार्यालयमा गई नियमानुसार खाता आद्यावधिक गरी आफ्नो नियमित कारोबार आगामी साउन १ गतेदेखि गर्न सक्नेछन् । यसरी खोलिने सम्पूर्ण खातावालालाई बैंकले चेकबुक, एटीएम कार्ड, मोबाइल बैंकिङ सेवा, एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने छ ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आ.व. २०३२/०३३ सालदेखि सर्वसाधारणको बचत संकलन गर्ने र आव २०६०/०६१ देखि ऋण लगानीसमेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप संकलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारीहरू रहँदै आएका छन् । बैंकको हाल सातवटै प्रदेशका ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ७२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्युआर कोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ तथा विनाइन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवासमेत सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया