Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाको मृत्यु

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा छ जनाको मृत्यु


मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ लामजुरा च्यानडाँडामा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनामा परी हेलिकोप्टरमा सवार चालक दलका एक सदस्यसहित छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका दुई लुक्ला नजिकैको सुर्के हेलिप्याडबाट तीन महिला र दुई पुरुष गरी पाँच जना मेक्सिकन नागरिक लिएर हेलिकोप्टर उडेको थियो । नाइन एनएएमभी कलसाइनको हेलिकोप्टर लामजुरामा रुखमा ठोक्किएको हो । मृत्यु हुनेमा क्पाप्टेन चेतबहादुर गुरुङ र मेक्सिकन नागरिकहरू सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन् । मृतकहरू सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीेले जनाएको छ ।

स्थानीयबाट हेलिकोप्टर दुर्घटनाको खबर आउनासाथ सोलुदूधकुण्ड नगरपालिका २ बेनीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शव फेला पारेको हो । सोलुखुम्बुमा मौसम प्रतिकुल हुँदा केही दिनदेखि लुक्लामा उडान हुन सकेको थिएन् । तर मंगलबार भने लुक्ला क्षेत्रमा बिहानैदेखि मौसम अनुकुल हुँदा हेलिकोप्टर उडान भएको थियो । नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठका अनुसार मंगलबार मौसम केही खुलेको थियो । ‘हिजो, अस्ति मौसम असाध्यै खराब भएको थियो तर आज बिहानैदेखि मौसम खुलेको थियो । यहाँ यति मज्जाले मौसम खुलेको थियो कि बिहानैदेखि उडान सुरु भएको थियो’, उनले भने, ‘राम्रै मौसममा उक्त हेलिले विदेशी लिएर सुर्केबाट उडेको हो । मौसम राम्रै भएकाले हामीले पनि अनुमति दिएका हौँ तर दुर्भाग्यवश दुर्घटनामा प¥यो ।’ यो दुर्घटना मौसमकै कारणले भएको हुन सक्ने श्रेष्ठले बताए ।

प्राधिकरण प्रमुख श्रेष्ठका अनुसार हेलिकोप्टर बिहान १०ः०५ बजे काठमाडौका लागि उडेको थियो । तर १०ः१३ बजेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । सम्पर्कविच्छेद हुँदा हेलिकोप्टर १२ हजार ३०० फिटको उचाइमा रहेको बताइएको छ । मङ्गलबार बिहान हेलिकप्टर दुर्घटनामा पर्दा कान्छा शेर्पा लाम्जुरास्थित आफ्नो निवासमा थिए । उनले भने ‘हेलिकप्टरको आवाज सुनिएको थियो । बादलले गर्दा देखिएन । पछि हाम्रो घरभन्दा झन्डै एक किलोमिटर पर रूखमा ठोक्किएर दुर्घटनामा परेको रहेछ ।’ मौसम खराबीका कारण हेलिकोप्टर होचिएर आउँदा पछाडिको भाग गोब्रे सल्लाको रुखमा ठोकिएको स्थानीय सर्की शेर्पाले बताए ।

हेलिकोप्टर अनुभवी क्याप्टेन ५५ वर्षीय चेतबहादुर गुरुङले उडाएका थिए । उनी विगत १० वर्षदेखि मनाङ एयरमा आबद्ध थिए । गुरुङ विसं २०७६ वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परेर बाँचेका थिए । लुक्लाबाट रामेछापका लागि उड्नै लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर हेलिप्याडमा रहेको उड्नै लागेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको थियो । सो दुर्घटनामा उड्नै लागेको मनाङ एयरको हेलिकप्टरको ककपिटमा क्याप्टेन गुरुङ थिए । दुर्घटनामा गम्भीर घाइते भएका क्यापटेन गुरुङ तीन महिना अस्पतालको बसाइपछि पुनः उडानमा फर्किएका थिए । यसअघि गुरुङले गोरखा एयर, श्री एयरसहितका कम्पनीका हेलिकप्टर उडाएका थिए । उनीसँग सात हजार घण्टा हवाई उडानको अनुभव भएको मनाङ एयरले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया