Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा शारदा

अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा शारदा


काठमाडौं । नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा गौरव शारदा पुनः निर्वाचित भएका छन् । संघको काठमाडौंमा सम्पन्न १३ औँ वार्षिक साधारणसभाले शारदालाई आगामी दुई वर्षका लागि निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

साथै, संघको उपाध्यक्षमा वीरेन्द्रकुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रह्लाद तिमल्सिना पनि निर्विरोध चयन भएका छन् । यस्तै, संघको सदस्यहरू शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएका छन् । सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठूलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हालसम्म फिर्ता नगरेकाले उद्योगलाई ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

यसैगरी संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्डसम्बन्धी आवश्यक कानुन बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ ।

संघका अध्यक्ष गौरव शारदाले अक्सिजन सिलिन्डरको मापदण्डअन्तर्गत रङ कोडिङ, लेबलिङ, अधिकतम फिलिङ प्रेसर, ग्यास जानकारी, आवधिक निरीक्षण विवरणहरू आदिसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवस्था लागू गरे मात्र कार्यस्थलमा कर्मचारीको सुरक्षा तथा जोखिम न्यूनीकरण गर्न सकिने बताए ।

संघले आगामी दिनमा लिक्विड अक्सिजनको आयातमा कडाई गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको छ । अध्यक्ष शारदाका अनुसार नेपालमा सञ्चालित अक्सिजन ग्यास उद्योगको उत्पादन मागभन्दा धेरै रहेकाले लिक्विड अक्सिजन आयात गर्न आवश्यक छैन । लिक्विड अक्सिजनको आयातले सञ्चालनमा रहेको २८ वटा अक्सिजन उद्योगको भविष्य धरापमा परेको उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया