Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर भन्सारमा सुरक्षा प्रबन्ध नहुँदा निर्वाध भारतीय गाडी नेपाल प्रवेश

विराटनगर भन्सारमा सुरक्षा प्रबन्ध नहुँदा निर्वाध भारतीय गाडी नेपाल प्रवेश


विराटनगर,बैशाख १४
विराटनगर भन्सारबाट जाँचपास भएर आउने भारतीय मालबाहक ट्रकहरू आउने क्रम नरोकिएपछि स्थानीयमा त्रास छाएको छ । भारतमा कोरोनाको संक्रमण दिनानु दिन बढ्दै गएको अवस्थामा भारतबाट खाद्यलगायत औद्योगिक कच्चापदार्थका सामग्री लिएर मालवाहक सवारी साधन आउन नरोकिएपछि स्थानीयस्तरमा त्रास बढेको हो ।

विराटनगर भन्सारनाका भएर अहिले खाद्यान, इन्धन, औषधिजन्य सामग्री र विभिन्न उद्योगहरूका लागि कच्चा पदार्थ बोकेका भारतीय मालबाहक गाडीहरू दिनहुँ सयौंको संख्यामा नेपाल भित्रने क्रम जारी रहेको कुरा विराटनगर भन्सारका भन्सार एजेन्टले जानकारी दिएका छन् । सरकारले भारतसँग जोडिएका सबै नाकाहरू आवतजावत पनि नहुनेगरी शिल गरेको एक महिनाभन्दा बढी भएको छ । तर, विराटनगर भन्सारनाका भएर केही अत्यावश्यक वस्तुहरू आयात गर्नका लागि अनुमति दिएको जानकारी विराटनगर भन्सारले दिएको छ । तर, विराटनगर भन्सारका भन्सार एजेन्टका अनुसार जोगवनी नाकाबाट सुवास्थ्य मन्त्रालयको निर्देशनअनुसार कायम गरिएको सामान्य मापदण्ड समेतको खिल्ली उडाउँदै दैनिकरूपमा सयौँको संख्यामा त्यस्ता गाडीहरू निर्वादरूपमा भित्रिरहेको जानकारी दिएका छन् ।

विराटनगर भन्सार कार्यलयले सीमानाकाबाट भित्रने गाडीहरू भन्सार पास गरी सिधै गन्तव्यतर्फ लाग्दा त्यसैका माध्यमबाट कोरोनाको संक्रमण फैलिन सक्ने जोखिम पनि उत्तिकै रहेको हुँदा त्यसतर्फ सम्बन्धित निकायले तुरुन्त ध्यान दिन भन्सार एजेन्ट माहासंघका केन्द्रीय उपाध्यक्ष किशोरबहादुर साहीले आग्रहसमेत गरेका छन् । उपाध्यक्ष साहीले भारतीय मालबाहक गाडीका चालक सहचालकहरूले नत कुनै सुरक्षा सामग्री प्रयोग गरेका हुन्छन् नत आयातित सामानहरू निश्चत समय तोकेर क्वारेन्टाइनमा राख्ने गरेका छन् । जसले गर्दा अहिलेसम्म सुरक्षित बनेको प्रदेश १ को राजधानी विराटनगर समेत जोखिममा पर्ने खतरा रहेको तर्फ प्रदेश सरकारले समेत कुनै मतलव नगरेको गुनासो भन्सार एजेन्ट माहासंघका उपाध्यक्ष साहीले गरेका छन् ।

विराटनगर भन्सार कार्यालयले सामान्य साबुनपानीका भरमा दैनिक सयौँ भारतीय भालवाहक गाडीका चालक र सहचालक गरी न्यूनतम दुई सयको हाराहारीमा भारतीय नागरिक नेपाल प्रवेश गर्दा भन्सारमा कार्यरत भन्सार एजेन्टसमेत त्रसित भएर पनि भन्सारपासको काममा क्रियाशील भएको कुरा साहीले बताएका छन् । जसले गर्दा यो माहामारीका समयमा समेत संघीय सरकारदेखि प्रदेश सरकार समेतले विराटनगर भन्सारलाई सुवास्थ्य मन्त्रालयको निर्देशनअनुसार अपनाउनु पर्ने सुरक्षा प्रबन्ध नमिलाएका कारण विराटनगर भन्सारनाका नै असुरक्षित बन्दै गएको कुरा उपाध्यक्ष साहीले बताएका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा चार सयको हाराहारीमा उद्योगहरू सञ्चालनमा रहेका छन् । ती उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थसमेत भारतबाटै आयात हुने गरेको छ । कोरोना संक्रमण फैलिरहेको समयमा पनि कुनै सुरक्षाका उपाय अवलम्बन नगरी सिधै मालबाहक गाडिहरू आवतजावत गर्दा जोखिम बढेको भन्दै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले पनि चिन्ता व्यक्त गर्न थालेका छन् । विराटनगर भन्सार नाका भएर भारतीय मालबाहक गाडीहरूले सुनसरी मोरङमा सञ्चालन भैरहेका इँटा भट्टाका लागि आवश्यक कोइलासहित अन्य सञ्चालनमा रहेका उद्योगका लागि आवश्यक कच्चा पदार्थ लिएर आएका गाडीहरूदेखि चालक र सहचालक समेतलाई स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार जोखिम न्यूनीकरणका उपायहरू अपनाउन संघीय सरकार र प्रदेश सरकारलाई उद्योगी तथा व्यवसायीले अनुरोध गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x