Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगभारतीय जनताले न्यायको सास फेरेको दिन

भारतीय जनताले न्यायको सास फेरेको दिन


काठमाडौं । सोह्रौं शताब्दीमा भारतलाई ‘सुनको चरा’ भन्ने गरिन्थ्यो । यसको कारण थियो विश्वमा भएको कुल उत्पादनको एक चौथाइ सामान भारतमा उत्पादन हुनु । त्यो समयमा दिल्लीको राज्यमा मुगल बादशाह जलालुद्दीन मुहम्मद अकबरको आदेश चल्थ्यो । उनी विश्वका सबैभन्दा धनी बादशाहमध्येका एक थिए । भारत विश्वको उचाइमा रहेको समय युरोपेली देश बेलायत गृहयुद्धबाट माथि उठ्दै थियो । त्यहाँको अर्थव्यवस्था कृषिमा निर्भर थियो । विश्वको कुल उत्पादनको तीन प्रतिशत सामान त्यहाँ उत्पादन हुन्थ्यो । बेलायतमा त्यो समय महारानी एलिजाबेथको हुकुमी शासन चल्दै आएको थियो । यही समय बेलायती व्यापारी सल्फ फिच हिन्द महासागर हुँदै विश्व व्यापारमा निस्के । दक्षिणपूर्वी एसियामा व्यापार यात्रा गर्दा भारतको समृद्धिको बारेमा थाहा पाएका थिए । उनले भारतको समृद्धिको बारेमा बेलायतसम्म जानकारी गराए ।

त्यो समयमा लेभानट कम्पनीले पूर्वबाट मसला लिनको लागि दुई असफल प्रयास गरिसकेको थियो । भारतको बारेमा राल्फले दिएको जानकारीको आधारमा बेलायतमा दुई सयभन्दा धेरै पेबर व्यापारीलाई घुमन्ते सर जेम्स लानकास्टरमा अगाडि बढ्नको लागि यस क्षेत्रमा लाग्ने विचार गरियो । उनले डिसेम्बर १ सन् १६०० मा एक नयाँ कम्पनी स्थापना गरेर रानीबाट पूर्वी एसिया व्यापारमा एकाधिकार प्राप्त गरे । यस कम्पनीको नाम धेरै छ । तर, यसलाई विशेष ‘इस्ट इन्डिया कम्पनी’ को नामबाट चिन्ने गरिन्छ । क्याप्टेन विलियम हकिन्सले भारतको सुरत बन्दरगाहमा आफ्नो जहाज ‘हेक्टर’ राखेर ‘इस्ट इन्डिया कम्पनी’ को घोषण गरेका थिए ।

समय बित्दै जाँदा सर थोमस रो सन् १६१५ मा आगरा पुगेर मुगल बादशाहलाई करिब तीन वर्ष लामो प्रयास र संघर्षपछि मनाएर व्यापारको लागि सहमति गराए । जहाँगीरले इस्ट इन्डिया कम्पनीको साथमा एक व्यापारिक सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार कम्पनी र बेलायती सबै व्यापारीलाई उपमहाद्वीपको प्रत्येक बन्दरगाहमा बिक्री वितरण गर्नको लागि ठाउँको अनुमति पायो । कम्पनीको जहाजले राजमहलको लागि ल्याएका पुराना वस्तु तथा उपहार खुसीका साथ स्वीकार गर्ने निर्णय व्यापारिक सम्झौतामा गरिएको थियो । कम्पनीका व्यापारीहरूले भारतबाट कपास, पोटासियम, नाइट्रेट र चिया मुगलहरूको सहमतिबाट किन्थे । विदेशमा त्यसलाई महँगो मूल्यमा बेच्थे र नाफा कमाउँथे ।

कम्पनीको मुगलसँग सन् १६७० मा बेलायती सम्राट चाल्स द्वितीयले इस्ट इन्डिया कम्पनीलाई विदेशमा युद्ध लड्ने र उपनिवेश स्थापित गर्ने अनुमति दिए । ब्रिटिस सेनाको सशस्त्र बलले पहिलो पटक भारतमा पोर्तुगाली, डच र फ्रेन्च प्रतिद्वन्द्वी लडेर धेरैजसो युद्ध जितेका थिए । बिस्तारै उनले बंगालको समुन्द्री तटहरू आफ्नो नियन्त्रणमा लिए ।

सन् १७०७ मा बादशाह सम्राट औरंजबको मृत्युपछि विभिन्न क्षेत्रका मानिसहरू एक अर्काको विरोधमा उभिए । यही परिस्थितिको फाइदा उठाउँदै कम्पनीले लाखौँ स्थानीय मानिसलाई आफ्नो सेनामा भर्ना ग-यो । युरोपमा भएको औद्योगिक क्रान्तिको कारण युद्ध प्रविधिमा पनि दक्ष थियो । देख्दा सानो सैनिक गठन भए पनि प्रविधिको प्रयोगको कारण स्थानीय नवाबका ठूला फैजीहरूलाई यस कम्पनीले हरायो । सन् १७५६ मा नवाजब सिराज–उद–दौला बंगालको सबैभन्दा धनी अर्धस्वायत्त शासक बने । मुगल शासनको ५० प्रतिशत राजस्व उक्त राज्यमा आउने गरेको थियो । बंगाल भारतमा मात्र होइन विश्वमा नै कपडा र जहाज निर्माणको लागि प्रमुख केन्द्र थियो । यस क्षेत्रका मानिसहरू लेरेशको कपडा, स्टिल, पोटासियम नाइट्रेट र कृषि तथा औद्योगिक सामानहरू निर्यात गरी राम्रो कमाइ गर्दथे ।

इस्ट इन्डिया कम्पनीका एक निर्देशक हेनरी जज टकरने सन् १८२३ मा लेखेका छन् र भारतलाई एक औद्योगिक देशको ठाउँमा इस्ट इन्डिया कम्पनीको माध्यमबाट एक कृषि प्रधान देशमा परिवर्तन गरियो । ताकी बेलायतमा निर्माण भएको समान भारतमा बेच्न सकियोस् । सन् १८३३ मा बेलायती संसद्बाट एउटा कानुन पारित गरी इस्ट इन्डिया कम्पनीको व्यापार गर्ने अधिकार खोसियो । यसलाई एक सरकारी निगममा परिणत गरियो । यसरी भारतमा लामो समय शासन गर्ने अँग्रेज कम्पनी बेलायतको सरकारी निकाय भयो ।

सन् १८७४ मा अन्त्य भयो इस्ट इन्डिया कम्पनी विलियम डेलरिम्पले आफ्नो पुस्तक ‘द अनार्की, द रिलेन्टलेस राइज अफ द इस्ट इन्डिया कम्पनीमा लेखेका छन् । यो इतिहासको अनौंठो उदाहरण हो । जसमा एक निजी कम्पनीले आफ्नो सेना र नौसेनाको सहयोगमा २० करोड आबादीको जनसंख्यालाई दास बनाइदियो ।’ कम्पनीले सडक र पुल बनायो, रेल चलायो तर आलोचकहरू भन्छन्– ‘परियोजनाले जनतासम्म यातायातलगायतको सुविधा दियो । त्यसको एक मात्र उद्देश्य कपास, रेशम अफिम, चिनी र मसलाको व्यापारलाई विकास र प्रवद्र्धन गर्नु थियो । यसरी व्यापार गर्न आएको ब्रिटिस कम्पनी अन्ततः भारतमा २०० वर्षसम्म क्रूर शासन गर्न पुगेको इतिहास छ ।

पहिलो एक सय वर्षमा पूरै भारतभर यस्ता कयौं विद्रोहरू भएका थिए । त्यो पारम्परिक विद्रोहको अन्त्य १८५७ को सिपाही विद्रोहको साथ भएको यसको इतिहास छ । जुन विद्रोहमा स्थानीय शासक, सैनिक र किसानहरूको संयुक्त विरोध थियो । त्यो विद्रोह वास्तवमा ब्रिटिस साम्राज्यप्रति ती मानिसहरूमा उत्पन्न भएको असन्तोष, घृणा र विद्रोहको भावना तथा ब्रिटिस शासनप्रतिको विरोधको परिणाम थियो । ब्रिटिस साम्राज्यवाद विरोधी त्यस्ता आन्दोलनहरू विफल भएका भए पनि ती आन्दोलनले परिवर्तनका नायकहरू पैदा गरिदिएको थियो र त्यसले भारतीय जनताका बीच एकताको दृढ भावना उत्पन्न गरिदिएको थियो ।

त्यस्ता विद्रोही नायकमध्ये मंगल पाण्डेलाई भारतमा विद्रोहका एक महान नायक मानिने गरिन्छ । त्यस्तै गरेर अन्य ब्रिटिस विरोधी स्वतन्त्रताका योद्धाहरूमा रानी लक्ष्मी बाई, तात्या टोपे र नाना शाहेब समेत रहेका छन् । तिनले नेतृत्व गरेका विद्रोहले जनस्तरको ब्रिटिस शासनको जग हल्लाइदिएको थियो । जनताको त्यो विद्रोहको आँचले गर्दा नै अन्ततः भारतको सत्ता ब्रिटिस इस्ट इन्डिया कम्पनीबाट हटाएर ब्रिटिस क्राउन अर्थात् बेलायती राजतन्त्रमा सारिएको थियो ।

१८८५ देखि १९०५ का बीचको समयमा भारतमा राष्ट्रवादको बीउ रोपिएको मानिन्छ । एकजना सेवा निवृत्त ब्रिटिस स्वयम्सेवक एओ ह्युमको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेसको गठन भएको थियो । १९०५ मा भारतमा बढ्दो राष्ट्रवादको भावनालाई नियन्त्रणमा लिनका लागि भाइसराय कर्जनले बंगाल विभाजनको आरम्भ गरे । त्यसबाट त्यहाँ स्वदेशी आन्दोलनको सुरुवात भयो र ब्रिटिस सामानको बहिष्कार भयो । यसरी लर्ड कर्जनको त्यो योजनाका विपरीत सारा भारतवासीहरू एकजुट भएर अघि बढे ।

त्यसको एक वर्षपछि गंगाधर तिलक, बिपिन चन्द्र पाल र अरबिन्द घोषहरूले स्वराजको वकालत गरे । १९१९ मा रोलोट अधिनियमका विरुद्ध लाला लाजपत रायको नेतृत्वमा व्यापक राष्ट्रिय अभियान सुरु भयो जसमा उनी गम्भीररूपले घाइते हुन पुगे ।

काकोरी षड्यन्त्रको मामिलामा रामप्रसाद बिस्मिल र अस्फाखउल्ला खानलाई फाँसी दियो । चन्द्रशेखर आजाद र खुदिराम बोस त्यो समयका महत्वपूर्ण क्रान्तिकारी थिए । मार्च १९३१ म एकपछि अर्को षड्यन्त्रको शृङ्खलापछि भगत सिंह, राजगुरु र सुखदेवलाई पनि फाँसी दिइसकेको थियो । कतिपय अन्य क्रान्तिकारी समूह पनि थिए । त्यस्ता समूहमध्ये एक थिए सूर्य सेनको नेतृत्वको बंगालको चटगाउँको समूह । यो त्यतिबेलाको कुरा थियो जतिबेला भारतीय आन्दोलनको राजनीतिक परिदृष्यमा महात्मा गान्धी आइसकेका थिए । उनको मुख्य योगदान उनको अहिंसक आन्दोलन र सत्याग्रहलाई मानिन्छ । उनको मूख्य विश्वास सत्य, अहिंसा र मानिसमाथिको प्रेम मानिएको थियो । उनको आफ्नो आश्रम सावरमति आश्रमदेखि दण्डीसम्म मार्च गरेर गान्धीले नुन आन्दोनलको आरम्भ गरेका थिए । दोश्रो विश्वयुद्धका बेला सुभाषचन्द्र बोस आफ्नो समयको एक शक्तिशाली नेता बनेर देखा परे । उनले आजाद हिन्द फौजकै गठन र त्यसको नेतृत्व गरिरहेका थिए । त्यसबेला कयौँ महिला नेताहरूले पनि साम्राज्यवाद विरोधी स्वतन्त्रताको आन्दोलनमा सक्रिय भाग लिएका थिए । तीमध्ये अरुणा आसफ अली, सरोजिनी नायडु, भिकाजी कामना, सुचेता कृपलानीहरूको नाम भारतको स्वतन्त्रता संग्राममा अग्रपङ्क्तिमा आउँछ ।

सन् १९४२ देखि ‘भारत छोडो’ आन्दोलन त्यहाँ सुरु गरियो । त्यसमा ब्रिटिस साम्राज्यवादलाई चाँडोभन्दा चाँडो भारत छोड्न माग गरिएको थियो । आन्दोलन चर्किदै गएपछि जुन १९४७ मा लर्ड माउन्टबेटनले भारतको विभाजन गर्ने योजनाको घोषणा गरे । अगस्ट १९४७ मा भारतलाई दुई देशका रूपमा बाँडियो । वास्तवमा भारतको स्वतन्त्रता संग्रामअनेक विद्रोह र सशस्त्र संघर्षका समेत अनेक साना ठूला चरणबाट गुज्रिएको थियो । ब्रिटिस दासताको परिमाण एक सुन्दर देश स्वतन्त्रता संग्रामको अन्तिम विकल्प भारतको विभाजन बन्न पुग्यो । त्यो वास्तवमा स्वतन्त्रता संग्रामको उद्देश्य र लक्ष्य विपरीतको अस्वीकार्य कार्य थियो । भारतलाई दुई भागमा विभक्त गरेर बेलायतीहरू फर्किए । त्यो भारतको विभाजन धार्मिक आधारमा गरिएको थियो । फलतः पाकिस्तान इस्लामी राष्ट्र बन्यो र भारतलाई धर्म निरपेक्ष देश भनियो । आज भारतले स्वतन्त्रता पाएको दशकौँ बितेर गइसकेपछि पनि यो प्रश्न बारम्बार उठिरहेको छ र उठिरहन्छ कि त्यो विभाजन सही थियो कि थिएन ? त्यसलाई टार्न सकिन्थ्यो कि सकिँदैन’थ्यो ? त्यो विभाजनले भारत र पाकिस्तान दुवैलाई बर्बाद तुल्यायो । विभाजनपछि भएको पलायनले मानिसलाई अन्त्यहीन पीडा र दुःख कष्ट दियो । त्यो देशको विभाजन त भयो नै पञ्जाब र पश्चिम बंगाल राज्यहरूको पनि विभाजन भयो । त्यसो गरिँदा कयौँ दंगा फसादहरू भए, कयौँ मानिसको ज्यान पनि गयो । हिन्दु र मुसलमानले यसमा शासनयन्त्रको एउटा औजारको रूपमा महिला शक्तिलाई उपयोग गरे । जे होस्, ब्रिटिस साम्राज्यवादको पञ्जाबाट १५ अगस्टका दिन भारत स्वतन्त्र भएको थियो । त्यस दिन मध्यरातमा स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले भनेका थिए । ‘धेरै वर्ष पहिला हामीले भाग्यसँग साक्षात्कार ग¥यौँ र अब समय आएको छ कि हामीले आफ्नो प्रतिज्ञा पूरा गर्नु छ । आधारातको समयमा जब सारा संसार सुतिरहेको होला त्यतिबेला भारत आफ्नो जीवन र स्वतन्त्रताको लागि जागेको छ ।’

वास्तवमा आज पनि भारत र पाकिस्तानको त्यो विभाजनको घाउ पुरिएको र खाटा बसेको छैन । बरु उल्टै सीमा विवादका कारण दुई देशका बीच परस्परमा कयौँ पटक युद्ध पनि भएको छ । आधिकारिक सीमा निर्धारित भएको भनिए पनि यो विवाद अहिलेसम्म सुल्झिएर समाप्त भएको छैन । कश्मिरमाथिको अधिकारको मुद्दालाई लिएर आज पनि त्यहाँ गतिरोध कायमै छ । खास गरेर कश्मिर मामिला वषौँ वर्षदेखि सुल्झिएको छ्रैन । यो गतिरोधपूर्ण अवस्थाकै रूपमा रहेको छ । त्यही सीमारेखाको समस्यालाई लिएर पछिल्लो पटक कारगिल युद्ध पनि भएको हो । दुवै देशका बीच अहिले पनि खिचातानी र दुश्मनी रहेकै छ । भारतले कश्मिरलाई दिएको विशेष संवैधानिक हैसियतलाई पनि मोदी सरकारले समाप्त पारेपछि पनि यो मुद्दा नसुल्झिएकै अवस्थामा रहिरहेको छ । कारगिल युद्ध त्यही सीमारेखाको समस्यालाई लिएर भएको हो । यो समस्या अहिले पनि जारी नै छ ।

सर्सरी हेर्दा स्वतन्त्रता संग्राम र त्यसपछि यता भारतले लामो यात्रा गरिसकेको छ । भारतका कतिपय क्षेत्रमा विकास यात्रा निक्कै अगाडि पनि बढेको छ । खासगरी विज्ञान र प्रविधि तथा सूचना र सञ्चारको क्षेत्रलाई यस सम्बन्धमा औँल्याउन सकिन्छ । यसका अतिरिक्त स्वास्थ्य, शिक्षा, परमाणु ऊर्जामा पनि निकै प्रगति हासिल गरेको देखिन्छ र भारत पनि परमाणु शक्तिमा दरिएको छ । भारतले अन्तरिक्षमा उपग्रह पनि छोडिसकेको छ । तर अझै पनि भारतले उन्नत देशको दाँजोमा पुग्न धेरै कुरा गर्न बाँकी रहेको छ ।

भारतको स्वतन्त्रताका लागि धेरै स्वाधीनताप्रेमी जनताका प्रतिनिधिहरूले आफ्नो जीवनको आहूती दिएका छन् । कठोर संघर्ष र बलिदान गरेका छन् । असह्य पीडा र दण्ड सजायको भागी बनेका छन् । भारतीय स्वतन्त्रता दिवसको स्मरण गरिरहँदा ती मानिसहरूलाई श्रद्धाञ्जलि दिनै पर्छ, जसले आफ्नो सुन्दर जीवनको कुर्वानी दिएर ब्रिटिस साम्राज्यको दुई सय वर्षको दासताबाट स्वतन्त्रता र मुक्तिको सास फेर्ने एउटा मिर्मिरे ल्याउन सफल भए । भारत स्वतन्त्र भएको आज ७५ वर्ष पुगेको छ । यस अवसरमा भारत सरकारले ७५औँ स्वतन्त्रता दिवसको विशेष कार्यक्रम गरिरहेको छ । भारतलाई स्वतन्त्रता दिलाउन केही महापुरुषहरूले महत्वपूर्ण भूमिका खेलेका छन्, उनीहरूले आफ्नो प्राण गुमाएर मित्र राष्ट्र भारत स्वतन्त्र राष्ट्र बनाएका छन् । भगत सिंह, रानी लक्ष्मी बाई, चन्द्र शेखर आजाद, सुभाष चन्द्र बोस, मंगल पाण्डे, राजगुरु, सुखदेव, महात्मा गान्धीलाई आज प्रत्येक भारतीयहरूले एक पटक फेरि सम्झनैपर्छ । १९४७ मा भारत अंग्रेज शासन हटाएपछि अंग्रेजको दासत्वबाट पूर्णरूपमा मुक्त भएको दिन । जसमा देशका कैयौँको बलिदानको योगदानले मात्र यो स्वतन्त्रता प्राप्त गर्न सकेको थियो । वीरहरू योगदानको स्मरण गर्दै, प्रत्येक वर्ष यो दिनलाई स्वतन्त्रता दिवसको रूपमा मनाउने गर्छन् । आज भारत विश्वको एक शक्तिशाली मुलुक बन्दै गएको छ । छिमेकी शाक्तिशाली बन्नु आफ्नो देश पनि त्यही दिशामा जानु हो । नेपाल र भारतबीचको सम्बन्ध पनि थप मजबुत बन्नु हो । दुई देशबीचको यो जनमैत्री अमर रहोस् । (लेखकः– नेपाल भारत मैत्री संघका उपाध्यक्ष हुन्)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया