Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअवैध सुनको बजार कब्जाले २५ अर्ब घाटा

अवैध सुनको बजार कब्जाले २५ अर्ब घाटा


काठमाडौं । नेपालमा सुनको तस्करी धन्दा यति व्यापक भएको देखियो कि बिस्तारै यसले अर्थतन्त्रमा गम्भीर विचलन ल्याउने अवस्था देखाउँदैछ । गएको आर्थिक वर्षमा मात्रै सुनबाट आउने राजस्वको अंक २५ अर्बले घटेको सरकारी तथ्याङ्कले देखाएको छ । सुनसँग सम्वन्धित हिसाबअनुसार एक केजी सुन तस्करीबाट भित्रिँदा राजस्व खातामा १२ लाख रुपैयाँ नोक्सान पर्न जान्छ । सबैभन्दा पछिल्लो समयमात्रै करिब दुई हजार केजी सुन तस्करी भएको अनुमान छ । यसले संस्थागत रूप नै लिइसकेको अवस्था पछिल्लो अनुसान्धानले फेला पारेको छ । सुनको आकार प्रकार बदल्ने र विभिन्न वस्तुका साथमा ल्याएका सुन पगालेर निकाल्ने मेसिन जसरी फेला परे ती आफैँमा तस्करीका प्रमाणहरू हुन् । एउटा विवरणअनुसार यस्ता सुन पगाल्ने मेसिन सरकारसँग एउटा छ भने तस्करसँग चारवटा रहेको पाइयो । यो आफैँमा सुन तस्करीको जालो कसरी विस्तार भइरहेको र कसरी संस्थागत भइरहेको छ भन्ने जानकारी पनि हो ।

विज्ञहरूका अनुसार अवैध सुन आयातले देशको अर्थतन्त्रमा विचलन ल्याउने संकेत देखापरेको छ । विगतका वर्षमा सरकारले अनुमान गरेको राजस्वमा चार खर्बले कमी आयो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार प्रत्येक एक किलोग्राम सुनमा भन्सार शुल्क मात्र १२ लाख रुपैयाँभन्दा धेरै तिर्नुपर्ने हुन्छ । एक केजी तस्करी भएर आउँदा त्यति नै बढी नाफा हुने भयो । हवाईमार्गबाट तस्करी भएर आएको सुन सबैभन्दा पहिले नेपाली बजारमा नै खपत गराउन खोजिन्छ । हालै सय किलो सुन पक्राउ पर्नुअघि त्यसरी नै तस्करी भएर आएको नौ केजी नेपाली बजारमा नै किनबेच भइसकेको थियो । यसमा नौ करोडको मूल्य हुनुपर्नेमा छ करोडमा किनबेच भएको भन्ने समाचार आयो । तर यो सुन मूल तस्करभन्दा जफतकर्ताले नै बेचविखनमा लगेको हँुदा बजारमा थप सस्तो भएको अनुसन्धानकर्ताहरूको बुझाइ छ । सुन तस्करले नेपालमा डेरा नै लिएर कारोबार गरिहेको भन्ने पछिल्लो समय खुल्नमा आएकोे छ । यसको अर्थ सुन तस्करीको धन्दाले संस्थागतरूप लिइसकेको छ । उच्चतहको राजनीतिक कनेकसन बन्नुले पनि त्यस्तै देखाएको छ । तस्करहरूले आफ्नो कार्यालय बनाएको, ठूलाठूला गोदाम खडा गरेको र त्यसमा स्वरूप परिवर्तन गरेर राखिएका सामानको जस्तो थुप्रो देखिएको छ । त्यसले पनि बताउने यही हो । सय केजीको सन्दर्भमा आएका समाचारअनुसार चार ठाउँमा त्यसको गोदाम थियो । राष्ट्रका लागि यो गम्भीर चिन्ताको विषय हुनुपर्छ ।

यसरी सुनको तस्करी संस्थागत हुनु र त्यसले निरन्तर राजस्वमा यति ठूलो कमी ल्याउनुले सुन तस्करी राजस्वका लागि अभिशाप बनेको देखिन्छ । पछिल्लोपटक आएको एउटा समाचार विवरणअनुसार नेपाल राष्ट्र बैंकले चार वर्षअघि, विसं २०७६ साल चैत १९ गते जारी गरेको एउटा परिपत्र अहिले चर्चामा आउन थालेको छ । समाचारमा भनिएको छ, तत्कालीन समयमा विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी (कोभिड १९)का कारण विश्व अर्थतन्त्र कमजोर बनेको थियो । सोही कारण राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गर्दै सुनको दैनिक आयात कोटालाई १० केजीमा झारेको थियो । त्यसअघि सुनको दैनिक आयात कोटा १५ केजी थियो । यस्तो कोटा घटेको, भन्सार दर बढेको र सो वृद्धिले सुनको तस्करी पनि बढेको विवरणहरूले देखाएका छन् । अहिले सुनको बजार यही तस्करको कब्जामा परेको अनुमान छ । यसतर्फ पनि सरकारको ध्यान जानु आवश्यक देखिन्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया