Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेटिङमा १२ अर्बको सुन तस्करी

सेटिङमा १२ अर्बको सुन तस्करी

पोल खुल्दै गएपछि सामसुम पार्ने प्रयास


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संगठितरूपमा सुन तस्करी हुने गरेको खुलासा भएको छ । तस्करीको ठूलो लटको सुन आउने बेला सत्तासंरक्षणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोख्रेल र एयरपोर्टका प्रहरीप्रमुख अर्जुनचन्द्र ठकुरीलाई बिदामा राखेर सुन तस्करी भएको थियो । यसैबीच सुन तस्करीको बारेमा सत्यतथ्य छानबिन गर्न माग गर्दै नेकपा एमालेले संसद् अवरुद्ध गरेपछि संसद्को नियमित बैठक सूचना टाँस गरेर एक हप्ताको लागि स्थगित गरिएको छ ।

क्याफे प्यासिफिक एयरलाइनसको जहाजबाट गत असार २९ गते हङकङबाट रेडी ट्रेडर्स प्रालिको नाममा ३३ कार्टुन सामान आएको थियो र साउन २ गते भन्सार जाँचपास भएर छुटेको आठ कार्टुन सामान राजस्वको टोलीले सिनामंगलमा टयाक्सीबाट बरामद गरेको थियो । त्यसअघि साउन १ गते १० कार्टुन र असार ३१ गते १५ कार्टुन सामान सजिलै बाहिरिएको थियो । उक्त सामान अहिलेसम्म भेटिएको छैन । मोटरसाइकलको ‘ब्रेक सु’को नाममा उक्त सामान भन्सारमा एक्सरे जाँच हुँदा ब्रेक सुको फलामको बाहिरी घेरा नीलो देखिएको र सुन भएको भाग कालो देखिएको रिपोर्ट आएपछि भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भनेजस्तो मानवीय त्रुटिका कारण उक्त कार्गो सामान बाहिर नआएको स्पस्ट भएको छ ।

रेडी ट्रेडर्सले मात्रै यसअघि २२ पटक यसैगरी सामान आयात गरिसकेको र यसैगरी छुटाउँदै लैजाने गरेको कुरा सार्वजनिक भइसकेको छ । संगठितरूपमा भएको उक्त सुन तस्करीमा भन्सार प्रमुख अरुण पोख्रेल एयरपोर्ट अध्यागमन प्रमुख रामबाबु सुवेदी, एयरपोर्ट प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द्र ठकुरी, एयरपोर्टका गुप्तचर प्रमुख एसएसपी भूमि पाठकले संगठितरूपमा सुन तस्करी गराएको कुरा उक्त घटनासँगै सार्वजनिक भएको हो । हङकङमा चाँदीमा सुन वा अन्य धातु गालेर मिसाएर चाँदीको भाउमा ल्याउने र यहाँ ल्याएर फेरि गालेर त्यसलाई छुट्याउन प्रयोग गर्ने चारवटा मेसिन राजस्वले छापा मारेर बरामद गरिसकेको छ । साउन १० गतेदेखि ट्रेडर्सको गोदाम रहेको सोह्रखुट्टेमा छापा मारेर त्यस्ता दुईवटा मेसिनसँगै ब्रेक सुको खाली खोका मात्र भएको ६६ वटा कार्टुन बरामद गरेको थियो भने साउन १३ गते टोखामा रहेको गोदाममा छापा मार्दा त्यस्ता थप दुईवटा मेसिन भेटिएको छ । टोखाको गोदामबाट पानी तान्ने मेसिन, सुन जोख्ने मेसिन, सुन गाल्ने मेसिनलगायतका खोक्रा सामान पनि बरामद भएको छ र त्यसभित्र पनि सुन राखेर ल्याउने गरेको आशंका गरिएको छ । राजस्वले साउन १४ गते होटल भियानामा छापा मारेर दावा शेर्पालाई पक्राउ गरेको छ र उनकी श्रीमती भनिएकी रोल्पा थवाङकी अमला रोका फरार भएकी छिन् । बेल्जियमको नागरिक दावाको गिरफ्तारीपछि सुनकाण्डमा संलग्न रहेको स्पस्ट भएको छ । दावा छिरिङ, अमला रोका मगर, वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको सहभोजको तस्बिर बाहिरिएपछि सुनकाण्डमा माओवादी नेतृत्व मुछिन पुगेको हो ।

यसअघि गत १० गते गोदाममा छापा मार्दा नरेश भनिने नुवनकोटका सुरेन्द्र तामाङ पक्राउ परेका थिए । त्यसअघि नै भन्सार अधिकृत सन्तोष चन्द्र, जाँचकी कुमार ढकाल, एक्सरे अपरेटर सरोज श्रेष्ठ भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम रुकमिना सुब्बा, ग्लोबल प्रालिका सञ्चालक पुष्पराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, टयाक्सीचालक अशोक लामा, भन्सार एजेन्ट रोजेन्द्र राई, रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, दिलिपका मामा रामकुमार भुजेल, हर्कराज राई, टिबेटियन मूलका भारतीय नागरिक लुप्नेत छिरिङ पक्राउ परिसकेका छन् । खाग तस्करीमा २०७० देखि ०७५ सम्म जेल बसेका थुप्तेनका छोरी र श्रीमती तिब्बतमै रहेको खुलेको छ । थुप्तेनको साथी चिनियाँ नागरिक टासीको कनेक्सनबाट अनुसन्धान दावासम्म पुगेको बुझिएको छ । यसै काण्डमा पक्राउ परेका भोजपुरका हर्क राईले विपन्न परिवारको निमुखा दिलिप भुजेलको नाममा रेडी ट्रेस नामको कम्पनी खोल्ने योजना बनाएको थियो र टासीले त्यसमा सहयोग गरेको बुझिएको छ ।

संगठितरूपमा भएको सुन तस्करीमा चिनियाँ तस्कर र नेपालका सुन तस्करको आधा–आधा लगानी भएको बुझिएको छ र त्यसलाई नेपालमा एक भारतीय व्यापारीले संयोजन गरेको तथ्यहरूले खुल्दै गएको छ । संयोजन गर्ने भारतीयले नै सत्तासंरक्षणमा तस्करीको सुन भारत पु-याउँदै आएको बुझिएको छ । हङकङबाट आएको तस्करीको सुन एयरपोर्टमा छुटाउन एयरपोर्टवरपर कार्गोको नाममा कम्पनी खोलेर बसेका व्यक्तिहरूले भूमिका खेलेको देखिएको छ ।

पछिल्लो पटक असार २९ गते क्याथे प्यासिफिक एयरलाइन्स हङकङबाट आएका ३३ कार्टुन सामानमध्ये आठ कार्टुन मात्र पक्राउ परेका छन् । २५ कार्टुन सामान तस्करले भन्सारबाट छुटाएर लागिसकेको छ । रेडीट्रेडले यसअघि २२ पटक यसैगरी ब्रेक सु झिकाइसकेको छ, त्यसको अहिलेसम्म कुनै लेखाजोखा गरिएको छैन । साउन १० गते रेडी ट्रेडको गोदाम सोह्रखुट्टेमा छापा मार्दा ब्रेक सुका खाली खोका भएका ६६ वटा कार्टुन बरामद भएको छ । यसअघि ३३ कार्टुनमध्ये छुटाएर लगेको २५ कार्टुन र गोदाममा भेटिएको ब्रेक सुको खोल मात्र भएको ६६ कार्टुन गरी जम्मा संख्या ९१ कार्टुन हुन आउँछ । यसअघि बरामद भएको आठ कार्टुनमा एक क्विन्टल सुन भएको अनुमान गरिएको छ र त्यो सुन पित्तलमा परिणत भएन भने त्यसको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी पर्न जान्छ । आठ कार्टुनमा ११ दशमलव ३७ क्विन्टल हुन्छ । पक्राउ परेको समेत गर्दा त्यो सुन १२ क्विन्टलभन्दा बढी हुन जान्छ । गणितका जस्तोसकै लण्ठु विद्यार्थीले पनि निकाल्न सक्ने हिसाबलाई अहिले सरकारले झालेमाले गरेर राखेको छ ।

१२ अर्बभन्दा बढीको सुन तस्करीको घटना बाहिर आएपछि नेपालको राजधानी काठमाडौंलाई आश्रयस्थल बनाएर रेमिट्यान्स, गाडी, चाँदी, सेयरलगायतको कारोबार गर्दै आएका विवादास्पद भारतीय नागरिक राकेश अडुकिया रहस्यमय ढंगले सपरिवार सम्पर्कविहीन बनेका छन् । उनीसँगै उनकी श्रीमती रुची नजोडिया र छोरी राधिका अडुकिया पनि सम्पर्कविहीन बनेका छन् । उनीहरू सम्पर्कविहीन हुनुअघि उनका छोरा रोहन अडुकिया लुसुक्क दिल्ली उडेका थिए । नेपाली बजार अहिले तस्करीको सुनले सजिएको छ । बैंकले बेच्ने सुन तोलामा पाँच हजार महँगो भएकाले बजार तस्करीको सुनले भरिएको हो र तस्करीको सुन सस्तो भएकाले बैंकको सुन बिक्न छाडेको हो । यस्तो अवस्था आउनुमा व्यापारीहरू नै संगठितरूपमा तस्करीमा लागेको आरोप लाग्दै आएको छ ।

वैधानिकरूपमा चाँदीको आयात गर्ने दाबी गर्दै आएका अडुकियामाथि यसअघि वीरगञ्ज र न्यूरोडमा पक्रिएको सुनको मालिक भएको आरोप लागेको थियो भने काठमाडौंका किशन अग्रवाल, मोहन अग्रवाल, महावीरप्रसाद गोल्यान, विमल पोद्दार, राजकुमार दारुका, सञ्जय खेतान, मुरारीलाल गोयल, बालकृष्ण अग्रवाल, सत्यनारायण सोमी, विनोदकुमार सोनी, सुमन अग्रवाल, राजेन्द्र शाक्य, पवन धरानीया, नरेन्द्र गुप्ता, कृष्णकुमार अग्रवाल, जीवन अग्रवाललगायतका व्यापारिहरू शंकाको घेराभित्र तानिएका छन् । यस काण्डमा केन्द्रविन्दु बनेर अघिल्लो सोमबार रातिदेखि सम्पर्कविहीन बनेका अडुकिया एक सातापछि गत सोमबारदेखि योजनाबद्धरूपमा मिडियाको सम्पर्कमा आएका छन् । र उनले आफ्नो निवासमा छापा नै नमारिएको दाबी गरेका छन् । तर, मिडियामा सशरीर उपस्थित नभई फोन सम्पर्कमा आएका हुन् ।

यो पनि पढ्नुहोस

बजारभरि तस्करीको सुन !


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया