Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाकालिञ्चोक गाउँपालिकाले तोक्यो स्थायी केन्द्र

कालिञ्चोक गाउँपालिकाले तोक्यो स्थायी केन्द्र


दोलखा । गाउँपालिकाको केन्द्र तोक्नेबारे विवादमा अल्झिएको दोलखाको कालिञ्चोक गाउँपालिकाले सोमबार स्थायी केन्द्र तोकेको छ । विगत छ वर्षदेखि केन्द्र विवादमा अल्झिएको गाउँपालिकाले सोमबार गाउँसभामा दुई तिहाई बहुमत जुटाएर स्थायी केन्द्र तोकेको हो ।

पालिकाको स्थायी केन्द्र वडा नम्बर–४ कुभिन्डे खेल मैदान भएको ठाउँमा रहने गरी निर्णय भएको कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जानकारी दिए । गाउँपालिकाको सोमबार बसेको १२औँ गाउँसभाले दोलखा–सिंगटी सडकसँगै जोडिएको वडा नम्बर ४ स्थित कुभिन्डेमा राख्ने निर्णय पारित गरेको हो । अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले गाउँसभामा निर्णयार्थ पेस गरेको प्रस्तावको पक्षमा ३२ मत र विपक्षमा नौ मत परेको थियो । छ जना भने तटस्थ बसेका थिए ।

कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र तोक्ने विषय पेचिलो बन्दै आएको थियो । अघिल्लो कार्यकालमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको विवादले उच्च रूप लिँदा अस्थायी केन्द्र सुनखानीबाट नै सेवा सञ्चालन भएको थियो । यसअघिका अध्यक्ष विनकुमार थामीले पालिकाको केन्द्र वडा नम्बर ५ स्थित बन्देथलीमा र उपाध्यक्ष कालिका पाठकले सुनखानीमा तोक्न खोज्दा विवाद भएको थियो । सोही विषयले अध्यक्ष र उपाध्यक्षबीच हात हालहालको स्थिति समेत बनेको थियो । त्यसपछि थाती राखिएको यो विषय अहिले दुईतिहाइ बहुमतसहित पूरा भएको छ ।

दोलखामा कालिञ्चोकसहित आठवटा पालिकाले केन्द्र टुङ्गो लागेको छ । छवटा पालिकाले त आफ्नै प्रशासनिक भवन समेत बनाइसकेका छन् । तर तामाकोशी गाउँपालिकाले भने अझै केन्द्र तोक्न सकेको छैन । अघिल्लो कार्यकालमा केन्द्र तोक्न नसकेका जिल्लाको मेलुङ गाउँपालिका र कालिञ्चोक गाउँपालिकाले केन्द्र तोकेका हुन् । तामाकोशी गाउँपालिकामा पनि स्थायी केन्द्र तोक्ने विषयमा तीव्र विवाद छ । सोही विवादका कारण अहिलेसम्म स्थायी केन्द्रको टुङ्गो लाग्न नसकेको हो ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया