Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगभ्रष्टाचार न्यूनीकरणमा नागरिक उत्तरदायित्व

भ्रष्टाचार न्यूनीकरणमा नागरिक उत्तरदायित्व


काठमाडौं । भ्रष्टाचारको विषयान्तरको सन्दर्भमा भन्नुपर्दा कानुनले निषेध गरेको आर्थिक अपराधजन्य व्यवहारको विविध स्वरूपलाई लिन सकिनेछ । जुन सरकारी, अर्धसरकारी, निजी वा त्यसबाहेकका अन्य कुनै पनि संघसंस्थालगायतका सेवा प्रदाय समेत यसमा समावेश हुन सक्ने तथ्यले औँल्याउँदै आएको छ । जसमा अवस्थानुसार व्यक्ति, समूह वा समुदाय विशेषको कुनै काम कसैगरी गरिदिएबापत वा नगरिदिएबापत अनधिकृतरूपमा गरिने आर्थिक चलखेलको समग्र मुद्दालाई सम्बद्ध पक्षको क्षेत्राधिकारभित्रको विषयवस्तु मान्दा त्यति फरक नपर्ला । जसमा नगद वा नजरानाले कुनै प्रकारको तात्विक असर पार्ने छैन । किनकि अधिकारप्राप्त व्यक्ति वा समूहगत निर्णयको आधारमा गरिने अधिकारको दुरुपयोगले आमनागरिक समुदाय वा राष्ट्रहित विपरीतका व्यक्तिगत स्वार्थ तथा आर्थिक अपराधजन्य व्यवहारलाई विशेष ग्राह्यता प्रदान गर्दै नागरिक सेवा–सुविधा एवम् सुरक्षासम्बन्धी राज्यको अवधारणागत विशेषतालाई बेवास्ता गर्दा निस्कने परिणाम नै दुरुपयोगजन्य आर्थिक अपराधको अनेकौं स्वरूपमध्ये एक मात्र हो  ।

प्रस्तुत प्रवृत्तिको अपराध अभिवृद्धि हुनुको प्रमुख कारकतत्व विशेषको रूपमा मानवीय स्वभावमा रहेको प्रलोभनको गतिशीलताले मुख्य भूमिका निर्वाह गर्दै आएको पाइन्छ । जसको परिणाम निकट भविष्यमा जतिसुकै भयावह रहने भए पनि वर्तमानमा प्राप्त हुने अनैतिक लाभको ऋणात्मक प्रभावले प्राप्त अधिकारको दुरुपयोग हुने अवस्था प्रारम्भ गर्नेछ  ।

यसका साथै बढ्दो महँगीका कारण सानोतिनो धनराशीबाट सहजै मानवीय आवश्यकता पूरा गर्न असम्भवप्रायः रहेको अवस्थामा भ्रष्टाचारजन्य अपराधका वैकल्पिक विधिलाई आत्मसाथ गर्न मानव समुदाय उद्यत रहन्छन् भन्ने आर्थिक अपराधशास्त्रको सैद्धान्तिक धरातललाई पनि केलाएर हेरिनुपर्ने हुन्छ । यसका अतिरिक्त सम्बद्ध राष्ट्रको राजनीतिक समूहमा रहेको अनिर्णित व्यवहारबाट नागरिक समाजमा उत्पन्न हुने जटिलताले यस क्षेत्रलाई थप संकटग्रस्त बनाउन मद्दत पु¥याउनेछ ।

प्रस्तुत प्रवृत्तिले नागरिक समाजमा आपसी विश्वासको संकट उत्पन्न हुने देखिन्छ । परिणामतः आर्थिक असुरक्षाका साथै जघन्य अपराधका विभत्स विविध स्वरूपअन्तर्गतका अनेक रूप सामाजिक पृष्ठभूमिमा देखिन सक्ने हुँदा समयमै सचेत एवम् सतर्क रहनु जरुरी भइसकेको छ । यस प्रकारका सन्देहयुक्त वातावरणको विकासलाई केही हदसम्म लोकतन्त्रमा सम्प्रभु नागरिक समुदायको आर्थिक सुरक्षाको हनन्सम्बन्धी गहन प्रश्नको रूपमा पनि लिन सकिन्छ । किनभने कुनै पनि सेवाप्रदाय संस्था विशेषमा नागरिकका कार्यलाई सहजता प्रदान गर्नुभन्दा आर्थिक लेनदेनलाई महत्व दिइन्छ भने निश्चितरूपमा त्यहाँ आर्थिक असुरक्षा एवम् भ्रष्टाचारको गन्ध आउनेछ  । जबसम्म समाजमा प्रतिस्थापित भ्रष्टाचारका पक्षपोषक समूहलाई हामी नागरिक समाजबाट नै सहजरूपमा स्वीकार गर्ने परिपाटीको विकास गर्दछौँ, त्यो बेलासम्म आर्थिक अपराधजन्य क्रियाकलापमा लाग्ने सम्बद्ध पक्षलाई मनोवैज्ञानिकरूपमा नै ऋणात्मक मनोबलको अभिवृद्धि गर्ने कार्यमा घोषित–अघोषितरूपमा हाम्रो दोषपूर्ण भूमिकालाई अन्यथा लिन मिल्दैन । प्रस्तुत क्रियाकलापको विकासले नागरिक समाजबाट भ्रष्टाचारको अन्त्य हुने नभई केवल श्रीवृद्धि हुने सम्भावनालाई बढ्वा दिने अवसरको रूपमा उपरोक्त कार्य व्यवहारलाई लिँदा त्यति फरक नपर्ला ।

जसका कारण आर्थिक पारदर्शिताको अभाव रहन गई शृङ्खलाबद्ध अपराधको बाहुल्यताले प्रश्रय पाउने अवस्था रहन्छ । तदुपरान्त राजस्व असुलीको साथै गुणस्तरयुक्त सेवा सुविधाको क्षेत्रमा ऋणात्मकताको प्रादुर्भाव भई आर्थिक खराब परिसूचकयुक्त विसंगतिपूर्ण व्यवहारको जन्म हुने देखिन्छ । यदि ठूलो मात्रामा आर्थिक दुव्र्यवहार रहन्छ भने केवल गैरकानुनी कार्यमा रमाउने न्यून संख्या विशेषबाहेक अन्य कुनै पनि पक्षलाई उत्पादनशील सकारात्मक कार्य तथा आर्थिक लाभ हासिल हुन नसक्ने ठोकुवा गर्न सकिनेछ । जुन राष्ट्रका लागि निकै नै ठूलो चिन्ताको विषय समेत हो । राज्यव्यवस्थामा कायम रहँदै आएको प्रस्तुत खराब संस्कृतिको अन्त्यका लागि नागरिक उत्तरदायित्व तथा सहयोगको सदैव खाँचो रहन्छ भन्ने तथ्यलाई मनन् गर्दै सहयोगी मनले अभिप्रेरित रहेर कार्य गर्नु जनउत्तरदायी कार्यको उत्तम नमुना हो । तसर्थ कायमी नागरिक सर्वस्वीकार्यतालाई अन्त्य गर्नु नै तत् सन्दर्भमा घनात्मक परिणाम प्राप्त गर्नु हो ।

अतः आर्थिक अपराधका विषरूपी वनमारा बुट्यानलाई जरैदेखि उखेल्ने प्रयासले मात्र यस क्षेत्रमा सकारात्मक नतिजाको अपेक्षा राख्न सकिने छ । तसर्थ नागरिक समुदायको सक्रिय गतिशीलताले प्रस्तुत प्रवृत्तिका नकारात्मक विकासक्रमलाई निरुत्साहित गर्दै सदाचारको फूल फुल्ने अवस्था तयार पार्नुपर्ने हुन्छ । जसका लागि सत्यतथ्यमा आधारित सूचनामैत्री अवधारणाको विकासबाट मात्र लक्ष्यअनुरूपको उद्देश्य पूरा हुने देखिन्छ । किनकि कुन स्थान विशेषमा के–कस्तो प्रकारका आर्थिक कसुरजन्य अपराधको प्रादुर्भाव रहँदै आएको छ भन्ने कुरा नै भ्रष्टाचार विरोधी सूक्ष्म अध्ययनका लागि महत्वपूर्ण तथ्यगत कडी हुन सक्छ । प्राप्त सूचनाको आधारमा तत्सम्बन्धी कार्ययोजनालाई अगाडि बढाउन नियमनकारी तथा सुरक्षा निकायलाई सहजीकरणको वातावरण पैदा हुने देखिन्छ । सूक्ष्मरूपमा गरिएका अनुसन्धानबाट गलत कार्यको सिरासिराको अध्ययन गर्दै अन्तिम निष्कर्षमा पुग्न सरोकारवाला पक्षलाई सहयोग पुग्न जानेछ भन्ने विश्वास लिन सकिनेछ ।

यसका बावजुद पनि वर्तमान राज्यव्यवस्थाले तत् सन्दर्भमा गरेको साहसिक निर्णय एवम् कार्यलाई हरेक तहतप्कालगायत नागरिक समुदायबाट खुला दिलले स्वागत गर्नुपर्ने हुन्छ । जसको सकारात्मक प्रभावस्वरूप भ्रष्टाचारजन्य कसुरकोे जरैसम्म पुग्न राज्यलाई नागरिक समूहको सल्लाह, सुझाव तथा सहकार्यको सदैव आवश्यकता पर्नेछ । आपसी सहयोगबाट प्राप्त सूचनामूलक जानकारीले अपराध न्यूनीकरणको क्षेत्रमा अहम् भूमिका खेल्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । प्रस्तुत कार्यको विकासले नोकरशाहीतन्त्रमा आबद्ध रहने समूहमा आर्थिक अपराधका सन्दर्भमा सकारात्मक सन्देश छर्न सहयोग पुग्नुको साथै प्रस्तुत प्रवृत्तिको खराब आचरणलाई कुनै पनि हालतमा आत्मसात गर्ने छैनौँ भन्ने प्रतिबद्धता नागरिक समाज समक्ष जाहेर गर्ने छन् भन्ने अपेक्षा राख्न सकिनेछ । जुन सदाचायुक्त व्यवहारको अनुपम नमुना समेत हो । जसलाई भ्रष्टाचार विरोधी मैत्रीपूर्ण अभियानको रूपमा लिँदा फरक नपर्ला । तसर्थ, सामाजिक उत्तरदायित्वको सन्दर्भमा नागरिक समाजको भूमिकालाई फरक अर्थमा लिन कुनै पनि हालतमा मिल्दैन । विकसित मुलुकको तुलनामा विकासोन्मुख राज्य व्यवस्थाले प्रस्तुत गरेको प्रवृत्तिको गलत आर्थिक क्रियाकलापको सामना गर्नुपरेको तीतो यथार्थपरक चित्र हामीसामु घामजस्तै छर्लङ्ग रहँदै आएको छ । अझ भनौँ भने आर्थिक अपराधसम्बन्धी समाचार छापाको अग्रपृष्ठमा दिनहँुजसो प्रकाशित हुनुले यसको नकारात्मक जालो कतिसम्म विकराल रहेको छ भन्ने तथ्यलाई लुकाएर पनि लुक्न सक्ने अवस्था अब पक्कै पनि रहेन । नागरिक समाजबाट भ्रष्टाचारजन्य आर्थिक अपराधका दरलाई निर्मूल पार्न सकिँदैन । तथापि न्यूनीकरणका लागि नागरिक समाजको साथै नेतृत्वको सहकार्यलाई आत्मसाथ गर्दै हातेमालो गरी अगाडि बढ्ने प्रयासले मात्र पनि यस क्षेत्रमा निश्चितरूपमा न्यूनताको अनुभूति अवश्य पनि गर्न सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया