Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वदेशमै अवसर खोज्न युवालाई अर्थमन्त्रीको आग्रह

स्वदेशमै अवसर खोज्न युवालाई अर्थमन्त्रीको आग्रह


काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले स्वदेशमा नै उद्यमशीलताको अवसर खोज्न युवालाई आग्रह गरेका छन् । उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने उनको भनाइ छ ।

राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले बुधबार राजधानीमा आयोजना गरेको ‘इन्टरप्रेनरसीप मोटिभेसन कन्क्लेभ’मा उनले विदेश जानेबित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवालाई मुक्त हुन आग्रह समेत गरे । ‘हामीकहाँ विकास हुन बाँकी छ । यसकारण यहाँ अवसर प्रशस्त छ । विदेशमा सबै भौतिक सुविधा हुँदा पनि त्यहाँ खुसी छैन, बाहिरबाट सबै सुविधा देखिए पनि भित्र खोक्रो छ’, उनले भने, ‘अवसर हेर्ने सूक्ष्म आँखा चाहियो यही अवसर खोज्नेलाई सरकारले अनुदान, सस्तो ऋण, कर छुटलगायतका सुविधा दिइरहेको छ ।’ अहिले युवामा विदेश गएन भने आफ्नो हैसियत सानो र कमजोर भएको भन्ने गलत सोचाइ हाबी हुँदै गएको उनले बताए ।

यस्तै, अर्थमन्त्री डा महतले मुलुकको अर्थतन्त्र लयमा फर्किएको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच राख्नुपर्नेमा जोड दिए । अहिले पर्यटन क्षेत्र सुधार हुँदै गएको र सूचना प्रविधिका क्षेत्रमा पनि नेपालको राम्रो सम्भावना देखिन थालेको उनको भनाइ थियो । चालू आर्थिक वर्षको बजेटबाट सरकारले सूचना प्रविधि क्षेत्रको सेवा निर्यातका लागि सहजीकरण गरेको उनले बताए । अहिले प्रविधिको प्रयोगले बजारीकरण गर्न सजिलो भएको उनको भनाइ छ ।

यस्तै, पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले उद्यमशीलता प्रवद्र्धनका लागि सरकारले लिएका नीति र योजनाको लाभ युवाले पाउन नसकेको बताए । उद्यमशीलतालाई प्रोत्साहन गरी युवालाई उद्यमशीलतामा कसरी जोड्ने भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आएको उनको भनाइ थियो । उद्यमशीलता व्यक्तिको अन्तरनिहीत गुण भएकाले आयात गरेर वा सिकेर नहुने उनले बताए । जोखिम लिएर व्यवसाय गर्ने र अरूलाई उदाहरण दिन सक्नेगरी नेतृत्व गर्नसक्ने क्षमता आफूभित्रबाट विकास गर्नु उद्यमशीलता भएको उनको भनाइ छ । यस्तै, उनले नेपालमा भर्खरै उद्यमशीलताको विकास हुन थालेको बताए । उनले अहिले विकास भएका उद्यमशीलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले युवा लक्षित उद्यमशीलता कार्यक्रमका लागि बैंकिङ क्षेत्रले १० प्रकारका सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको बताए । विगतमा युवालक्षित सात वटा कर्जा योजना रहेकोमा बैकले अहिले १० वटा बनाएको उनले जानकारी दिए । २०७५ सालदेखि युवा उद्यमीलाई बैंकले सहुलियतपूर्ण कर्जाको माध्यमबाट अगाडि बढाउन कोसिस गरिरहेको उनको भनाइ थियो । सो कर्जाको लाभ युवाले लिन सक्नुपर्नेमा उनले जोड दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया