Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगुण्डागर्दी गरेर फिरौती उठाउने ढकालले सुनको ग्राहकलाई नठग्ला ?

गुण्डागर्दी गरेर फिरौती उठाउने ढकालले सुनको ग्राहकलाई नठग्ला ?


काठमाडौं । समाजमा गुण्डागर्दी गरेर फिरौती असुल्ने व्यक्तिले सुनको पसल खोलेर गहनाको व्यापार ग¥यो भने सुन किन्ने ग्राहकको सुरक्षा कस्तो होला ? त्यस्तो व्यक्तिले सुनको तौलमै बदमासी गरेको खुल्यो भने ग्राहकले प्रतिरोध गर्न खोज्यो भने त्यो ग्राहकको हालत के होला ? त्यस्तो बाहुबली सुनपसलेले गहना बनाउँदा चाहिनेभन्दा बढी मात्रामा रसायन प्रयोग गरेर गहनामा सुनको मात्रा घटायो भने ग्रहकले त्यसको विरोध गर्दा त्यो ग्राहकले के हालत व्यहोर्नु पर्ला ?

खाद्यान्न वा निर्माण सामग्रीको व्यापारजस्तो होइन सुनको व्यापार । त्यस्ता सामग्रीको किनबेचमा एक दुई किलो तलमाथि भयो भने पनि ग्राहकले केही भन्दैनन्, केही माने रहँदैन । त्यसलाई सामान्यरूपमा नै लिइन्छ । तर, सुनको व्यवसाय गर्नेले एक तोला तलमाथि गर्दा ग्रहकको लाख रुपैयाँभन्दा बढी फरक पर्दछ । एक लाल सुन मात्रै तलमाथि हुँदा पनि ग्राहकको हजारौँ रुपैयाँ तलमाथि पर्दछ ।

कानुन हातमा लिएर गुण्डागर्दी गर्ने त्यस्तो व्यक्तिको मूल उद्देश्य जसरी पनि धन जम्मा गर्नु हो । तिघ्राको निसाफ गरेर समाजमा फिरौती उठाउँदै हिँड्ने व्यक्तिको इमानजमान, नैतिकता र व्यावसायिक मर्यादा र धर्म केही हुँदैन । त्यस्तो व्यक्तिको मूल धर्म जसरी पनि रकम उठाउनु हो । त्यस्तो व्यक्तिले सुनपसल खोल्यो भने उसले ग्राहकलाई कति ठग्ला ? कसरी ठग्ला ? यो इमानजमान भएका व्यक्तिको कल्पनाबाहिरको कुरो हो । तर, त्यस्तै एउटा व्यक्तिले सुकेधारा नीलोपुल छेउमा, धुम्बाराही पीपलबोट नजिक, बूढानीलकण्ठ र शान्तिनगरमा अर्कै व्यक्तिको नाममा छुट्टाछुट्टै सुनपसल सञ्चालन गरेर ग्राहकलाई सेवा दिइरहेको छ । त्यो व्यक्तिको नाम हो, कमल ढकाल । उनको देखावटी काम हो सुनपसल । ढकालको खास काम त्यस क्षेत्रमा दादागिरी गर्ने, व्यवसायीहरूलाई तर्साउने, प्रहरी प्रशासनलाई प्रभावमा पारेर फिरौती उठाउने र बाँडीचुँडी खाने हो भन्ने कुरा अब कसैबाट छिपेन । एनआरके फिटनेसमा ढकालले गरेको गुण्डागर्दी र फिरौतीको प्रयास अहिले प्रहरी प्रशासनको निगरानीमा पुगेको छ र उसको त्यो हर्कतलाई समाचार बनाएपछि पत्रकारलाई ज्यान मार्ने धम्की दिएको विषय पनि कारबाहीको प्रक्रियामा पुगेको छ ।

सम्पर्कस्थलका रूपमा ढकालले ती दुई सुनपसल सञ्चालन गरेको पनि अब कसैबाट छिपेन । सुकेधारा नीलो पुलको आक्रिया गोल्ड प्यालेस एन्ड ह्यान्डीक्राफ्ट प्रालि, धुम्बाराही पीपलबोट छेउमा रहेको एके गोल्ड प्यालेस, बूढानीलकण्ठमा रहेको रोयल ग्यालरी कलेक्सन र शान्तिनगरमा रहेको किङ्स कलेक्सन गुण्डागर्दी गर्ने ढकालका देखाउने दाँत मात्र हुन् । यी ढकालका स्टेसन हुन्, सम्पर्कस्थल मात्र हुन् भन्ने कुरालाई सय किलो सुन समातिएपछि उसले देखाएको विक्षिप्त रूपले संकेत गरेको छ । ढकालको यो लगानी नै शंकास्पद देखिएको छ । स्रोत नखुल्ने लगानी र त्यसको आडमा भएको गुण्डागर्दी एवं फिरौती संकलन र धन्दा आफैँमा एउटा छानबिनको विषय बन्न पुगेको छ ।

एयरपोर्ट बाहिर सुन समातिएपछि त्यो सुन छुटाउन सहयोग गर्ने गिरोहमा ढकालको संलग्नताको आशंका गरेर खुफिया एजेन्सीहरूले उसलाई निगरानीमा राखेको बुझिएको छ । परिवर्तन राई, राजेन्द्र राई, सुमन निरौला, पशुपति गुरुङसँगै कमल ढकालको पनि नाम जोडिएको छ ।

जसरी पनि धनी हुने महत्वाकांक्षा बोकेर समाजमा जेसुकै गर्न पछि नपर्ने ढकालजस्ता व्यक्ति यस्ता गलत धन्दामा जोडिने हुन्, इमानजमान भएका व्यक्तिले जे पायो त्यही गर्दैनन् । खाडी क्षेत्रबाट कामदारलाई भरिया बनाएर ल्याइने बाला, औँठी, सिक्रीका नाममा हुने सुन तस्करीको एयरपोर्ट गौशाला, शान्तिनगर क्षेत्रका संकलक पनि ढकालजस्तै व्यक्ति हुने हुन् ।

ढकालको गुण्डागर्दी ग्याङको अखडा र क्रियाकलापलाई राम्रोसँग नियाल्ने हो भने त्यसको सहजै संकेत मिल्न सक्दछ । यो छानबिनको अर्कै पाटो हो तर यस्तो धन्दामा हिँडेको व्यक्तिले खोलेको सुनपसलमा ग्राहकलाई तौल मारेर नठगिने कुरा पनि कल्पनाबाहिरको हो । त्यसको विरुद्ध ग्राहकले मुख खोल्यो भने त्यसको हालत के होला त्यो सोच्न पनि सकिँदैन । ठाउँअनुसार कतै व्यवसायी त कतै गुण्डाको रूपमा प्रस्तुत हुने प्रेसविरोधी ढकालले आफूलाई मोर्डन पेन्टाथलोनको खेलाडीका रूपमा पनि प्रस्तुत गर्नेगरेको पाइएको छ । तर, पछिल्लो समय ती सबै बहुरूपी आवरणभित्रको धन्दा खुल्दै गएपछि ढकालको असली रूप उदाङ्ग हुँदै गएको छ ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया