Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको एसएमएसले क्षति न्यूनीकरणमा सहयोग

एनसेलको एसएमएसले क्षति न्यूनीकरणमा सहयोग


काठमाडौं । एनसेलले हरेक वर्ष बाढीे पहिरोको उच्च जोखिम रहेका स्थानहरूमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिमबारे एसएमएसमार्फत पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्युनीकरण गर्न सहयोग गर्दै आएको जनाएको छ ।

यो वर्ष मात्रै एनसेलले वर्षायामको सुरुवातपछि गत दुई महिनामा ४४ लाखभन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरेको जानकारी गराएको छ । यो वर्ष एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरिएका क्षेत्रहरूमा नारायणी, कंकाई, वाग्मती, बबई, राप्ती, कोशी, कर्णालीलगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरू रहेका छन् ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्वसूचना प्रवाह गर्दै आएको जनाएको छ । एनसेल र विभागको यस पूर्वसूचना प्रणाली सहकार्यअन्तर्गत, एनसेलले विशेषगरी वर्षायाममा जोखिमसम्बन्धी पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्दै आएको हो ।

यस पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसलाई आ–आफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जान अग्रिम जानकारी दिने गरेको छ  । त्यसैगरी विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थालाई समयमा नै आवश्यक कार्य गर्न सहयोग गर्ने कम्पनीको भनाइ छ । पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी त्यस क्षेत्रका मानिसले एसएमएसमार्फत पाउँछन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैँ प्रतिबद्ध रहेको बताए । कम्पनीको प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्वसूचना प्रवाहमार्फत बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणको लागि सहयोग गर्ने गरेको उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्री स्टेसनमार्फत नदीमा पानीको सतहको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्दाभिन्दै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँछ र त्यसैअनुरूप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकलाई तत्काल त्यो सूचना सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ । ११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो । यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिति र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिने बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार, संभवत सबै घरधुरी जीएसएम मोबाइल सेवाको पहुँचभित्र रहेकाले एसएमएसमार्फत बाढीको जोखिमसम्बन्धी प्रवाह गरिने जानकारी पूर्वसूचना प्रणालीको प्रभावकारी माध्यममध्ये एक बनेको छ । महाशाखाका अनुसार जोखिम क्षेत्र भनेर पहिचान गरिएका क्षेत्रभित्र रहेका जनसमुदायबाहेक, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रजस्ता विपद् जोखिम न्यूनीकरण कार्यमा संलग्न संस्था पनि आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि यस्ता एसएमएस अलर्ट पठाइन्छ ।

एनसेल र विभागको निरन्तर सहकार्यअन्तर्गत गत वर्ष एनसेलले ७८ लाखभन्दा बढी यस किसिमका पूर्वसूचना बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसलाई प्रवाह गरेको थियो । सन् २०७३ मा सुरु भएको यस सहकार्यलाई सन् २०७५ मा एनसेलले विपत् पूर्वतयारीलाई थप प्रभावकारी बनाउँदै नयाँ समझदारी गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया