Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंका यात्रुसँग ट्राफिक प्रहरीको ‘दुई मिनेट’

काठमाडौंका यात्रुसँग ट्राफिक प्रहरीको ‘दुई मिनेट’


काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको साताव्यापी ‘यात्रुसँग दुई मिनेट’ कार्यक्रम सञ्चालनमा आएको छ । ट्राफिक चेतनामूलक सो कार्यक्रम बुधबारदेखि सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सुन्धारास्थित काठमाडौं मलअगाडि रहेको बस बिसौनीमा सो कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए । कार्यक्रममा ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गर्ने गरिएको पोखरेलले जानकारी दिए ।

कार्यक्रमकोे सुरुवात गर्दै प्रहरी नायब महानिरीक्षक पोखरेलले नियम विपरीत सवारी चलाएमा, बढी भाडा लिएमा, दु्व्र्यवहार गरेमा र आरक्षण सिटको पालना नगरेमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न यात्रुलाई अनुरोध गरे ।

जथाभावी सवारी चढ्ने र ओर्लने, झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्नेजस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएका छन् । सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले उक्त कार्यक्रमको सुरूवात गरेको हो ।

कार्यक्रममा ‘बस बिसौनीबाट मात्र गाडी चढौं, सवारी साधनमा हुने पकेटमारीबाट बचौं, सवारी साधनमा हुने दुर्व्यवहार र अन्य आपराधिक क्रियाकलापबाट बचौं’लगायत यात्रुले पैदल हिँड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारीसहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको छ ।

ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानरसमेत प्रदर्शन गरिएको छ । यात्रुको आवतजावत बढी हुने स्थान काठमाडौंको न्युरोड, शान्तिवाटिका, कालीमाटी, कलंकी, महाराजगञ्ज, चाबहिल, गौशाला, कोटेश्वरलगायतका भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया