Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदभारत र पाकिस्तानका ब्याटर र बलरका चुनौती नेपालले एशिया कपमा कसरी सामना गर्ला?

भारत र पाकिस्तानका ब्याटर र बलरका चुनौती नेपालले एशिया कपमा कसरी सामना गर्ला?


काठमाडौं,टेस्ट खेल्ने राष्ट्र (आइसीसीको पूर्ण सदस्यता प्राप्त) र नखेल्ने राष्ट्रका टोली बीचमा खेलस्तरको स्पष्ट भिन्नता हुने गर्छ। त्यही भिन्नताले नै क्रिकेट राष्ट्रहरूको वर्ग छुट्टिने हो।

अर्को महिना श्रीलङ्का र पाकिस्तानमा हुने एशिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको चुनौती यही दूरी मेटाउनु हुनेछ। त्यहाँ नेपालले भारत र पाकिस्तानको सामना गर्दै छ।

क्रिकेट विश्लेषकहरू भन्छन्, “नेपाली क्रिकेट टोलीले २७ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्राको क्रममा यो अहिलेसम्मकै कठिन चुनौतीको सामना हुनेछ।”

छनक
त्यो चुनौती कतिको गाह्रो हुन सक्छ भन्ने छनक नेपालले भर्खरै भारत र पाकिस्तानका दोस्रो दर्जाका टोलीहरूसँग खेल्दा नै महसुस गरिसकेको छ।

श्रीलङ्कामा भएको एसीसी इमर्जिङ टीम्स एशिया कपमा पाकिस्तान ‘ए’ सँग खेल्दा नेपालले १० ओभर भित्र ६ विकेट गुमाइसकेको थियो।

भारत ‘ए’ सँग पनि नेपालको हालत उस्तैउस्तै जस्तो देखिएको थियो।

अब त नेपालले सामना गर्ने भनेको विराट कोहली र बाबर आजम जस्ता खेलाडीको ब्याटिङ तथा जसप्रित बुमरा र साहिन अफ्रिदीको बलिङसँग हो।

यी चुनौतीलाई कम्तीमा ‘साहसिक र अविस्मरणीय’ प्रदर्शनमा परिणत गर्न नेपालले के कस्ता पक्षमा सुधार गर्नुपर्ला ?

कमजोरी

नेपाल क्रिकेट सङ्घ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक भन्छन्, “एउटा शारीरिक र अर्को मानसिक तयारी हो।”नेपाली टोलीमा कमजोर शारीरिक क्षमता देखिएको छ।

अनि विपक्षीको तीव्र गतिको बलिङको सामना गर्न नसक्नु नेपालको मुख्य कमजोरी साबित भइसकेको छ।नेपालले विगतमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यति तीव्र गतिका बलरहरूलाई कमै मात्र झेलेको देखिन्छ।

पाकिस्तानी साहिन अफ्रिदीको तीव्र गतिको उच्च नाप १५१ किलोमिटर प्रतिघण्टाको छ, जुन सन् २०२१ मा न्यूजील्यान्डविरुद्धको आइसीसी टी-२० विश्वकपका बेला नापिएको थियो।

जसप्रित बुमराको गति त झन् १५३.३६ किलोमिटर प्रतिघण्टा छ। प्रतियोगिताको दौरान कुनै पनि टोलीले आफ्नो विपक्षीको कमजोरी मै प्रहार गर्ने गर्छन्।

प्राय: युवा अनि होचा कदका खेलाडीहरूको बाहुल्यता रहेको नेपाली टोलीको शारीरिक तथा मानसिक कमजोरी इमर्जिङ टीम्स एशिया कपमा प्रस्ट देखिएको कैयौँ जानकारहरू बताउँछन्।

इमर्जिङ टीम्स एशिया कपमा फिल्डिङका बेला सहज ‘क्याच’हरू छोड्दा नेपाली खेलाडीहरूमा मानसिक कमजोरी झल्किएको देखिएको थियो।

त्रिभुवन विश्वविद्यालयका खेलकुद मनोविज्ञानका प्रोफेसर रामकृष्ण महर्जन भन्छन्, “हामी सबल र सक्षम छौँ भन्ने आत्मबललाई बलियो बनाइ रहन सके खेलाडीहरूले आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन्।”

आशङ्का

सुरुका तीव्र गतिका बलहरूको सामना गर्न सके मात्र खेलाडीहरूले स्पिनरको सामना गर्न पाउनेछन्। त्यति बेलासम्म नेपाली खेलाडीहरू टिक्छन् कि टिक्दैनन् भन्ने डर कतिपय क्रिकेट प्रेमीहरूलाई छ।

खेल पत्रकार देवेन्द्र सुवेदी भन्छन्, “जिम्बाब्वे र वेष्ट इन्डिजसँग खेलेको प्रदर्शन दोहोर्‍याउने हो भने पनि टेस्ट राष्ट्रसँगको खाडल कम गर्न सकिन्छ।”

यद्यपि अन्तर्राष्ट्रिय खेलहरूमा हासिल गरेको अनुभवका हिसाबमा नेपाली खेलाडीहरू कमजोर भने होइनन्। सोमपाल कामीले इमर्जिङ टीम्स कपमा त्यो कुरा प्रमाणित गरिसकेका छन्।

सो प्रतियोगितामा नेपालले भारत र पाकिस्तान ए सँग किन सुरुमा ब्याटिङ लियो भन्ने थुप्रैलाई कुतूहल देखिएको थियो।
आइसीसी अम्पायर समेत रहेका सुवेदी भन्छन्, “अब पाकिस्तान र भारतसँग खेल्नुपर्ने हुनाले नयाँ पिचमा नयाँ बलमा खेलाडीहरू कसरी खेल्छन् भनेर नै ब्याटिङ रोजिएको हुनुपर्छ। किनकि दोस्रो इनिङमा बलिङ गर्दा पिचमा त्यो धार बाँकी रहन्न।”

अभ्यास
क्यानका कार्यवाहक सचिव पाठकका अनुसार “बढी भन्दा बढी तयारी नै एक मात्र उपाय” हो। त्यसको पहिलो पाइलाको रूपमा खेलाडीहरूलाई श्रीलङ्कामा नै दुई हप्ता ‘हाई पर्फर्मेन्स क्याम्प’ तयारीको व्यवस्था गरिएको छ।

इमर्जिङ टीम्स एशिया कप खेल्न श्रीलङ्का पुगेको टोलीलाई क्यानको अनुरोधमा श्रीलङ्काको क्रिकेट बोर्डले उक्त व्यवस्था मिलाएको र दुई हप्ताको बीचमा श्रीलङ्काको राम्रो टोलीसँग ४ वटा तयारी प्रतिस्पर्धा हुने क्यानले जनाएको छ।

श्रीलङ्काबाट फर्केपछि खेलाडीहरूको प्रशिक्षणको अभियान झन् तीव्र बनाउने क्यानको योजना रहेको छ। कार्यवाहक सचिव पाठक भन्छन्, “हामीले तीव्र गतिको बलरहरूसँग खेल्ने तयारीका लागि टोलीलाई पाकिस्तान नै लाने योजनामा काम गरिरहेका छौं।”

एशिया कप पाकिस्तान र श्रीलङ्कामा हुनेछ। नेपालले पाकिस्तानसँग भदौ १३ गते पाकिस्तानको मुल्तानमा र भारतसँग भदौ १८ गते श्रीलङ्काको केन्डीमा खेल्नेछ।

अर्को समूहमा बाङ्ग्लादेश, श्रीलङ्का र अफगानिस्तान छन्। (बीबीसी)


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया