Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलकडाउन प्रभाव : पेट्रोलियम पदार्थको खपतमा कमी आयो

लकडाउन प्रभाव : पेट्रोलियम पदार्थको खपतमा कमी आयो


काठमाडौं,बैशाख १४

विश्वव्यापी कोरोना महामारीको कारण गरिएको लकडाउनले पेट्रोलियम पदार्थको आयात र खपतमा कमी आएको छ । लकडाउनका बेला अत्यावश्यक मालसामान तथा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउनेतर्फ पनि सरकारले काम गरिरहेको छ । त्यसैले लकडाउन अवधिमा अत्यावश्यक रहेको पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको कमी हुन नदिन सरकारले पेट्रोलियम पदार्थको आयात निर्बाध गरिरहेको छ । आयल निगम पेट्रोलियम पदार्थको आयात आवश्यकताअनुसार गरिरहेको छ ।

आयल निगमको नेपालगञ्ज डिपोले आवश्यकताअनुसार इन्धन भारतबाट ल्याइरहेको डिपोका प्रमुख, प्रवन्धक नवविनोद पोखरेलले जानकारी दिएका छन् । ‘कोरोनाका कारण चुनौती छ, तर पनि जोखिम मोलेर अत्यावश्यक भएकाले पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेका छौं’, उनले भने, ‘यद्यपि सवारीसाधन नचलेकाले माग भने घटेको छ ।’

प्रबन्धक पोखरेलले हालको परिस्थितिमा आवश्यक रहेको परिणाममा स्टक पर्याप्त रहेको बताएका छन् । गत वर्षको तुलनामा यो बर्ष लकडाउनमा मागमा कमी आएपछि पेट्रोलियम पदार्थको आयातमा ह्वात्तै कमी आएको छ । डिपोका प्रमुख पोखरेलका अनुसार, गत वर्ष चैत १२ देखि वैशाख ५ गतेसम्म गत वर्ष २५ लाख लिटर पेटोल आएको थियो । तर, यस वर्ष सोही अवधिमा पेट्रोलिम पदार्थको मागमा कमी आएपछि आयात २ लाख २० हजार लिटर मात्रै भएको छ । यो गत वर्षको तुलनामा ८.८० प्रतिशत मात्रै हो ।

त्यस्तै, गत वर्ष चैत १२ देखि वैशाख ५ गतेसम्म डिजेल १ करोड ३० लाख ५२ हजार नेपालगन्ज डिपोमा आएको थियो । यस वर्ष सोही अवधिमा १९ लाख २४ हजार आयात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १४.७५ प्रतिशत मात्र हो । गत बर्ष चैत्र १२ देखि वैशाख ५ गतेसम्म एलपीजी ग्याँस २ हजार १ सय ३९ मेट्रिक टन आयात भएको थियो । यस बर्ष सोही अवधिमा ग्यास १ हजार ६ सय मेट्रिक टन आयात भएको छ । यो तथ्यांकले गतबर्षको तुलनामा आयातमा कमी भएको देखिन्छ ।

नेपालगन्ज डिपोले बाँके, बर्दिया, दाङ, सल्यान, प्युठान, रुकुम, रोल्पा, जुम्ला, सुर्खेत, दैलेख, जाजरकोट जिल्लामा इन्धन आपूर्ति गर्दै आएको छ । त्यसका लागि निगमले १ सय २० वटा आधिकारिक डिलर नियुक्त गरेको छ । यद्यपि पश्चिम क्षेत्रमा पेट्रोलियम पदार्थको माग ह्वात्तै वृद्धि भएको छ । तीन वर्षको तथ्यांकले पेट्रोलियम तथा एलपिजी ग्यासको माग बढेको देखिन्छ । सडकमा सञ्जालमा वृद्धि भएसँगै यातायातका साधन पनि वृद्धि भएका छन् । त्यसले पेट्रोलियम पदार्थको माग बढेको नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जका प्रमुख नवविनोद पोखरेलले जानकारी दिए । खाना पकाउन बढी प्रयोग हुने मट्टितेलको मागको वृद्धिदरमा कमी आएको छ भने ग्यासको माग बढ्दै गएको नेपालगञ्ज डिपोको तथ्यांकले देखाएको छ ।

निगमको नेपालगञ्जस्थित डिपोले आ.व. २०७३÷०७४ मा ३० हजार ५ सय १२ केएल पेट्रोल आयात गरेको थियो । गत आर्थिक वर्ष २०७५÷०७६ मा माग बढेपछि डिपोले ३८ हजार ४ सय ९२ केएल पेट्रोल आयात गरेको डिपोका प्रमुख पोखरेलले जानकारी दिए । आ.व. २०७४÷०७५ मा डिपोले ३१ हजार ८ सय ६४ केएल पेट्रोल आयात गरेको थियो । त्यस्तै डिजेलको आयातमा पनि वृद्धि भएको छ । डिपोले आ.व. २०७३÷०७४ मा १ लाख ४१ हजार ५ सय केएल डिजल आयात गरेको थियो । त्यसपछिका वर्षमा आयात बढेर आ.व. २०७४÷०७५ मा १ लाख ६३ हजार ६ सय ३६, आ.व. २०७५÷२०७६ मा १ लाख ६५ हजार ९ सय ४७ पुगेको छ ।

‘अन्य इन्धनको तुलनामा पेट्रोल र ग्यासको माग उच्च छ’, नेपालगञ्ज डिपो प्रमुख पोखरेलले भने । उनले खाना पकाउन मट्टितेलको सट्टा ग्यासको प्रयोग बढेकाले ग्यासको माग बढेको बताए । उनले पेट्रोलबाट चल्ने सवारीसाधन तथा सडक सञ्जालको वृद्धिका कारण पेट्रोलको माग पनि उच्च हुँदै गएको बताए ।

डिपोले आ.व. २०७३÷०७४ मा १ हजार ६ सय ८० केएल मट्टितेल आयात गरेको छ । जुन आर्थिक वर्ष २०७४÷०७५ मा १ हजार ८ सय ८० र आ.व. २०७५÷२०७६ मा १ हजार ९ सय ३७ रहेको छ । डिपोबाट हवाई इन्धन एटिएफको बिक्री पनि तीन वर्षको तथ्यांकले ह्वात्तै बढेको देखाएको छ । आ.व. २०७३÷०७४ मा एटिएफ ६ हजार १ सय, आ.व. २०७४÷०७५ मा ८ हजार ४ सय तथा आ.व. २०७५÷०७६ मा ७ हजार ७ सय ९२ केएल एटीएफ डिपोले आयात गरेको तथ्यांक रहेको छ । एलपिजी ग्यासको आयात तीन वर्षमा १२ केएल वृद्धि भएको छ । आ.व. २०७३÷०७४ मा २२ हजार ८ सय १७ केएल आयात गरेको डिपोले २०७४÷०७५ मा २८ हजार ७ सय ४० र आ.व. २०७५÷०७६ मा ३४ हजार ४ सय ८५ केएल एलपीजी आयात गरेको छ । डिपो प्रमुख पोखरेलले चालु आ.व.को पाँच महिनामा ग्याँसको मागको वृद्धिदर १२ प्रतिशतले बढेको जानकारी दिए ।

निगमको नेपालगञ्ज डिपोमा पेट्रोल, डिजेल, मट्टिटेल, हवाई इन्धन तथा एलपीजी ग्यास स्टोरेजका लागि १० वटा ट्यांकी रहेका छन् । पेट्रोलको २ सय १० स्टोरेजका लागि तीन वटा ट्यांकी, २ हजार २ सय ८० केएल डिजलका लागि ३ वटा ट्यांकी, ७ सय ६० केएल मट्टितेलका लागि एक वटा ट्यांक, हवाइ इन्धन २ सय ८० केएल स्टोरेजका लागि ४ वटा ट्यांकी रहेका छन् । लकडाउनका कारण उक्त बढ्दो तथ्यांकको असर भने चालू आ.व.मा देखिने प्रमुख पोखरेल बताउँछन् । ‘इन्धन खपत गर्ने यातायातका साधन ठप्प भएपछि मागमा कमी आएको छ’, गत वर्षदेखि बढ्दो क्रममा रहेको तथ्यांकमा यस वर्ष कमी आउन सक्ने उल्लेख गर्दै उनले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x