Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजोगवनी नाकामा सीमापारिबाट ल्याएका सबै सामानमा भन्सार लाग्ने

जोगवनी नाकामा सीमापारिबाट ल्याएका सबै सामानमा भन्सार लाग्ने


विराटनगर । विराटनगर महानगरपालिकाले सीमापारिबाट ल्याउने सबै सामानमा भन्सार अनिवार्य गरेको छ । साउन १ गतेदेखि आफ्नो पालिकासँग जोडिएको भारतीय बजारबाट सामान किनेर ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था गरेको हो । नेपाली बजार छाडेर सामान किन्न भारतीय बजार जाने प्रचलनलाई नियन्त्रण गर्न यस्तो गरिएको महानगरपालिकाले जनाएको छ ।

आसपासका जिल्लाबाट समेत किनमेलका लागि भारतीय बजार जोगवनी जान कडाइ गर्ने विषयमा केही दिनयता माइकिङ तथा प्रचार गर्ने कामलाई तीव्रता दिइरहेको थियो । त्यसका लागि विराटनगर महानगर, विराटनगर भन्सार कार्यालय, स्थानीय प्रहरीसमेतका निकाय सक्रिय रहेका थिए । नेपालमा अनिवार्य भन्सारको नियम लागू भएसँगै दैनिक पाँच करोडसम्मको ब्यापारिक कारोबार हुुने भारतीय बजार जोगवनी पहिलो दिन प्रायः सुनसान बन्न पुगेको थियो । तर उक्त नियम कति समयसम्म लागू हुन्छ ? भन्नेमा भने प्रश्न उठ्न थालेको छ ।

यसअघि घरायसी प्रयोजनका लागि थोरै परिणाममा ल्याइने सामानमा भन्सार महसुल अनिवार्य थिएन । व्यापारिक प्रयोजनका सामानमा मात्रै भन्सार शुल्क लिने गरिएको थियो । थोरै परिणामको मरमसला, पाँच किलोसम्म चिनी, ५० किलोसम्म चामल, केही पिस कपडालगायत घरायसी प्रयोजनका लागि ल्याउने गरिएका सामान नेपाली उपभोक्ताले भारतबाट भन्सार नतिरी ल्याउने गरेका थिए । सामान्य मानिसलाई दिएको सुविधा दुुरुपयोग गर्दै प्रहरी र भन्सारमा रहेको बीओपी सशस्त्र प्रहरी पोस्टले ठूला ब्यापारीसँग सेटिङ गरी तस्करीको लाइन नै सञ्चालन गर्न थालेपछि महानगरले उक्त कदम चालेको हो ।

नेपालमा भन्दा भारतमा सामान सस्तो पाइने भन्दै घरायसी प्रयोजनका लागि भनेर सीमापारिको जोगवनी बजारमा किनमेलका लागि जाने नेपालीको घुइँचो लाग्ने गरेको थियो । सीमावारिको विराटनगरलगायतका बजार भने सुनसान हुन्थे । नेपाली बजारको व्यापार खस्किएको थियो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भारतीय बजारमा खरिद गरिएका मालसामान भन्सार पास गरेर मात्रै नेपाल भित्र्याउन भन्सार नाकामा कडाइ गरिएको जानकारी दिए । उनका अनुसार अब उपभोक्ताले खरिद गरेर ल्याउने सबै सामानमा भन्सार महसुल अनिवार्य गरिएको छ । जति परिणामको सामान भए पनि अब भन्सार नतिरिकन ल्याउन पाइने छैन । भारतीय बजार जोगवनी नगएर विराटनगरमै सामान खरिद गर्न पनि महानगरवासीलाई महानगरले अपिल गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया