Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन हुने

तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन हुने


काठमाडौं । आगामी भदौ ८ गते काठमाडौंमा युवा उद्यमशीलता शिखर सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट(एनबीआई) को संयुक्त आयोजनामा सम्मेलन हुने भएको हो ।

सम्मेलन आयोजनासम्बन्धी समझदारी पत्रमा बुधबार राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् । युवालाई उद्यमी बन्न प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमलाई सहजीकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवा उद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० को निर्माण एवम् कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धिमूलक हुने युवा परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले बताए । सम्मेलनमा ६० जिल्लाका पाँच सय युवा उद्यमीहरू सहभागी हुनेछन् ।

एनबीआईका कार्यकारी अध्यक्ष एवम् सम्मेलन मूल आयोजक कमिटीका संयोजक विशाल गैरेले तेस्रो संस्करण ‘युवा नवप्रवर्तन : लगानी र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने बताए । गैरेले कोभिड १९ र पछिल्लो वित्तीय चुनौतीको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरूको आकर्षण बनाउनका लागि सम्मेलन गर्न लागिएको जानकारी दिए । सम्मेलनमा युवा उमेर समूहका उद्यमी बन्न चाहने युवाहरू, उद्यम गरिरहेका युवाहरू र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबीचको उच्चस्तरीय सञ्जालीकरण हुने बताइएको छ ।

यसैगरी युवाहरूमा वित्तीय पहुँच, सरकारी नीति, कर नीति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समूहगत छलफल र स्टार्टअप बिजनेसबारे युवा उद्यमीको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा सम्मेलन महत्वपूर्ण हुने संयोजक गैरेले बताए । सम्मेलनलमा युवा उद्यमशीलताको विकास, प्रवद्र्धन र विस्तारबारे उच्चस्तरको परिसंवाद, अनुभव आदानप्रदान, सफल युवा उद्यमीहरूको प्रस्तुति, कम्पनी दर्ता र उद्यमी कर्जा डेक्समार्फत् परामर्श, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको प्रदर्शनी, लगानी सम्झौतालगायतका कार्यक्रमहरू रहेका छन् । सम्मेलनमा विभिन्न सरकारी निकाय, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायको सहभागिता रहने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया