डेङ्गुबाट बच्न सावधानीको आवश्यकता
काठमाडौं । संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवम् स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवम् गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ । नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता, नेपाल सरकारको विद्यमान नीति एवम् स्वास्थ्य तथा पोषण क्षेत्रका प्रमुख समस्या, चुनौती तथा अवसरलाई समेत आधार बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्ने राष्ट्रिय कार्यसूची रहेको छ । नागरिकलाई स्वस्थ बनाउन आधुनिक चिकित्सा, आयुर्वेदिक, प्राकृतिक, होमियोपेथिक चिकित्सा क्षेत्र, स्वास्थ्य सुशासन र अनुसन्धानमा लगानी बढाउन आवश्यक देखिएको छ । पन्ध्रौँ योजनामा स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पु-याउन राज्यको नेतृत्वदायी र निजी तथा सहकारी क्षेत्रको परिपूरक भूमिका रहेको पाइन्छ ।
पन्ध्रौँ योजनाको सफल कार्यान्वयनपछि स्वस्थ, सवल र सक्रिय जीवनसहितको नेपालीको औसत आयु ७२ वर्ष पुग्नेछ । प्रतिलाख जीवित जन्ममा मृत्यु अनुपात ९९, प्रतिहजार जन्ममा नवजात शिशु मृत्युदर १४ र पाँच वर्ष मुनिको बाल मृत्युदर २४ मा झर्नेछ । पाँच वर्ष मुनिका कम तौल भएका बालबालिका २७ बाट १५ प्रतिशतमा र पुड्कोपना भएका बालबालिका ३६ बाट २० प्रतिशतमा आउनेछ । नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् ।
स्वास्थ्य बीमामा आबद्ध भएको जनसंख्या ६० प्रतिशत, स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटेर ४० प्रतिशत, स्वास्थ्यमा सरकारी लगानी आठ प्रतिशत र ३० मिनेटको दूरीमा स्वास्थ्य संस्थामा पहुँच भएका घरपरिवार ८० पुगेको हुनेछ । प्रोटोकलअनुसार कम्तीमा चार पटक गर्भवती जाँच गराउने महिला ८१ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा जन्मिएका बालबालिका ७९ प्रतिशत र पूर्ण खोप पाउने बालबालिका ९५ प्रतिशत हुनेछन् । मलेरिया, कालाज्वर र हात्तीपाइले रोग निवारण हुने अपेक्षा राखिएको छ ।
नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय स्वरूप, भौगोलिक एवम् जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बीमाअन्तर्गत वितरण गरिने औषधी आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैको लागि स्वास्थ्य बीमा लागू गर्नु, वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुका साथै डेंगुजस्ता महामारीको प्रभावलाई समाधान गर्नु आजको आवश्यकता हो । यसै सिलसिलामा यस लेखमा डेंगु महामारीको बारेमा संक्षेपमा चर्चा गर्नु सान्दर्भिक होला ।
यस वर्ष डेंगुबाट संक्रमित संख्या १० हजार सात सय २६ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सोअनुसार गत वर्षको भन्दा यस वर्ष दोब्बर वृद्धि भएको पाइन्छ । सो महाशाखाका अनुसार गत वर्ष काठमाडौँ उपत्यकामा सबैभन्दा बढी डेंगु पुष्टि भएकोमा यस वर्ष कोशी प्रदेशमा सबैभन्दा बढी आठ हजार एक सय नौ जनामा डेंगु पुष्टि भएको छ । त्यस्तै, बागमतीमा एक हजार चार सय ५३, गण्डकीमा चार सय ७१, सुदूरपश्चिमाञ्चलमा तीन सय ९३, लुम्बिनीमा दुई सय १५, मधेश प्रदेशमा ५७ र कर्णालीमा ५८ जनामा डेङ्गु पुष्टि भएको छ । संक्रमितमध्ये ८९ प्रतिशत डेङ्गु संक्रमितमाथिको तथ्याङ्कअनुसार १० जिल्लामा छन् । नेपालमा पहिलोपटक विसं २००४ सालमा देखिएको थियो । २००६ मा नेपालमा संक्रमण फैलिएको पाइन्छ । सन् २०१९ मा १४ हजार छ सय ६२ संक्रमण देखिएको थियो । विश्वमा यो रोगबाट मृत्यु हुने सरदर वार्षिक एक प्रतिशतभन्दा कम छन् । हाल नेपालको विभिन्न प्रदेशमा डेङ्गुको संक्रमण बढिरहेको छ । नेपालमा डेङ्गु भेक्टर बढ्नको लागि सहयोग पु-याउने फोहोरमैलाको अव्यवस्थापन, अव्यवस्थित बसोबास, अविरल वर्षा, वातावरण विनाश आदि हुन् ।
एडिस एजिप्टी नाम गरेको लामुखुट्टेको पोथी प्रजाति डेङ्गु सार्ने मुख्य माध्यम हो । दिनमा मानिसको रगत चुसेर बाँच्ने यो प्रजातिले मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने हुन्छ । यस प्रजातिले टोकेपछि मानिसको रगतमा भाइरस जम्मा गर्छ र शरीरमा फैलिन्छ । साथै, रगत चुसेपछि सफा पानी तथा भाँडावर्तनमा अण्डा पार्छ । एक पटकमा यसले अनगिन्ती अण्डा पार्छ । यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएको यस प्रजातिको संख्या तीव्र गतिमा बढ्छ । संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस प्रवेश गरी संक्रमण बढ्छ । मानिसमा एक पटक संक्रमण भएपछि सो प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटी मिल्छ । तसर्थ चार प्रजातिको भाइरसले एक व्यक्तिमा चारपटक संक्रमण गर्न सक्छ ।
डेङ्गु लागेको दुईदेखि सात दिनमा यसको लक्षणहरू देखा पर्छ । उच्च ज्वरो प्रमुख लक्षण हो । टाउको दुख्ने, मांसापेशी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाकी लाग्ने, वान्ता आउने, ग्रन्थी सुन्निने, पेट दुख्ने, गिँजाबाट रगत आउने, छातीमा पानी जम्ने, छटपटी हुने आदि हुन्छ । रगत धेरै खेर गएमा कलेजो तथा अन्य अंगले काम नगरी हृदयघात भई बिरामीको मृत्यु समेत हुन सक्छ । त्यसैले यस रोगको रोकथाम गर्नु आवश्यक छ । यसको लागि लामुखुट्टेको प्रजननमा रोकथाम तथा घरवरपर बसोबास हुन नदिनुपर्छ । यसका लागि फोहोरमैला तथा फोहोर पानीको आवश्यक व्यवस्थापन गरी वातावरण सफा राख्नुपर्छ । किटनाशक प्रयोग गरेको झुल प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामुखट्टे बसोबास गर्ने स्थानमा किटनाशक औषधी छर्कने, पानी जम्न नदिने, आफ्नो सुरक्षाको लागि रिपेलेन्टजस्तै लोसनको प्रयोग गर्ने, यो रोग फैलाउने लामखुट्टे बिहानदेखि बेलुका धेरै टोक्ने भएको होसियार हुने आदि कार्य गर्नुुपर्छ । डेङ्गुका लक्षण देखा पर्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ । साथै डेङ्गु प्रकोप नियन्त्रण गर्न स्थानीय सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सर्वसाधारण तथा आम जनतालाई डेङ्गुबाट बचाउन अति आवश्यक छ ।
निष्कर्षमा डेङ्गुजस्ता विभिन्न माहामारी तथा रोगको नियन्त्रणको लागि सम्बन्धित निकायले नियन्त्रण गर्न संवेदनशील हुनुपर्छ । साथै, स्वास्थ्य संस्थामा नीति, विधान र मापदण्डअनुसार चल्नुपर्छ । आवश्यक दक्ष स्वास्थ्य जनशक्ति हुनुपर्छ । स्वास्थ्य संस्था सेवाग्राहीको पहुँचमा हुनुपर्ने, औषधि, उपकरण, प्रविधि, प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको विकास हुनुपर्छ । आम नागरिकलाई प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । निःशुल्क औषधि बेलैमा उपलब्ध हुनुपर्ने, सो औषधि कति प्रकारको पाइन्छ सबै नागरिकलाई थाहा हुनुपर्ने, कमसेकम आवश्यक मापदण्डअनुसार स्वास्थ्य संस्थाका भौतिक संरचनाहरू हुनुपर्छ । स्वास्थ्य संस्था विकास समितिलाई समयअनुसार प्रशिक्षण दिनु आवश्यक छ । स्वास्थ्य संस्थामा आधुनिक सूचना प्रविधिको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीलाई आफ्नो कार्यक्षेत्रमा टिकाउन आवश्यक छ । यसो भएमा मात्र हाम्रो देशमा स्वास्थ्य संस्थाले आम नागरिकको स्वास्थ्यमा गहन भूमिका खेली डेङ्गुजस्ता विभिन्न महामारीको नियन्त्रणमा संवेदनशील हुन आवश्यक छ । यसका लागि स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्न अति आवश्यक छ । लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया