Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोशी प्रदेशमा नयाँ जुुट उद्योग सञ्चालन

कोशी प्रदेशमा नयाँ जुुट उद्योग सञ्चालन


काठमाडौं । कोशी प्रदेशमा नयाँ जुट उद्योग सञ्चालनमा आएको छ । नयाँ उद्योग सञ्चालनमा आएसँगै कोशी प्रदेशमा जुट उद्योगको संख्या छवटा पुगेको छ । मोरङको कटहरी गाउँपालिकामा अमित जैनले पशुपतिनाथ जुट मिल्स सञ्चालनमा ल्याएका छन् ।

लामो समयसम्म विराटनगरका राजकुमार गोल्छाको गोल्छा अर्गनाइजेसनको चार्टर एकाउन्टेन्ट(सीए)का रूपमा कार्यरत जैनले ३० करोडको लगानीमा जुट मिल सञ्चालन गरेका हुन् । जैनले कटहरी गाउँपालिकामा रहेको सीएम जुट मिल्सलाई भाडामा लिएर नयाँ उद्योग स्थापना गरेको जानकारी दिए । उद्योग स्थापनाका लागि ८० करोड लाग्ने अनुमान रहे पनि अनुमानभन्दा ५० करोड कम लागतमा नयाँ जुट उद्योग सञ्चालनमा ल्याएको उनले बताए ।

नयाँ उद्योग स्थापनासँगै जैनले गोल्छा अर्गनाइजेसनको सीएबाट राजीनामा दिएका छन् । जैनले ७ वर्षदेखि बन्द अवस्थामा रहेको सीएम जुट मिल्सका संरचना भाडामा लिएकाले लागत कम परेको बताए । यस्तै जैनले बुढीगंगा गाउँपालिकामा रहेको मालिका रिजालको नेपाल जुटका मेसिनरीहरू प्रयोग गरी रिजाललाई समेत नयाँ जुट मिलको पार्टनर बनाएका छन् ।

उद्योगले परीक्षण उत्पादन सुरु गरिसकेको छ । यस्तै, उद्योगले अगस्ट १ देखि व्यावसायिक उत्पादन गर्ने तयारी थालेको छ । पशुपतिनाथ जुट मिल्सका मुुख्य लगानीकर्ता चार्टर्ड एकाउन्टेन्ड जैन २५ वर्षदेखि गोल्छा अर्गनाइजेसनको जुट उद्योग अरिहन्त मल्टिफाइबर्समा कार्यरत थिए । नेपालमा व्यावसायिक जुुटको कारोबार गर्ने गोल्छा समूह दिनदिनै आन्तरिक कलह र कारोबार अंशबण्डापछि आफैँ थिलथिलो भइरहेको अवस्थामा समूहका कर्मचारीले नै छुट्टै उद्योग स्थापना गर्ने होडबाजी थालेका छन् ।

केही समयअगाडि मात्रै राजलक्ष्मी गोल्छाले सञ्चालन गर्दै आएको हुुलास वायरको म्यानेजरबाट राजीनामा दिई मुुकेश कोठारीले पनि आफ्नै उद्योग सञ्चालनमा ल्याएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया