Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘नेपाल चिनियाँ लगानी र पर्यटकको मुख्य गन्तव्य बन्न सक्छ’

‘नेपाल चिनियाँ लगानी र पर्यटकको मुख्य गन्तव्य बन्न सक्छ’


नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताएका छन् । नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मंगलबार भएको भेटमा महासंघका अध्यक्ष ढकालले नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको
राम्रो सम्भावना रहेकोतर्फ राजदूत सोङको ध्यानाकर्षण गराएका थिए ।

पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान आवश्यक रहेको पनि उनले बताए । साथै, अध्यक्ष ढकालले चिनियाँ पर्यटकको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकता साथ समावेश गर्न पनि आग्रह गरेका थिए । महासंघले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि उनले आग्रह गरे । यसैगरी नेपालमा चिनियाँ बैंक आउन सक्ने सम्भावनातर्फ पनि अध्यक्ष ढकालले राजदूतको ध्यानाकर्षण गराएको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष ढकालले लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पहल गर्न पनि चीन सरकारसँग आग्रह गरेका छन् । भेटका क्रममा राजदूत सोङ्ले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताएका थिए ।

उत्पादनमूलक उद्योग, कृषि, ऊर्जालगायतका क्षेत्रमा चिनियाँ लगानीकर्ता आकर्षित रहेको उनले बताए । नेपालमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था पनि गरिनुपर्ने राजदूत सोङको भनाइ थियो । लगानीकर्तालाई नीतिगत स्थायित्व एवम् सहज व्यवहार आवश्यक रहने भन्दै चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण राजदूत सोङ्ले प्रस्तुत गरेका थिए । त्यस अवसरमा राजदूत सोङ्ले तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारेमा छलफल भइरहेको जानकारी पनि गराएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया