Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिगमद्वारा जहाजको ८३ करोड ऋण भुक्तानी

निगमद्वारा जहाजको ८३ करोड ऋण भुक्तानी


काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ८३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको २०८० साल असार महिनाको किस्ताबापतको सो रकम भुक्तानी दिएको हो ।

यसअघि निगमले २०७९ साल असारदेखि चैतसम्ममा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ किस्ता रकम भुक्तानी गरेको थियो । व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुँदै गएकाले यो रकम तिर्न सक्षम भएको निगमले जनाएको छ । नियमित तथा आकस्मिकरूपमा हुने जहाज मर्मतसम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको निगमले जनाएको छ । यस्तै, विभिन्न निकायमा रहेका पुराना बक्यौता रकम तिरिएको तथा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दै आएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने तीनवटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्ययोजना समेत तीव्र गतिमा अघि बढाइएको निगमले जनाएको छ । निगमले नयाँ जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा दिन सकिने, पर्यटन प्रवद्र्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा समेत प्रभावकारी हुने विश्वास लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया