भारतमा बाढीपहिरोबाट प्रभावित नेपालीको सहायताका लागि के गर्दै छ दूतावास ?
काठमाडौं,भारतका विभिन्न राज्यमा आएको बाढीपहिरोमा नेपालीहरू पनि परेको खबर आएसँगै ती राज्यमा रहेका आफ्ना नागरिकको अवस्थाबारे “जानकारी लिन थालिएको” भारतस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका प्रवक्ताका अनुसार “विशेषगरी उत्तर भारतीय पहाडी तथा हिमाली राज्यहरूमा रहेका” नेपालीको अवस्था बुझ्न थालिएको हो।
हिमाचल राज्यको शिमला जिल्लामा पहिरोले पुरिएर रुकुम पश्चिमका एकै परिवारका तीन जनाको ज्यान गएको परिवारका सदस्य तथा स्थानीय तहका अधिकारीहरूले पुष्टि गरेका छन्।
नेपाली दूतावासले चाहिँ “तीन जनाको ज्यान गएको अनौपचारिक जानकारी मात्र आएको” बताएको छ।
शिमलामै रहेका मृतकका एक आफन्तले “रकमको अभावमा त्यहाँ रहेका नेपालीहरूसँग सहयोग उठाई तीनै जनाको शव नेपाल ल्याउन लागिएको” बीबीसीलाई जानकारी दिएका छन्।
नेपाली दूतावास के भन्छ?
दिल्लीस्थित नेपाली दूतावासले भारतका विभिन्न स्थानमा बाढीपहिरोको प्रकोप देखिएपछि त्यस क्षेत्रमा रहेका नेपालीहरूबारे जानकारी लिने कार्य जारी रहेको जनाएको छ।
दूतावासका प्रवक्ता रेवतीरमण पौडेलले बाढीपहिरोबाट अति प्रभावितमध्येको एक हिमाचल प्रदेशका विभिन्न स्थानमा रहेका नेपालीहरूसँग दूतावासले सम्पर्क गरेको बताए।
“हामीले त्यहाँ रहेका नेपालीहरूसँग सम्पर्क गरेका छौँ। तर उहाँहरूलाई नै पनि प्रभावित क्षेत्रमा परेका नेपालीबारे धेरै जानकारी नभएकाले कतिपय कुरा आउन सकेको छैन,” उनले भने।
“अन्य प्रभावित क्षेत्रका नेपालीहरूसँग पनि हामीले कुराकानी गरेर जानकारी लिने र आवश्यक सहयोगका लागि पहल गर्ने काम गरिरहेका छौँ।”
त्यस्तै प्रभावित क्षेत्रमा रहेका नेपालीहरूलाई आवश्यक सहयोग गर्न भारतीय अधिकारीहरूसँग समन्वय पनि जारी राखिएको दूतावासका अधिकारीहरूको भनाइ छ।
मृतकका परिवार के भन्छन्?
हिमाचलको पहिरोमा परेर नेपालको रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-९ का तीन व्यक्तिको ज्यान गएको उनीहरूका आफन्त र स्थानीय तहका जनप्रतिनिधिले पुष्टि गरेका छन्।
उनीहरूका अनुसार उक्त गाउँपालिकाका एकै परिवारका सदस्यहरूको मृत्यु भएको हो।मृतकहरू पतिपत्नी र उनीहरूको १७ वर्षका छोरा भएको उक्त गाउँपालिका वडा नं ९ का वडाअध्यक्ष हरिबहादुर खड्काले बताए।
उनले भने, “पति चाहिँ केही महिनाअघि मजदुरीका लागि त्यहाँ गएका थिए। पत्नी र छोरा गएको त एक महिना पनि भएको छैन होला। जेठो छोरो पनि उनीहरूसँग शिमलामै थिए तर उनी बाँचेछन्।”
मृतकका जेठा छोरा भने काम गर्न अर्को स्थानमा गएको र तीन जनालाई भने बसेकै स्थानमा पहिरोले पुरेको हिमाचलमा रहेका उनीहरूका आफन्तले बीबीसीलाई बताए।
शिमलामै रहेका मृतकका एक आफन्त श्रीकुमार गिरीले भने, “उहाँहरू तीन जना बसेको कोठालाई नै पहिरोले पुरेछ, हामीले माटो पन्छाएर उहाँहरूको लास निकालेको हो।”
“अब हामी उहाँहरूको शवलाई नेपाल लैजाने तयारीमा जुटेका छौँ,” मङ्गलवार दिउँसो उनले भने।उनका अनुसार शवहरू नेपाल ल्याउनका लागि रकम अभाव भएपछि शिमलास्थित नेपाली मजदुरहरूले पैसा उठाएर शव नेपाल पठाउने व्यवस्था गरेका हुन्।
“अहिलेसम्म दूतावासबाट हामीलाई फोन पनि आएको छैन, कुनै खोजखबर गरेको थाहा छैन। हामीले दु:ख गरेर शव लैजाने व्यवस्था गर्दै छौँ,” उनले भने।
भारतमा बाढीपहिरो
उत्तर भारतमा परेको अविरल वर्षाले जनधनको क्षति भएको बीबीसी हिन्दीले जनाएको छ।लगातारको वर्षाका कारण दिल्ली, हिमाचल, उत्तराखण्ड, पञ्जाब, हरियाणा, जम्मू–कश्मीर र राजस्थानका कैयौँ स्थान जलमग्न भएका छन्।
अविरल वर्षा र पहिरोका कारण अहिलेसम्म हिमाचलमा मात्र १७ जनाको ज्यान गइसकेको छ।वर्षाका कारण निम्तिएको विपद्बारे प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्री तथा अधिकारीसँग कुरा गरेको र अवस्थाबारे जानकारी लिएको बताएका छन्।
भारतीय मौसम विभागले केही राज्यमा सतर्कता अपनाउन चेतावनी पनि जारी गरेको छ।
भारतको राजधानी दिल्ली तथा आसपासका कतिपय विद्यालय सोमवार बन्द गरिएको थियो।राजधानी दिल्लीका कतिपय क्षेत्र पनि डुबानमा परेका छन्।यमुना नदीले खतराको तह नाघेको छ भने सम्भावित डुबान क्षेत्रबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
४० वर्षयताकै अधिक वर्षा
मनसुन सुरु भएसँगै दिल्लीमा पछिल्ला ४० वर्षयताकै सबैभन्दा धेरै पानी परेको मौसम विभागका अधिकारीहरूले बताएका छन्।
एउटा प्रक्षेपणअनुसार दिल्लीमा एक दिनमा आठदेखि नौ मिलिमिटर वर्षा हुन्छ। तर पछिल्ला दुई दिनमा १५३ मिलिमिटर वर्षा भएको थियो।
त्यो दिल्लीको औसत वर्षाभन्दा १,००० भन्दा बढी हो।
आगामी दिनहरूमा अर्थात् जुलाई १५-१६ मा दिल्लीमा थप पानी पर्ने र त्यसबेला औसत ३० देखि ४० मिलिमिटरसम्म हुन सक्ने प्रक्षेपण गरिएको छ।
भारतमा नेपाली नागरिक
भारतका विभिन्न राज्यहरूमा नेपालीहरूले विभिन्न क्षेत्रमा काम गर्ने गरेका छन्।नेपाल र भारतबीच खुला सीमा हुनुका साथै एकअर्काले दुवै देशका नागरिकलाई आफ्नै नागरिकसरह काम गर्न अनुमति दिने भएकाले भारतमा नेपालीको ठूलो उपस्थिति छ।
भारतका विभिन्न राज्यमा नेपालीहरू सुरक्षागार्ड, निर्माण, होटल तथा रेस्टुराँ, पसलहरू तथा विभिन्न उद्योगमा पनि कार्यरत रहेका छन्।
तर हिमाचल, कश्मीर तथा उत्तराखण्ड लगायतका राज्यहरूमा कृषिको काममा पनि धेरै नेपाली जाने गरेको जानकारहरू बताउँछन्।
हिमाचलमा पहिरोमा ज्यान गुमाउनेहरू पनि कृषि क्षेत्रमै काम गर्न गएको उनीहरूका आफन्तहरूले बताएका छन्।
तर उक्त राज्यमा नेपाली कामदारको सङ्ख्या कति छ भन्ने यकिन विवरण पाउन सहज नभएको दूतावासका अधिकारी तथा भारतमा रहेका नेपालीरूको भनाइ छ।
उक्त राज्यमा हजारौँको सङ्ख्यामा नेपाली रहेका छन् भने भारतभरि लाखौँको सङ्ख्यामा नेपाली रहेको बताइन्छ।
यद्यपि भारतमा रहेका नेपालीहरूको सङ्ख्याबारे प्राप्त विवरणमा एकरूपता छैन।(बीबीसी)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया