Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिठ्ठी फुकेर सरकारको ध्यानाकर्षण

सिठ्ठी फुकेर सरकारको ध्यानाकर्षण


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको दोस्रो चरणको आन्दोलन सोमबारबाट सुरु भएको छ । दोस्रो चरणको पहिलो दिन निर्माण व्यवसायीले सिठ्ठी फुकेर आफ्ना मागबारे सरकारको ध्यानाकर्षण गराएका छन् । निर्माण व्यवसायीले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालोपट्टी बाँधेर सोमबार बिहान महासंघ सचिवालय अनामनगरदेखि संसद् भवन अगाडिसम्म सिठ्ठी जुलुस गरेका थिए ।

महासंघका अध्यक्ष रवि सिंह नेतृत्वमा रहेको जुलुस बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले व्यवसायीको रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरे । निर्माण व्यवसायीको रकम भुक्तान हुनुपर्ने विषयमा आफूले संसद्मै कुरा उठाइसकेको स्मरण गराउँदै उनले अर्थ समितिमा पनि यो विषय प्राथमिकताका साथ उठान गर्ने आश्वासन दिए । ‘सरकारले काम लगाएपछि रकम भुक्तानी गर्नैपर्छ, आफ्नो अधिकार पाउनका लागि निर्माण व्यवसायी सडकमै ओर्लनु राज्यकै कमजोरी हो’, उनले भने ।

यस्तै, महासंघका अध्यक्ष सिंहले सरकारले व्यवसायीका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको बताए । म्याद थप मात्र समस्याको समाधान नरहेको उल्लेख गर्दै भुक्तानीको व्यवस्था नहुँदा निर्माण उद्योगको समस्या जटिल हुँदै गएको बताए । महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताए । महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले सिठ्ठी जुलुस आगामी शुक्रबारसम्म चल्ने र माग पूरा नभए साउन २८ बाट तेस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरिने बताए ।

साउन २८ देखि अत्यावश्यकबाहेकका सबै निर्माण कार्यहरू अनिश्चितकालका लागि बन्द गर्ने महासंघले जनाएको छ । त्यस्तै, विकासे विभागमा पालैपालो बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना तथा तालाबन्दी गर्ने, निर्माण विज्ञबीच प्रत्यक्ष सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने, थानकोट तथा भक्तपुरको साँगा नाकामा आलोपालो गरी दैनिक एक घण्टा सडकमा चक्काजाम गरी नाका बन्द गर्नेलगायतका कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया