Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहस्तकला ऐन पारित गर्न माग

हस्तकला ऐन पारित गर्न माग


काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला ऐन पारित गर्न माग गरेको छ । महासंघले हस्तकला क्षेत्रको प्रभावकारी विकासका लागि आवश्यक नीति नियमहरूको तर्जुमा गरी यथाशीघ्र ऐन पारितको प्रक्रिया अघि बढाउन बाग्मती प्रदेश सरकारसँग माग गरेको हो ।

मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूसँगको छलफलमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपाली हस्तकला वस्तुहरूको सूची, यस क्षेत्रको विकास तथा प्रवर्द्धनमा भएका नीतिगत पैरवी, विद्यमान समस्याहरू र भावी योजना तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए । उनले बागमती प्रदेशमा ८० प्रतिशतभन्दा बढी हस्तकला विद्यमान रहेको भन्दै हस्तकला ग्राम स्थापनाका लागि आवश्यक नीति तर्जुमा गर्न पनि आग्रह गरे ।

यसैगरी, सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण सम्पन्न भइसकेकाले सो केन्द्रको सञ्चालनार्थ महासंघलाई हस्तान्तरण गर्न पनि उनीहरूले माग गरेको महासंघले जनाएको छ । यस्तै, प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यले हस्तकला युवा वर्गलाई स्वरोजगार र आय आर्जनको प्रमुख स्रोत हुने हुँदा हस्तकला ऐन चाँडो पारित गर्नुपर्नेमा जोड दिए ।

छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हस्तकला व्यवसाय मात्र नभई नेपालको सम्पदा, कला, संस्कृति, रीतरिवाज, धर्मलगायत राष्ट्रकै समग्र पहिचान भएको बताए । सरकार परिवर्तन भए पनि सरकारको आधारभूत नीति परिवर्तन हुन नहुनेमा उनले जोड दिए । उनले सरकारको तर्फबाट अविलम्ब हस्तकला ऐन पारित गराउने प्रक्रिया अघि बढाउने आश्वासन पनि दिएका छन् ।

बैठकमा सहभागी र्आिर्थक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले हस्तकला ऐन चाँडो पारित गराउने गरी विधेयक संसद्मा लैजाने आश्वासन दिए । हस्तकलाको मोल नहुने बताउँदै यसलाई उपभोक्ताले भवन, क्वार्टर बनाउँदा प्रयोग गर्नुपर्नेमा जोड दिए । पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले हस्तकला उद्योग व्यवसायलाई परिष्कृतरूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै वातवरण अनुकूल बनाउनुपर्नेमा जोड दिए । यस्तै, मन्त्री रामकृष्ण चित्रकारले हस्तकला नेपालको मौलिक पहिचान भएको, संस्कृति र सम्पदासँग जोडिनुका साथै बागमती प्रदेशको महत्वपूर्ण आर्थिक मेरुदण्ड भएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया