Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारमौद्रिक नीति कार्यान्वयनले सेयरबजार बढ्ला ?

मौद्रिक नीति कार्यान्वयनले सेयरबजार बढ्ला ?


मौद्रिक नीतिपछि सेयरबजारमा गिरावट आएको छ । गत साताको आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीतिमा ब्याजदर घट्ने व्यवस्था नआएको र सेयर धितोकर्जाको जोखिम भार घटाउन कर्जामा सीमा तोक्ने भएपछि सेयरबजार नकारात्मक बनेको हो ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गरिसकेको छ । मौद्रिक नीतिअनुसारकै निर्देशन जारी हुन्छ कि हुँदैन भन्नेमा धेरैलाई आशंका भएकाले पनि बजारमा गिरावट आएको कतिपयको विश्लेषण छ । सेयर कर्जामा जोखिमभार कम हुँदा बैंकहरूले कम ब्याजदरमा कर्जा दिन सक्छन् । यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा मात्र जोखिमभार एक सय प्रतिशत र त्यसभन्दा माथि एक सय ५० प्रतिशत रहेको थियो । कतिपयले ठूलो कर्जामा अझै पनि जोखिमभार एक सय ५० प्रतिशत कायम राखिएकाले सेयरबजारमा लगानी बढ्ने सम्भावना न्यून भएको बताएका छन् । यहीकारण गतसाता नै सेयरबजारले नकारात्मक बाटो रोजेको विश्लेषण गरिएको छ ।

गतसाता पाँच कारोबार दिनमा आइतबार सेयरबजार ६३ अंकले घटेको थियो । मौद्रिक नीति सार्वजनिक हुँदै गर्दा सेयर लगानीकर्ताले खरिद चाप बढाएका थिए । तर लचिलो भनेर कसिलो मौद्रिक नीति आएको भन्दै विश्लेषण हुन थालेपछि सोमबारदेखि बजारले नकारात्मक प्रतिक्रिया देखाएको छ । यहीकारण सोमबारयता नेप्से परिसूचक एक सय अंकले घट्यो । सातामा समग्रमा बजार ३७ अंक अर्थात् एक दशलमव ७३ प्रतिशतले घटेको छ । अघिल्लो साता नेप्से दुई हजार एक सय ६३ दशमलव ९२ विन्दुमा बन्द भएको थियो ।

एक सातामा १६ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । दैनिक औसत कारोबार तीन अर्ब ३७ करोड रुपैयाँको भएको छ । सोमबार सर्वाधिक चार अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो भने बिहीबार साताकै न्यून दुई अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गतसाता साना किसान लघुवित्तका सेयरधनीले सर्वाधिक ३० प्रतिशतले कमाएका छन् । त्यसपछि मनकामना स्मार्ट लघुवित्तका सेयरधनीले १० दशमलव १३ प्रतिशतले कमाएका छन् । सबैभन्दा धेरै एनआईबीएल ग्रोथ फन्डका इकाइधनीले २१ दशमलव ४८ प्रतिशतले गुमाएका छन् । त्यसपछि जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीले १० दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।

सातामा फाइनान्स समूह सबैभन्दा धेरै चार दशमलव १९ प्रतिशतले घटेको छ । जीवन बीमा समूह तीन दशमलव ६७ प्रतिशत र उत्पादनमूलक समूह तीन दशमलव ३४ प्रतिशतले घटेको छ । एक सातामा सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको ५८ करोड ६७ लाख रुपैयाँको भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको ४९ करोड ६९ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको ४८ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।


क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया