नेपाल–पाकिस्तान हवाई सेवा सञ्चालन गर्न चेम्बरको माग
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल–पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत अब्बर हुसैन हास्मीसँग भएको छलफलमा चेम्बरले सिधा हवाई सेवा सञ्चालनका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो ।
दुई मुलुकबीचको व्यापार सहजीकरण एवम् पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेकोतर्फ चेम्बरको जोड थियो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको आर्थिक, व्यापारिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र निजी क्षेत्रमा पनि सहकार्य गराउन उनले राजदूत हास्मीसँग आग्रह गरे । उनले भने, ‘नेपाल र पाकिस्तानबीच हवाई दूरी जम्मा तीन घण्टाको छ । यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन विस्तार गर्न सकिन्छ । सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधि बढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन् ।’
काठमाडौं कराँचीबीच सिधा हवाई सेवा सञ्चालन गर्न सकिए व्यापार सहजीकरण हुने र व्यापार घाटा पनि कम गर्न सकिने उनको बुझाइ थियो । यस्तै, पर्यटन गतिविधि बढाउन पनि सहज हुने अध्यक्ष मल्लको विश्वास छ । पाकिस्ताबाट वार्षिक औषत चार हजार हाराहारीमा पर्यटक नेपाल घुम्न आउने गरेका छन् । ‘दुई मुलुकबीचको सीधा हवाई सेवा विस्तार हुने हो भने हालको व्यापार र पर्यटकीय गतिविधिलाई १० गुणासम्मले वृद्धि गर्न सकिन्छ’, उनले भने । यस्तै, दुई देशका निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा पनि सहयोग गर्न उनले आग्रह गरे । चेम्बर र पाकिस्तान चेम्बर अफ कमर्सबीच थुप्रै क्षेत्रमा व्यापारिक सहकार्यको सम्भावना रहेको उनको भनाइ छ । त्यसका लागि उच्चस्तरीय भेटवार्ताका लागि आफूहरू तयार रहेको अध्यक्ष मल्लले बताए ।
निजी क्षेत्रबीचको सहकार्यमार्फत, हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा संयुक्त लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको मल्लले बताए । पाकिस्ताबाट नेपालले अहिले औषधी, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी वस्तु, जुत्ता, चप्पललगायतका वस्तु आयात गर्दै आएको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागोलगायतका वस्तु निर्यात गर्ने गरेको छ ।
नेपालका लागि पाकिस्तानी राजदूत हास्मीले पनि हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताए । नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाइदा हुनेगरी आर्थिक सम्भावनाका क्षेत्रहरूको पहिचान गर्नुपर्नेमा हास्मीले जोड दिए । यसका लागि प्राथमिकताका क्षेत्रहरू पहिचान हुनुपर्ने उनको भनाइ छ । दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले पहल गर्ने राजदूत हास्मीले प्रतिबद्धता जनाएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया