स्थानीय विकासका लागि राजस्वको सदुपयोग
काठमाडौं । नेपाल एक अति कमविकसित देश भएकाले यहाँका जनताको आवश्यकता धेरै हुने र वित्तीय साधनस्रोतहरू कम हुने भएकाले यिनीहरूबीच सन्तुलन कायम गर्न कठिन छ । एकतर्फ यहाँ उपलब्ध स्रोत तथा साधनलाई आजसम्म पनि उपयुक्त किसिमबाट परिचालन गर्न सकिएको छैन भने अर्कोतर्फ आयोजनाहरू छनोट एवम् कार्यान्वयन यथोचित परिपाटीबाट हुन नसकेकाले पूर्वनिर्धारित लक्ष्य प्राप्त गर्न नसकिएको कुरा सर्वविदित छ ।
नेपालका स्थानीय तहहरूमा सेवा प्रवाह गर्न र विकास निर्माण कार्यहरू सञ्चालन गर्न आवश्यक हुने वित्तीय स्रोतसाधनको अभाव नहोस् भनेर यहाँको कानुनमा व्यवस्था गरिएको छ । योबाहेक यहाँका तीनै तहका सरकारको काम, कर्तव्य र अधिकारमा दोहोरोपना नहोस् भनेर यस सम्बन्धमा छुट्टाछुट्टै व्यवस्था गरिएको छ । उक्त तीनै किसिमको सरकारको काम सञ्चालन गर्न आवश्यक वित्तीय स्रोत तथा साधनहरू जुटाउने सम्बन्धमा पनि यहाँको कानुनले नै व्यवस्था गरेको छ ।
जनताको घरदैलोसम्म पुग्ने स्थानीय सरकारहरू हुन् । यिनीहरू आर्थिकरूपले सक्षम छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले आय प्राप्त गर्ने सम्बन्धमा विशेष अधिकार प्रदान गरेको छ जसमा विभिन्न स्थानीय करहरू पर्छन् । स्थानीय कर भन्नाले सम्पत्ति कर, घर बहाल कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी शुल्क, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क दस्तुर, विज्ञापनको, व्यवसायको कर, भूमिकर (मालपोत), दण्डजरिवाना, मनोरञ्जन कर, आदि पर्छन् । यी करहरू उपयुक्त समयमा उठाई सदुपयोग गर्नु प्रत्येक स्थानीय सरकारको कर्तव्य हो ।
स्थानीय सरकारहरूले गर्नुपर्ने काम धेरै छन् । जसका लागि स्रोत तथा साधनहरू सीमित भएकाले विभिन्न संघसंस्थाहरूसँग समन्वय गर्ने काम चुनौतीपूर्ण छ । तर यसलाई डराएर होइन डटेर सामना गर्नुपर्ने छ । स्थानीय सरकारहरूले उठाउन सक्ने स्थानीय करहरू छँदैछन् । कहिलेकाँही उठाएको कर नपुग हुन सक्छ । यस्तो समस्या नआओस् भनेर केन्द्र र प्रदेश सरकारले अनुदान उपलब्ध गराउने व्यवस्था पनि छ । यस्ता अनुदान साधारणतया निश्चित कार्यक्रममा खर्च गर्ने गरी प्रदान गरिन्छ । कुनै आयोजना वा कार्यक्रममा कुल लागतको अनुपातको आधारमा समपूरक अनुदान उपलब्ध गराइएको हुन्छ भने विशेष योजना नै तोकेर दिइने अनुदानलाई विशेष अनुदान भनिन्छ । यसको खर्च कानुनले तोकेबमोजिम गर्नुपर्नेछ ।
स्थानीय सरकारहरू सक्षम हुन सकून् भनेर कानुनले नै राजस्व लगाउने, उठाउन, असुल गर्न, खर्च गर्न, लेखापरीक्षण गर्न र यसले औैल्याएका बेरुजु फछ्र्यौट गर्न गराउन नसकेको अवस्थामा अनुदान उपलब्ध गराएर भए पनि स्थानीय जनतालाई सके प्रवाह तथा विकास निर्माण कार्यहरू गर्न वित्तीय स्रोतसाधनहरूको अभाव हुन नदिने व्यवस्था पनि छ । तर यसलाई व्यवहारमा उतार्ने काम जनप्रतिनिधिहरूको हो ।
सधैं नै केन्द्रीय तथा प्रदेश सरकारहरूले स्थानीय सरकारलाई अनुदान दिन सक्दैनन् । यही कारणले यिनीहरूले आन्तरिक आम्दानी बढाउन उपयुक्त योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्नेतर्फ अग्रसर हुनुपर्छ । कोभिड–१९ को विश्वव्यापी महामारी र रुस–युक्रेन युद्धको कारणले आज विश्व अर्थतन्त्र नै खुम्चिएको छ । यसको प्रभाव नेपालमा परेकाले यहाँको राजस्वमा कमी आउनु स्वाभाविक हो ।
अन्तर्राष्ट्रिय जगत्मा नै मूल्यवृद्धि भएकाले आयातमा आधारित नेपालको अर्थतन्त्रमा पनि मूल्यवृद्धि भएको छ । जसको कारण यहाँका विपन्न जनता मारमा परेका छन् । यहाँबाट निर्यात नगण्य भएको र आयात भने प्रचुर मात्रामा वृद्धि भई व्यापार घाटा चुलिएकाले यहाँको अर्थतन्त्रमा सुधार आउन अझ केही समय पर्खनुपर्ने विज्ञहरूको भनाइ छ । तसर्थ, आगामी दिनहरूमा स्थानीय सरकारलाई दिइने अनुदानमा केही कटौती हुने प्रबल सम्भावना छ । त्यसैले अनुदानका लागि केन्द्रीय तथा प्रदेश सरकारमा निर्भर हुने स्थानीय सरकारहरूले भविष्यमा आन्तरिक राजस्व वृद्धि गर्नेतर्फ विशेष पहल गर्नुपर्ने देखिन्छ । यसो गर्न सकेमा यिनीहरू आगामी दिनमा आत्मनिर्भर हुनेछन् ।
स्थानीय विकासका लागि राजस्व अभिवृद्धि गर्न नित्तान्त आवश्यक छ । परन्तु, खस्किँदै गएको यहाँको अर्थतन्त्रमा राजस्व बढाउन स्थानीय करहरू बढाउन सान्दर्भिक देखिँदैन । बरु यसको सट्टामा बक्यौता रकम असुल गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुनु जरुरी छ ।
विकास एक निरन्तर प्रक्रिया हो । जसको लागि राजस्वको महत्वपूर्ण भूमिका हुन्छ । विकास र राजस्व एक आपसमा निर्भर हुन्छन् । किनभने राजस्व नभएमा कुनै पनि क्षेत्रको विकास गर्न सकिँदैन भने विकास नभएमा सरकारले राजस्व प्राप्त गर्न सक्दैन । यी दुवैको उद्देश्य देशलाई सकारात्मक दिशातिर उन्मुख गराएर चौतर्फी विकास गर्नु हो । राज्य सञ्चालनमा राजस्वको धेरै आवश्यकता हुन्छ । जुन नभएमा राज्यले जनतालाई न त सुखसुविधा प्रदान गर्न सक्छ न त विकास निर्माणका काम गर्न नै सक्छ ।
नेपालले संघीय शासन पद्धति अपनाएको छ । जसअन्तर्गत विभिन्न तहमा सरकार गठन गरिएको छ । नागरिकहरूको घरदैलोमा सेवा उपलब्ध गराउन हाल यहाँ केन्द्र, प्रदेश र स्थानीय सरकार गरी सात सय ५३ वटा सरकार गठन गरिएका छन् । यिनीहरूले गर्नुपर्ने कामका लागि आवश्यक पर्ने वित्तीय स्रोतसाधनहरू ऐन–कानुनबाट निर्धारण गरिएका छन् ।
संघीय शासन प्रणालीअन्तर्गत विभिन्न तहमा सरकार गठन गरिने हुँदा तल्लो तहसम्म पनि सरकारको उपस्थिति हुन्छ । त्यसैले स्थानीय जनताका आवश्यकताहरू सहजै पहिचान गर्न सकिन्छ । कानुनतः उक्त सरकारका आयका स्रोतहरूको पनि व्यवस्था गरिएकाले स्थानीय जनताका आवश्यकता परिपूर्ति गर्न कठिन छैन । केवल सम्बन्धित जनप्रतिनिधिहरूको सक्रियताको आवश्यकता छ ।
वर्तमान समयमा सबै तहका सरकारले जनतालाई सेवा सुविधा प्रदान गर्नुको साथै उनीहरूको जीउधनको पनि सुरक्षा गर्नुपर्छ । तर यो कुरा नौलो होइन किनभने यसका लागि जनताले राजस्व बुझाउँछन् । राजस्वको मूल स्रोत भनेको नेपालको संविधान हो, जुन कानुनको मूल स्रोत भएकाले जुनसुकै सरकारले जति आम्दानी गरे पनि त्यो उक्त संविधानले दिएको अधिकारभित्र रहेर गर्नुपर्छ । प्रत्येक सरकारले करको संवेदनशीलतालाई मध्यनजर गरेर कर लगाउने र उठाउने गर्दछ । जनताले निर्वाचित गरेर पठाएका सांसदहरूले करसम्बन्धी प्रस्ताव पारित गरेपछि मात्र सरकारले कर लगाउन र उठाउन पाउँछ । प्रत्येक सरकारलाई जहिले राजस्वको आवश्यकता पर्छ । त्यसैले यहाँ छरिएर रहेका सबै सरकारले जनताका लागि जनताबाट असुल गरेको राजस्वको अधिकतम सदुपयोग गर्नुपर्छ । यस्तो गर्न सकेमा मात्रै विकास तीव्र गतिमा हुन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया