औषधीय गुण भएको वनस्पति ‘चिराइतो’
काठमाडौं । गत जेठ ४ गते ‘कान्तिपुर दैनिक’मा प्रकाशित समाचारअनुसार यो वर्ष चिराइतोको भाउ प्रतिकिलो हजार रूपैयाँसम्म पुगेको छ । जसले गर्दा चिराइतो खेती गर्ने किसानहरूमा थप उत्साह जागेको देखिन्छ । चिराइतो मात्रै यस्तो एक नगदे बाली हो, जुन खेती गर्दा किसानले धेरै मेहनत नगरी र पसिना नबगाई सजिलैसँग धेरै आम्दानी गर्न सक्छन् । हुन पनि विगतमा किसानले चिराइतोबाट खासै आर्थिक लाभ लिन सकेका थिएनन् । एक मन (४० किलो) को १०–१२ हजार रूपैयाँदेखि १५–१८ हजार रूपैयाँमै बेच्नु परेको दुःखद् र निराशलाग्दो अवस्था पनि भोग्नु परेको थियो ।
हुन पनि नेपालमा केवल चिराइतो मात्रै नभएर हरेक क्षेत्रमा, हरेक वनौषधीय चिजबिजमा धनी रहेको छ । खासगरी हाम्रो देश नेपाल प्राकृतिक स्रोतहरूजस्तै वनस्पति, जडीबुटी, वन–जंगल, प्राकृतिकरूपमै रहेको हरियालीपन, खोलानाला, हिमाल, पहाडबाट छङ्छङ् गर्दै बग्ने छहरा, छाँगा, टलक्क टल्कने हिमाल, पहाड एवम् सम्म परेको खेतीयोग्य भित्री मधेस, दून, उपत्यकाका साथै खेतीयोग्य मैदानी भू–भागहरूजस्तै नदी किनार र चुरे क्षेत्रको फेदीमा रहेका टार वा टारी अथवा दून (उपत्यका–मैदानी) जग्गा आदि रहेका छन् । जुन कुराले गर्दा प्राकृतिक देनको आधारमा हामी धेरै धनी रहेका छौं भन्ने देखाउँछ । हाम्रो देश नेपाल जातजाति, भाषाभाषी, भेषभुषा, धर्म, संस्कार, संस्कृति, चाडपर्व, रहनसहन, परम्परागत मूल्य–मान्यता, आफ्नोपन आदिमा पनि धेरै धनी देश हो भन्ने विश्वका धेरै विद्वानहरूले अध्ययन–अनुसन्धान गरेरै प्रमाणित गरेका छन् । त्यसैले विश्वका प्रायः सबै देशका अध्ययन अनुसन्धानकर्ताहरू नेपाल आउने गरेका छन् । विदेशी मूर्धन्य विद्वानहरू नेपाल आएका छन्/आइरहेका छन् ।
हाम्रो देश नेपालमा फुल्ने फूल मात्रै लगभग सात हजार प्रकारका छन् भन्ने अध्ययन, अनुसन्धानकर्मीको भनाइ छ । त्यति मात्रै होइन, अन्य प्राकृतिक साधन र स्रोतमा पनि हाम्रो देश नेपाल धेरै धनी देशको रूपमा रहेको छ । त्यसमा पनि जडीबुटीजन्य वनस्पतिमा नेपाल विश्वका अन्य देशहरूको तुलनामा कम धनी छैन । तर हामी नेपालीले अहिलेसम्म पनि नेपालका ती अधिकांश वनस्पति र वनस्पतिजन्य जडीबुटी वा भनौँ औषधिजन्य जडीबुटीलाई सही र पूर्ण क्षमताका साथ सदुपयोग गर्न सकिरहेका छैनौँ । त्यसरी प्रयोग गर्न नसकिएको अधिकांश वनस्पति र जडीबुटी वा भनौँ औषधिजन्य वनस्पतिको नामसूची धेरै लामो हुन सक्छ । त्यस्ता अनेकौँ औषधिजन्य वनस्पतिमध्ये यहाँ राष्ट्रियरूपमा कम चर्चामा रहेको तर गाउँघरमा धेरै समय अघिदेखि घरेलु औषधिको रूपमा प्रयोग गर्ने गरेकोे एक जडीबुटी वा भनौँ औषधिजन्य वनस्पति ‘चिराइतो’बारे केही लेख्ने प्रयास गरिएको छ ।
विशेषगरी बारी वा झाडीको भित्तोमा प्राकृतिकरूपमै आफैं उम्रने र बढ्ने वनस्पति (जडीबुटी) ‘चिराइतो’को वैज्ञानिक नाम भने ‘स्वेर्सिया चिराइता’ हो भने यो वनस्पति ‘जेनसियानेसी’ परिवारमा पर्छ । यो वनस्पति खासमा ‘झार’ वर्गमा पर्ने ‘बुट्यान’ हो । त्यस्तै, ‘चिराइतो’को अंग्रेजी नामचाहिँ चिरेत्ता, व्यापारिक नाम पनि चिरेत्ता, स्थानीय नाम ‘चिराइतो’ हो । चिराइतोलाई हिन्दी भाषामा चिराता, तिब्बती भाषामा/आम्चीहरूले, तिते/तिक्ता, नेवारी भाषामा खलु, लिम्बु भाषामा सुङ खिम्बा, कुलुङ भाषामा ‘खीप्ली/खीफ्ली’, तामाङ भाषामा तिम्दा, मगर भाषामा रङ/रङ्का, गुरुङ भाषामा तेन्तो, शेर्पा भाषामा तिक्दा भनिन्छ । (स्रोतः वनस्पति विभाग)
चिराइतोको कुनै पनि भाग खेर जाँदैन । चिराइतोको पूरै शरीर अथवा भनौं पात, जरा, डाँठ, फुल, बोक्रा सबै प्रयोगमा आउने गर्छ । यसरी हेर्दा पूरै शरीर अथवा भनौं पात, जरा, डाँठ, फुल, बोक्रा सबै प्रयोगमा आउने औषधिजन्य धेरै कम बोट– विरुवाहरूमा पर्ने वनस्पति हो, चिराइतो । गाउँघरमा चिराइतोलाई पेट दुख्ने, पेटको किरा (जुका/चुर्ना) मार्न, ज्वरो आउने, रगतमासी, घाउ–खटिरा, अपचलगायत प्रायः सबै रोगमा प्रयोग गरिए पनि वनस्पति विभागका अनुसार चिराइतोलाई बल/शक्तिबर्द्धक, महिलाहरूमा हुने महिनावारी गडबडी, कब्जियत, पित्तनाशक, शरीर सुन्निएको ठाउँमा, श्वेत प्रदर, छाला रोग, दाद निको पार्न/गर्न प्रयोग गर्न सकिन्छ । चिराइतोबाट ब्याक्टेरिया, ढुसी आदि पनि निर्मूल गर्न सकिन्छ । त्यस्तै, पशुपन्छीलाई लाग्ने विभिन्न रोगहरूमा पनि चिराइतोलाई घरेलु औषधिको रूपमा प्रयोग गरिँदै आएको छ ।
सामान्यतया प्राकृतिरूपमा चिराइतो १४/१५ सय मिटरदेखि २९/३० सय मिटरसम्मको उचाइमा पाइन्छ । यसलाई सोभन्दा माथिको उचाइ वा तल (१४/१५ सय मिटर देखि २९/३० सय मिटरभन्दा कम वा धेरै) को उचाइमा पनि कृत्रिम तरिकाले खेती गर्न सकिने सम्भावना छ कि ? यस बारेमा चिराइतोका बारेमा अध्ययन गर्ने अनुसन्धानकर्मी वा भनौँ विषय विज्ञहरूले अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिन्छ । अथवा चिराइतोका बारेमा अध्ययन गर्ने अनुसन्धानकर्मी वा भनौं विषय विज्ञद्वारा अध्ययन, अनुसन्धान भइसकेको छ कि ? विगत लामो समयदेखि नेपालको पूर्वी भेगमा जस्तै, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर आदि जिल्लाका साथै मध्यनेपालको मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखामा यसको खेती सुरु भएको छ । त्यस्तै, पश्चिम नेपालको सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डडेलधुरा, बाजुरा आदि जिल्लामा पनि यसको खेती सुरु भएको छ । हुन त यी जिल्लामा प्राकृतिकरूपमै पनि चिराइतो उम्रने गर्छ । चिराइतोको महत्व कति छ भन्ने त केही वर्षअघि पूर्वको ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर आदि जिल्लाबाट संखुवासभा जिल्लाको उत्तरी नाका हुँदै हेलिकोप्टरबाटै चीनको तिब्बततर्फ चिराइतो निकासी हुने गरेकोबाट देखिएको छ ।
विश्वमा धेरै प्रकारका चिराइतो पाइने भए पनि वनस्पति विभागका अनुसार नेपालमा १० प्रकारका चिराइतो पाइन्छ । चिराइतो खेती गर्न सम्म परेको बारीभन्दा पनि भित्ता वा कान्ला उत्तम मानिन्छ । त्यसमा पनि उत्तर–पश्चिम मोहोडा परेको भित्तोमा चिराइतो छिटो बढ्ने र राम्रोसँग सप्रिने हुन्छ । चिराइतोको व्यावसायिक खेती गर्ने किसानले कात्तिक–मंसिर महिनामा बीउ÷नर्सरी तयार गर्ने गर्छन् भने नर्सरीमा बीउ छर्ने/राख्ने काम फागुन–चैत महिनामा गर्छन् । त्यस्तै, जेठ–असार महिनामा उम्रेको/हुर्केको बिरुवा (बेर्ना) रोप्ने काम गर्छन् । नेपाल सरकार, कृषि मन्त्रालयले नेपालका पहाडी तथा हिमाली जिल्लाका किसानहरूलाई चिराइतो खेतीका लागि अनुदान दिएर आकर्षित गर्न सके किसानलाई मात्रै नभएर नेपाल सरकार, नेपालका एलोप्याथिक औषधि उद्योग, आयुर्वेदिक औषधि उद्योग, वैद्यखाना, प्राकृतिक चिकित्सकलगायतलाई दीर्घकालीन फाइदा हुने देखिन्छ । साथै, नेपालको अर्थतन्त्र उकास्नमा ‘चिराइतो’को भूमिका महत्वपूर्ण रहने देखिन्छ । त्यसैले ‘चिराइतो’को खेती र प्रयोगलाई सक्दो प्रोत्साहन गरौँ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया