Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्माण व्यवसायीको तेस्रो चरणको आन्दोलन सम्पन्न

निर्माण व्यवसायीको तेस्रो चरणको आन्दोलन सम्पन्न


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन मंगलबारबाट सम्पन्न भएको छ । आन्दोलनको अन्तिम दिन महासंघले मंगलबार सडक र सिँचाइ विभागमा नाराबाजीसहित धर्ना दिँदै दुवै कार्यालयमा सांकेतिक तालाबन्दी गरेको छ ।

शान्तिपूर्ण आन्दोलन गर्ने रणनीतिअनुसार व्यवसायीले सेफ्टी ज्याकेट, हेल्मेट र हातमा कालो पट्टी बाँधेर सांकेतिक तालाबन्दी गरेका हुन् । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा धर्नासहित सांकेतिक ताला लगाएको थियो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष ई. आङ दोर्जी लामा (एडी) नेतृत्वको टोलीले सिँचाइ विभागमा नाराबाजी गर्दै सांकेतिक ताला लगाएको हो ।

यसैबीच आन्दोलनरत महासंघलाई छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिक पत्र आएपछि महासंघको मंगलबार सम्पन्न कार्य समिति बैठकले अध्यक्ष रवि सिंहको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । महासंघले सरकारबाट छलफलका लागि बोलाइनु सकारात्मक भएको ठहर गर्दै माग पूरा नभएसम्म सांकेतिक प्रदर्शन भने जारी राख्ने भएको छ । जसअन्र्तगत ७७ जिल्ला संघहरूले बुधबारदेखि आ—आफ्नो कार्यालयमा महासंघको नौ बुँदे मागसहितको ब्यानर राख्ने भएका छन् ।

व्यवसायीहरूको अरबौँ रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्नेलगायतका नौ बुँदे माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा रहेको महासंघका प्रवक्ता शिवहरि घिमिरेले जानकारी दिए । आन्दोलनका कार्यक्रमअन्र्तगत व्यवसायीले साउन १४ यता सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद्, माइतीघर मण्डला र सिंहदरबार अगाडि शान्तिपूर्ण धर्ना दिइसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया