बौद्ध विचारधाराको अर्थशास्त्रीय दृष्टिकोण
काठमाडौं । महामानव गौतम बुद्धले सम्पूर्ण सृष्टि पञ्चमहाभूत (पृथ्वी, जल, वायु, अग्नि र आकाश)बाट निर्माण भएको हो भन्ने मान्यताबाट अगाडि बढ्दा बौद्ध अर्थशास्त्रलाई एक प्राकृतिक विज्ञानको शाखाको रूपमा परिभाषित गर्न सकिन्छ । बौद्ध अर्थशास्त्र अर्थशास्त्रको लागि आध्यात्मिक दृष्टिकोण हो । यसलाई मध्यमार्गी अर्थशास्त्र पनि भन्न सकिन्छ, जसले आफूलाई वा अरूलाई हानि गर्नुहुँदैन भन्ने मान्यता राख्छ ।
अर्थशास्त्रको मुख्य उद्देश्य भनेको मानिसको कल्याणमा वृद्धि गर्नु हो भने बौद्ध विचारधाराको लक्ष्य अन्तिम शान्ति र सन्तुष्टि प्राप्त गर्नु हो । यसरी बौद्ध सिद्धान्तलाई आर्थिक दृष्टिकोणबाट हेर्दा निर्माण हुने अर्थ दृष्टि नै बौद्ध अर्थशास्त्र हो । बौद्ध दृष्टिकोणबाट आर्थिक सिद्धान्तहरू मानव अस्तित्वका तीन अन्तरसम्बन्धित पक्षसँग सम्बन्धित छन्; मानव, समाज र प्राकृतिक वातावरण । प्राकृतिक नियमकै आधारमा बुद्धले केही सिद्धान्तहरू बताएका छन्, जसलाई बौद्ध अर्थशास्त्रको मूल तत्वको रूपमा मानिन्छ । (१) समानता र साधन श्रोतको समान वितरण (२) इच्छामाथिको नियन्त्रणबाट दुःख कम गर्न सकिन्छ, (३) सम्यक आजीविका र (४) सबैका लागि आर्थिक कल्याण बौद्ध अर्थशास्त्रका प्रमुख सिद्धान्तहरू हुन् । यिनै सिद्धान्त वरिपरि बौद्ध अर्थशास्त्र केन्द्रित रहन्छ ।
अर्थशास्त्रले वस्तुको उत्पादन, मूल्य र सन्तुष्टिबारे अध्ययन गर्दछ । बौद्ध अर्थशास्त्रले पनि वस्तु तथा सेवाको के–कति र कसरी उपयोग गर्दा सन्तुष्टि अधिकतम बनाउन सकिन्छ । सोहीअनुसार वस्तुको मूल्य कायम गर्नुपर्ने बताउँछ । आधुनिक अर्थशास्त्रको पूर्ति पक्ष नाफा सिर्जनामा केन्द्रित हुन्छ र बौद्ध अर्थशास्त्रले आवश्यकताको आधारमा कति वस्तु तथा सेवाहरू उपभोग गर्नु जीवनका लागि उपयोगी हुन्छ भन्ने कुरा बताउँछ । अर्थात् बौद्ध विचारधाराले न्यून उपभोगबाट अधिकतम सन्तुष्टिको मार्ग खोज्ने प्रयत्न गर्दछ । त्यसैले बौद्ध विचारधारा अर्थशास्त्रको नजिक हुन्छ भनी मान्न सकिन्छ ।
मानिस–मानिसबीच र मानिस–प्रकृतिबीचको अन्तरनिर्भरतालाई स्वीकार गर्दै, बौद्ध अर्थशास्त्र ढाँचाले हामीलाई विश्वव्यापी स्रोतहरू प्रयोग गरी आरामदायी र खुसी जीवन जिउन सकिने कुराको मार्गदर्शन गर्छ । साथै, विश्वव्यापीकरणको रूपमा मानिस–मानिसबीच भाइचारा कायम गर्न मद्दत मिल्नुका साथै हाम्रो इकोसिस्टमलाई पनि सन्तुलित राख्न सहयोग गर्दछ भन्ने कुरामा बौद्ध अर्थशास्त्रले जोड दिन्छ ।
बुद्धका अनुसार आफ्नो आम्दानीलाई चार भागमा बाँड्नुपर्छ । पहिलो भाग आफ्नो उपभोगका लागि छुट्याउनुपर्छ । दोस्रो भाग भविष्यमा आउन सक्ने बाधा व्यवधानको समाधानका लागि छुट्याउनु पर्छ । तेस्रो भाग भाविष्यमा आयआर्जन हुने क्षेत्रमा लगानी गर्नुपर्छ र चौथो अर्थात् अन्तिम भाग उसको बच्चाबच्ची आमा बुवा पविार, साधु सन्त आदिको लागि छुट्याउनुपर्छ । यसरी हेर्दा बौद्धकालीन समयमा आम्दानीको ५० प्रतिशत उपभोग र ५० प्रतिशत बचतका लागि खर्च गरिनु उचित आर्थिक व्यवस्थापन मानिन्थ्यो, जुन आजको समयमा पनि व्यावहारिक देखिन्छ । २० देखि ३० प्रतिशतको बचतलाई बढाएर ५० प्रतिशतमा पु-याउन सकिने हो भने यसले बजारमा माग प्रेरित मुद्रास्फीति नियन्त्रणमा सहयोग पु-याउनुका साथै वित्तीय क्षेत्रको तरलता समस्या समाधानका लागि पनि सहयोग पुग्न जान्छ । त्यसैले बौद्ध अर्थशास्त्रको सान्दर्भिकता आज पनि उत्तिकैरूपमा रहेको
मान्न सकिन्छ ।
बुद्धका विधारधाराहरू आर्थिक समस्याहरू समाधान गर्न निकै महत्वपूर्ण मानिन्छन् । वर्तमानमा पनि बृहत् आर्थिक समस्याहरू समाधान गर्दै सरकारलाई नीति निर्माण गर्न पनि बौद्ध अर्थशास्त्रीय दृष्टिकोण उपयोगी सावित देखिन्छ ।
नेपालमा हाल उच्च उपभोग प्रवृत्तिका कारण उच्च व्यापारघाटा रहेको देखिन्छ । यसलाई कम गर्न आफूलाई आवश्यकताको क्षेत्रमा मात्रै उपभोग गर्ने बौद्ध विचारधारालाई आत्मसात् गर्न सके व्यापारघाटा कम गर्न सकिन्छ र देशको विदेशी मुद्रा सञ्चितिलाई बढाउन सकिन्छ । यसका साथै बचत बढाई लगानीमा वृद्धि गर्न सकिन्छ । यसरी व्यक्तिगत माग घट्यो भने समग्र माग घट्न गई मुद्रास्फीति नियन्त्रण गर्न सकिन्छ । साथै, बौद्ध अर्थशास्त्रले भनेझैं सामूहिक खेती र सामूहिक उत्पादनमार्फत् पूर्ति बढाएर पनि मुद्रास्फीति माथि नियन्त्रण प्राप्त गर्न सकिन्छ ।
बौद्ध अर्थशास्त्रको एउटा अर्काे मुख्य विचार भनेको सफिसियन्ट इकोनोमी हो । अर्थात् हामीले गर्ने मागले वास्तवमा हाम्रोे सन्तुष्टिलाई पूरा गर्दछ या हामी धेरै लोभी भएर माग गरेका छौँ ? यो कुराको निक्र्यौल आफैँले स्वयम् गरेर मात्र वस्तु तथा सेवाको माग गर्नु न्यायोचित हुन्छ । जसले गर्दा वस्तुको वास्तविक मूल्य सिर्जना गर्न मद्दत पुग्दछ । यही कारणले अत्यधिक नाफाभन्दा पनि न्यायोचित नाफा सिर्जना गर्छ । यसले अर्थतन्त्रमा कालोबजारी, मूल्यवृद्धिजस्ता समस्याहरू आउन दिँदैन । अतः यस्ता समस्याहरू समाधान गर्न आधुनिक समयमा समेत बौद्ध अर्थशास्त्रको सान्दर्भिकता देखिन्छ ।
यदि निर्वाण प्राप्त गर्ने हो भने अलोभ, अदेश, अमोहको बाटो हुँदै मध्यमार्गी विचारधाराको अंगीकार गर्नुपर्छ । यदि व्यक्तिले आफ्नो व्यक्तिगत चाहनालाई सीमित बनाई न अधिक न कम अर्थात् उचित चाहना राख्यो भने त्यसले व्यक्तिगत सन्तुष्टिका साथै राष्ट्रिय सन्तुष्टिलाई बढाउँछ । त्यति मात्र होइन वस्तु तथा सेवा उत्पादन र उपभोग गर्दा स्वयम् उत्पादक र उपभोक्ता वा अन्य कसैको पनि अहित हुनुहुँदैन भन्ने कुरालाई ध्यान दिनुपर्छ । जसले मुलुकको राष्ट्रिय खुसीलाई बढाउन सक्छ । जुन बौद्ध अर्थशास्त्रको सुन्दर पक्ष पनि हो ।
सामूहिक भावनाको विकास, सामाजिक शान्तिको जर्गेना, सीमित इच्छाको भावना, हिंसा र दुःखको अन्त्यजस्ता कुरामा बौद्ध अर्थशास्त्रले जोड दिन्छ । अहिंसायुक्त समाज निर्माणका लागि आर्थिक क्रियाकलाप सामूहिकरूपमा गर्नुपर्ने मान्यता बौद्ध अर्थशास्त्रको छ । जस्तै, सामूहिक खेती । यसले कृषि खेतीमा मानिसको आकर्षण बढाउँछ, उत्पादित वस्तुको मूल्य गठन समुदायमा आधारित हुन्छ र यसले स्थानीयस्तरमा बढी लाभ सिर्जना गराउँछ ।
बौद्ध अर्थशास्त्रले पुँजी प्रधान प्रविधि र उत्पादनमा प्राविधिक प्रयोग नभई श्रमको उपयोग, श्रमको सम्मान, व्यवस्थापन र श्रमिक बीचको सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने तर्क राख्छ । त्यसैगरी बौद्ध अर्थशास्त्रमा सानो र सुन्दर साथै थोरैबाट अधिक कुराको वकालत गर्छ । अर्थात्, अधिक परिणामले खुशी दिन सक्दैन बरु सानो र व्यवस्थित भएमा त्यो नै सुन्दर अर्थतन्त्र कहलिन्छ । यसका साथै बढी उपभोग गर्दैमा सन्तुष्टि मिल्ने होइन, बरु थोरैबाट अधिक सन्तुष्टि लिन सक्नु नै उपभोगको कला र सम्यक मार्ग हो । यसले दीर्घकालीन सन्तुष्टि र स्वाधीन अर्थतन्त्रमा सहयोगी भूमिका निर्वाह गर्छ ।
सामूहिक खेती तथा उत्पादन, स्थानीय स्रोत साधनको उपयोग, श्रम विभाजन, साधन स्रोतको उचित बाँडफाँट, उत्पादन र व्यवसायमा न्यायोचित नाफा, उपभोगमा सजगता (न्यून उपभोगबाट अधिकतम् सन्तुष्टि), सामाजिक कल्याण र खुशीको प्राप्ति बौद्ध अर्थशास्त्रका मूलभूत तत्वहरू हुन् । यी पक्षहरूलाई आधुनिक अर्थशास्त्रसँग जोड्न सके स्वाधीन अर्थतन्त्रमार्फत् सबल राष्ट्रनिर्माणका लागि सहज हुन्छ । साथै, मुलुकको कुल राष्ट्रिय खुशीमा वृद्धि गर्न सकिन्छ ।
भुटानको राष्ट्रिय खुशीको अवधारणा र थाइल्याण्डको सफिसिएन्ट इकोनोमी बौद्ध अर्थशास्त्रकै उपज हुन्, जुन अर्थशास्त्र अध्ययनका लागि एक नवीनतम् विषयवस्तु बन्न पुगेका छन् । त्यसैले बौद्ध विचारधारालाई मुलुकको बृहत् आर्थिक चरणहरूको सुधारका लागि प्रयोग गर्नु बौद्ध अर्थशास्त्रीय दृष्टिकोण मान्न सकिन्छ । यो एक प्रायोगिक विज्ञान हो, जुन समस्यारहित दिगो आर्थिक विकाससँग सम्बन्ध राख्छ । ग्लोबल वार्मिङका कारण पर्यावरणमा भएको क्षति, महामारी, आर्थिक सुस्तीजस्ता समस्यासँग जुध्न बौद्ध अर्थशास्त्रले मध्यमार्गी बाटो देखाउँछ । त्यसैले बौद्ध अर्थशास्त्रले दिगो विकासको अवधारणालाई व्यावहारिकरूप प्रदान गर्न पनि मद्धत गर्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया