Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयातमा अनिवार्य स्टिकरले अवैध व्यापार बढाउने व्यवसायीको चिन्ता

आयातमा अनिवार्य स्टिकरले अवैध व्यापार बढाउने व्यवसायीको चिन्ता


काठमाडौं । तयारी वस्तुको पैठारीमा लेबलिङ स्टिकर अनिवार्य गर्दा अवैध व्यापार बढ्ने चिन्ता आयातकर्ताहरूले बताएका छन् । इम्पोटर्स एसोसिएसन अफ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी पैठारीमा लेबलिङ स्टिकरको जटिलता तथा सम्भावित उपायका विषयमा सुझावपत्र बुझाउँदै अवैध व्यापार झन् बढ्न सक्नेतर्फ ध्यानाकर्षण समेत गराएको हो ।

संघले यो व्यवस्थाको लक्ष्य राम्रो भए पनि कार्यान्वयन जटिल रहेको र परिणाम उल्टो आउन सक्ने भन्दै सचेत गराएको छ । सरकारले ल्याएको आर्थिक ऐन, २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा ९४० बमोजिम पैठारी हुने मालवस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल अनिवार्य गरिएको छ । संघका सल्लाहकार पवन अग्रवालका अनुसार ४० प्रतिशत ग्रे मार्केट भएको मुलुकमा व्यवस्थितरूपमा आयात गरिरहेका व्यवसायीमाथि स्टिकरको भार थपिँदा अवैध आयात झनै बढ्न सक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

‘दैनिक २५ करोड स्टिकर खपत हुने भएकाले राज्यले यसका निमित्त वार्षिक १० अर्ब खर्चनुपर्ने देखिन्छ’, उनले भने, ‘एकातिर हाम्रो ठूलो लगानी स्टिकरमा हुने र अर्कोतर्फ ग्रे मार्केटवालाले यसको दुरुपयोग गर्दै हामी वैधानिकरूपमा आयात गर्नेलाई झन् कमजोर बनाउन सक्ने जोखिम देखिएको हामीले प्रधानमन्त्रीलाई जानकारी गरायौँ ।’ अनधिकृतरूपमा पैठारी हुने मालवस्तुलाई नियन्त्रण तथा नियमन गर्नका लागि ल्याइएको कानुनी व्यवस्थाले पैठारीकर्र्ता तथा वितरकसामु धेरै ठूलो चुनौती थपिदिएको संघले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख छ ।

त्यस्तै, नेपाल सरकारको उद्देश्य पनि पूरा हुने र पैठारीमा हुने सहजताको लागि आफूहरूले समाधान दिनका लागि सुझाव समेत उल्लेख गरेको पत्रमा भनिएको छ । संघले आयातकर्ता भन्सार विभागमा दर्ता गराउने तथा अधिकृत आयातकर्ताको सबै विवरण राख्ने व्यवस्था गरिए स्टिकर आवश्यक नपर्ने बरु यसरी दर्ता नभएका व्यवसायीको हकमा स्टिकरको व्यवस्था गर्न सकिने सुझाव दिएको छ । यस्तै, संघले प्रधानमन्त्रीको अध्यक्षतामा उद्योग र व्यापारसम्बन्धी नयाँ कमिटी गठन गरी नयाँ लगानी भित्र्याउन र व्यवसायीका समस्या समााधानको पहल गर्न सुझाव दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया