Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीतामाकोशीमा ग्रामीण आँखा केन्द्र

तामाकोशीमा ग्रामीण आँखा केन्द्र


दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । पालिकाको वडा नम्बर ५ मालुमा स्थापना गरिएको सो केन्द्र गत मंगलबारदेखि सञ्चालनमा आएको पालिकाले जनाएको छ ।

तामाकोशी गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच पालिकामा सामुदायिक ग्रामीण आँखा केन्द्र सञ्चालन गर्ने सहमतिअनुसार सो केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिए । गाउँपालिकाले केन्द्र सञ्चालनका लागि भवनसहित आवश्यक सामग्री उपलब्ध गराएपछि प्रतिष्ठानले आँखा केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रका सर्वसाधारणले सहजै आँखाको उपचार पाउने भएका छन् । आर्थिकरूपमा विपन्न र दूरदराजका नागरिकले सहजरूपमा आँखा परीक्षण र उपचार पाउने अध्यक्ष केसीले बताए । गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास प्राथमिकताका साथ अगाडि बढाइरहेको उनको भनाइ छ ।

आँखा केन्द्रले सबै वडालाई सेवा दिने गाउँपालिका उपाध्यक्ष सिर्जना सुवेदीले बताइन् । कार्यालय ५ नम्बर वडामा भए पनि घुम्ती शिविरमार्फत सबै वडामा सेवा पु-याउने उनको भनाइ छ । आँखा केन्द्रले गाउँपालिकाभित्रका विद्यालयमा पुगेर आँखाको परीक्षण गर्ने उनले बताइन् । यस्तै, आँखा केन्द्र उद्घाटनको अवसर पारेर मंगलबार एकदिने निःशुल्क आँखा शिविरसमेत आयोजना गरिएको थियो । शिविरमा एक सय पाँच जनाले आँखा परीक्षण गराएका थिए । समस्या देखिएका बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताए । शिविरमा १८ जनालाई चस्मा समेत वितरण गरिएको थियो ।

आवश्यक जनशक्तिको व्यवस्थापनसहित उनीहरूलाई तालिम, भौतिक संरचनाको निर्माण, बिरामी जाँचको लागि आवश्यक उपकरणसहितको चस्मा र औषधिको व्यवस्थापन गरेर न्यूनतम शुल्कमा सेवा सुरु गरिएको पालिकाले जनाएको छ । केन्द्रले आँखा जाँच, मोतियाविन्दुको पहिचान, आँखाको लागि आवश्यक औषधि र चस्मा सेवा उपलब्ध गराउने छ । सो केन्द्रको एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्ष सुवेदीले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया