ज्याला वृद्धिको माग राख्दै चिया श्रमिक आन्दोलित
झापा । झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलनमा उत्रिएका छन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले न्यूनतम पारिश्रमिक पनि नपाएका कारण आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताए ।
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त आन्दोलन घोषणा गरेको उपाध्यक्ष राईले जानकारी दिए । आफ्ना मागका बारेमा असार ५ गते नै उद्योगीलाई अवगत गराइएको र साउन १ गतेदेखि आन्दोलन सुरु गरिएको उनले जानकारी दिए । उपाध्यक्ष राईका अनुसार श्रम ऐन, २०७४ अनुसार हरेक श्रमिकले न्यूनतम ज्याला पाँच सय ७७ रुपैयाँ पाउने उल्लेख छ । तर चिया बगान र प्रतिष्ठानले ज्यालाबापत चार सय ३७ रुपैयाँ मात्र दिइरहेका छन् ।
श्रमिक सङ्गठनले नेपाल चिया उत्पादक संघ, साना किसान चिया सहकारी संघ, नेपाल चिया विकास निगम, शुभ चिया उद्योगलगायतका संस्थामा आफ्नो मागबारे ध्यानाकर्षण गराउँदै आन्दोलनको जानकारी दिएका छन् ।
श्रमिकले चिया बगान तथा प्रतिष्ठानमा एक सातासम्म कालो झण्डा राख्ने र त्यस बेलासम्म पनि मागको सुनुवाइ नभए अर्को चरणको आन्दोलन घोषणा गर्ने उपाध्यक्ष राईले बताए । श्रम ऐन, २०७४ को दफा १० मा भएको व्यवस्थाबमोजिम सेवा र सुविधा हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा अनिवार्य समावेश गरिनुपर्ने, अनिवार्य श्रम सम्झौता गरिनुपर्ने र महँगी तथा अतिरिक्त कामका आधारमा भत्ता दिइनुपर्ने श्रमिक सङ्गठनको माग रहेको छ ।
‘चिया बगानका श्रमिकले अहिले पाइरहेको ज्यालाबाट बिहान बेलुकाको छाक टार्न पनि पुग्दैन’, उपाध्यक्ष राईले भने, ‘हरेक वर्ष आन्दोलन गर्नु परिरहेको छ । आन्दोलन सुरु भएपछि आश्वासन मात्र पाइएको छ । राज्यले बनाएका कानुनबमोजिम नै हामीले ज्याला पाउनुपर्छ भनिरहेका छौँ ।’ दिनानुदिन महँगी बढिरहेको हुँदा सोही आधारमा २० प्रतिशत ज्याला वृद्धि हुनुपर्ने र हरियो पत्ती टिपाइमा ठेक्काभन्दा बढी पत्तीको डबलीको दर वृद्धि गर्नुपर्ने श्रमिकको माग रहेको छ । झापामा एक सय ३२ वटा साना चिया बगान र ६९ वटा ठूला तथा संस्थागत चिया बगान सञ्चालनमा रहेका छन् । झापामा लगभग दश हजार हेक्टरमा चिया खेती हुने गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया