शान्तिस्तम्भमा बन्दुकको निशानी (सम्पादकीय)
आफूलाई भ्रष्टाचारविरोधी भनेर चिनाइरहेको माओवादीको सरकारले उसकै भागमा परेको एउटा मन्त्रालयको एउटा नियुक्ति भने विवादमा परेको छ । शान्तिस्तम्भको रूपमा रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष पदमा गरेको यो नियुक्ति सो दलका लागि धेरै भारी पर्ने भएको छ । देशको परिचयमा समेत गम्भीर प्रभाव पर्ने खतरा उब्जिने जोखिम बढ्न थालेपछि यो नियुक्ति विवादमा परेको हो ।
त्यो खतरा कस्तो भने शान्तिको स्तम्भमा बन्दुकको निशानीका रूपमा यसलाई विश्लेषण गरिएको छ । कोषमा नियुक्ति पाएका यी व्यक्ति केही पहिले बैंकको लकरमा गोलीगठ्ठा राख्नेमा चिनिएका थिए भने आधा दर्जनजति भ्रष्टाचार ठगीका मुद्दा खेपिसकेका व्यक्ति हुन् । उनको यो नियुक्तिको योग्यता भ्रष्टाचारमा पोख्त रहेको भन्नेबाट पनि चिनिन्छ । उनी यसअघि तीनवटा ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी सबै दलबाट अवसर पाएका र त्यो अवसर भ्रष्टाचारका काममा लगाएका भन्ने आरोप छ । भ्रष्टाचारबाट आर्जित अकुत सम्पत्तिको छानबिन गर्दा उनको नामको बैंक लकरमा ठूलो परिमाणमा गोली फेला परेका थिए ।
त्यस्ता व्यक्तिलाई माओवादीको भागमा परेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहतको निकाय लुम्बिनी क्षेत्र विकास कोषको कार्यकारी प्रमुख पद उपाध्यक्षमा नियुक्ति गरिएकोलाई शान्ति र धर्मका हिसाबले पनि धेरैले पचाउन सकेका छैनन् । लुम्बिनी विकास कोष नेपाल देशसँग मात्रै सम्बन्धित छैन । यो ठाउँ संसारभरको आस्थामा बाँधिएको क्षेत्र पनि हो । विभिन्न माध्यमका रिपोर्टमा आएअनुसार कोषको जिम्मेवारीमा विश्व सम्पदामा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीमा चलिरहेका गुरुयोजनाअन्तर्गतका राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरू कार्यान्वयन गर्नेदेखि ऐतिहासिक सम्पदास्थलको संरक्षण गर्ने दायित्व पनि यही संस्थामा पर्छ । संसारभरकै बौद्ध धर्म र दर्शनको अध्ययन–अनुसन्धान गर्ने आधिकारिक थलो पनि यही हो । यसका लागि वार्षिक करोडौँ बजेट खर्च हुने गर्छ ।
जो भगवान् बुद्धमाथि आस्था राख्ने अन्तर्राष्ट्रिय क्षेत्रले पनि उपलब्ध गराएका हुन्छन् । यस्तो रकम परिचालनका सन्दर्भमा हाल कोषका उपाध्यक्षमा नियुक्त भएका व्यक्तिको विगत राम्रो देखिँदैन । केही पहिले गुम्बासँग सम्बन्धित संस्थामा रहँदा नै भ्रष्टाचार गरेको आरोपमा मुद्दा नै लागेका व्यक्ति हुन्, उनी । विश्वभर शान्तिका प्रतीक बौद्ध धर्मावलम्बीको पवित्र स्थल मानिँदै आएको लुम्बिनीको संरक्षण र अन्वेषण गर्ने ठाउँमा भ्रष्टाचारमा पोख्त मानिएका र बन्दुकको कारोबारी भनी चिनिएका व्यक्तिले यस्तो नियुक्ति पाएको कुरालाई यतिबेला देशविदेशले सहजै पचाउन सकिरहेको छैन । त्यसकारण पनि यो चर्चाको विषय बन्न गएको अवस्था छ । सरकारले यो नियुक्तिलाई अविलम्ब सच्याएन भने त्यसको नोक्सानी देशले नै व्यहोर्नु पर्ने पनि हुन सक्छ ।
यी व्यक्ति पहिले नेपाली कांग्रेस निकट भएर बीस वर्षअघि गुम्बा व्यवस्था विकास समितिको अध्यक्ष बने । त्यो संस्थामा उनले गरेको भ्रष्टचार औपचारिकरूपमा नै अनुसन्धानकैे विषय बन्यो । त्यसपछि उनी एमाले प्रवेश गरेर त्यहाँबाट संविधान सभामा समानुपातिक सदस्य बने । पछि त्यो दलबाट अर्थराज्यमन्त्री पनि बने । यो क्रममा उनीसँग दोहोरो नागरिकता रहेको पोल खुल्यो । त्यसपछि मन्त्री पदबाट राजीनामा दिन बाध्य भए । त्यसपछि उनी माओवादीमा प्रवेश गरेर अर्कोपटक समानुपातिक पद पाए । यही क्रममा उनीमाथि दुई करोड रुपैयाँ ठगेको आरोप लाग्यो र पक्राउ पनि परे ।
मकाउ पठाउने भन्दै केही युवाबाट यो रकम ठगी गरेका थिए । त्यतिबेला ३० लाख धरौटी रखेर रिहा भएका उनी अहिले बुद्धसँग जोडिएको संस्थाका प्रमुख भएका छन् । आफ्नो आस्थाको केन्द्रका प्रमुखको जीवनी यस्ता परिदृश्यले भरिएको अवस्थाबाट बुद्ध धर्मावलम्बीहरू आक्रोशित भएका बुझिन्छ । यस्तो अवस्थालाई यथावत् राख्नुहुँदैन । सरकारको ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया