Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिटी पार्टी प्यालेसको राजस्व दाखिलामा सञ्चालकको आनाकानी

सिटी पार्टी प्यालेसको राजस्व दाखिलामा सञ्चालकको आनाकानी


विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रियस्तरको पार्टी प्यालेस सञ्चालनमा ल्याएको दाबी गर्ने सञ्चालकले राज्यले तोकेको राजस्व बुझाउन आनाकानी गरेको पाइएको छ । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा लामो समयसम्म बाबा विस्कुट उद्योग सञ्चालन गरेको विराटनगरको राठी ग्रुपका सञ्चालनकले एक वर्षअघि सो पार्टी प्यालेस सञ्चालनमा ल्याएका थिए । सो ग्रुपले सञ्चालनमा ल्याएको विस्कुट उद्योग भने बन्द भइसकेको छ ।

यस्तै, सोही ग्रुपले नै सुनसरी मोरङ औद्योगिक कोरिडोरमा नै दुई उद्योगहरू बाबा पेपर उद्योग र सनराइज पेपर मिल्स पनि सञ्चालनमा ल्याएको थियो । तर बाबा पेपर मिल सञ्चालन गर्न नसकेपछि सो ग्रुपका सञ्चालक भगवान राठीले व्यवसायी महेश अटललाई ५० प्रतिशतको पार्टनर बनाएर उद्योग सञ्चालनको जिम्मा दिएका छन् । उद्योग स्थापना गर्दै डुब्दै गरेको सोही ग्रुपले करिब एक वर्ष अगाडि विराटनगर ९ मा सिटी पार्टी प्यालेस सञ्चालनमा ल्याएको थियो । तर सञ्चालकहरूले सो पार्टी प्यालेसको राजस्व समेत तिर्न नसकेको पाइएको छ । राजस्व तिर्न नसकेपछि सो पार्टी प्यालेसका सञ्चालक पवन राठी राजस्व समूहको निगरानीमा रहेको स्रोतको भनाइ छ ।

स्रो ग्रुपमा भगवानदास राठी, विनित कुमार राठी र पवन राठी छन् । यी तिनै सञ्चालकबाट बाबा बिस्कुट सञ्चालन गर्न नसकेर बन्द भएको थियो । उनीहरूले बाबा पेपर मिल्स महेश अटललाई ५० प्रतिशतको सञ्चालक सियर दिएर सञ्चालन गराएका छन् भने पवन राठीले सनराइज पेपर मिल्स सञ्चालन गर्दै आएका छन् । यी दुवै उद्योग पनि लामो समयदेखि निरन्तर घाटामा रहेको छ । चलिरहेको उद्योग घाटामा गइरहेको समयमा सिटी पार्टी प्यालेसको निर्माण गरी सञ्चालनमा ल्याएपछि राजस्वले सोही बेलादेखि उनीहरूलाई निगरानीमा राखेको बताउन थालिएको छ ।

एक वर्ष अगाडि मात्रै पार्टी प्यालेस सुरु भएको हुँदा सूक्ष्मरूपमा सञ्चालनको प्रक्रिया र राजस्व दाखिलाको विषयमा अध्ययन भइरहेको राजस्व स्रोतले जानकारी दिएको छ । सिटी पार्टी प्यालेस निर्माण भएको स्थानमा विराटनगरको सबैभन्दा पुरानो मोरङ राइस मिल सञ्चालन भएको तथ्य समेत फेला गरेको छ । उक्त राइस मिलका नाममा धेरै लामो समयदेखि सरकारी राजस्व समेत बक्यौता देखापरेको छ । सो मिलको बक्यौता रकम असुलीको प्रक्रियामा समेत राजस्व समूहले गहिरोरूपमा अनुसन्धान सुरु गरेको छ । सुनसरीको खनारमा सञ्चालनमा रहेको सो ग्रुपको सनराइज पेपर मिलको राजस्व दाखिला पनि सन्तोषजनक नभएको स्रोतको भनाइ छ ।

सनराइज पेपर मिल र सिटी पार्टी प्यालेसको जिम्मा भगवान राठीले छोरो पवन राठीलाई दिएका छन् । उक्त पार्टी प्यालेस निर्माण गर्न सञ्चालकले दुई अर्बभन्दा बढी नै खर्च गरेको अनुमान गरिएको छ । विराटनगरसहित छिमेकी मुलुक भारततर्फका उच्च वर्ग विवाह, वैवाहिक वार्षिकोत्सवलगायतका समारोह गर्न देशबाहिर जाने चलन बढेकाले त्यस्ता उच्च वर्गलाई लक्षित गरेर सिटी प्यालेस सञ्चालनमा ल्याउने काम राम्रो भए पनि पारदर्शी बनाउन जरुरी रहेको स्थानीय बताउँछन् ।

उक्त सिटी प्यालेसमा सेवा लिनेले सरकारी करसहित पाँच लाख रुपैयाँको शुल्क राखिएको छ । यद्यपि सञ्चालकले पार्टी प्यालेस प्रयोग गरेबापत १२ लाख रकम बुझाउन अनिवार्य सर्त राखेको एक उपभोक्ताले जानकारी दिए । पार्टी प्यालेसमा ४१ वटा कोठा छन् । सुइट रुम र सुपर डिलक्स रुम भनेर सञ्चालकले अलग्गै थप चार्ज लिने गरेको गुनोसो पनि उपभोक्ताले गर्न थालेका छन् । आवश्यकताका नाममा सञ्चालकबाट पार्टी प्यालेसको निर्माण गरेर उपभोक्ताबाट असुुली मात्रै गर्न थालेको व्यापक गुनासो आएपछि राजस्वले यसको आर्थिक क्रियाकलापमा सूक्ष्म अनुसन्धान सुरु गरेको स्रोतले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया