Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसंविधान विपरीतको काम अस्वीकार्य

संविधान विपरीतको काम अस्वीकार्य


काठमाडौं । सरकारबाट देशको प्रचलित नियम, कानुन र संविधान विपरीत काम भयो भने त्यसलाई खबरदारी गरेर सच्याउन बाध्य पार्ने वैधानिक संस्था हो, विपक्ष । त्यसो त सरकार हो भन्दैमा यस्तो काम गर्न मिल्दैन । तर कतिपय अवस्थामा आफूलाई सजिलो पार्नका लागि सत्ताले त्यस्तो गर्छ । त्यही बेला र ठाउँ हो विपक्षीले सदन र सडक दुवैतिरबाट सरकारलाई सच्चिन बाध्य पार्ने गरी काम गर्नु । विपक्षबाट गरिने अपेक्षा पनि त्यही हो । जब देशका प्रचलित कानुनले काम गर्न पाउँदैन, त्यस्तो बेला सुशासनको परिकल्पना पनि गर्न सकिँदैन । देशमा बलियो प्रतिपक्ष छ भने यस्तो हुन पाउँदैन । खासगरी संसद् चलिरहेको बेलामा त सरकारभन्दा प्रतिपक्षले के गरिरहेको छ भन्नेतिर मुलुकको ध्यान तानिएको हुन्छ । तर हामीकहाँ कस्तो देखियो भने विपक्ष नै लामो समयदेखि संविधान र नियम विपरीत काम गरिहेको देखियो । यो पनि अरूले होइन, उसैले भनिरहेको छ ।

सन्दर्भ हो विपक्षले निरन्तररूपमा गरिरहेको संसद्को अवरोध । चालू अधिवेशन आमनिर्वाचनपछिको दोस्रो हो । यही अधिवेशनमा विपक्षीले संसद् अवरोध गरेको संख्या गनियो भने छैटौँ हुन्छ । पछिल्लो अवरोध त निरन्तर कायम रहेको महिना नाघेको छ । तर प्रतिपक्षले गरेको यो अवरोध संविधान र नियम विपरीत रहेको भनी अवरोधकर्ता दलकै उपनेताले सार्वजनिक मञ्चमा बताइसकेका छन् ।

संसद्–सञ्चारसम्बन्धी विषयको सार्वजनिकरूपमा आयोजित एउटा अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका उपनेताले जे भने त्यो आफैँमा उसले गरेको संसद् अवरोधको काम गर्न नहुनेमा पर्दो रहेछ । उनकै शब्दमा उहिलेदेखि अहिलेसम्म अविचलित, अडिग, संसद्मा अवरोध नियमसंगत होइन  । संविधानले अवरोध गर्ने कुरालाई अनुमति दिएर राखेका छैनन्, नियमले पनि अवरोधको कल्पना गरेको छैन, नियमबमोजिम अवरोध हुँदैन, नियममा अवरोधको व्यवस्था छैन तर यस्तो हुँदाहुँदै पनि दलहरूले राजनीतिकरूपमा संसद् अवरोध गर्छन्  । त्यसरी अवरोध गरेमा त्यो संसद् अवरोधलाई जस्टिफाइ (औचित्य पुष्टि) गर्ने जिम्मा सम्बन्धित दलको हो, अहिले मेरो दल त्यसमा (संसद् अवरोधमा) छ भने त्यसलाई जस्टिफाइ गर्न सक्नुपर्छ ।

प्रमुख प्रतिपक्षी दलका यी उपनेता संसदीय अभ्यासका त्यस्ता व्यक्ति हुन् जो पटकपटक सभामुख भए । अहिलेको संविधान निर्माण गर्ने सभाका उनी अध्यक्ष पनि हुन् । उनको भनाइलाई मान्ने हो भने उनी उपनेता भएको दलले कम्तीमा यो संविधानअनुसार चाहिँ अवरोधका नाममा असंवैधानिक काम गरिहेको छ । तर दुःखद्् पक्ष के हो भने प्रत्येक दिनका संसद् अवरोधमा उनी सो दलका नेतासँगै उभिएर छाती फुलाउँँदै संसद् अवरोध गरिहेका हुन्छन् । यस क्रममा यस्तो असंवैधानिक काम नगरौँ भनी आफ्नो संसदीय दल वा संसद्का बैठकमा कतै पनि भनेको वा सुझाव दिएको सुनिएको छैन ।

यो भनेको व्यक्तिका अनुभवको स्खलन पनि हो । संविधान र नियम विपरीत काम हुँदा र त्यो पनि पटकपटक दोहोरिरहँदा त्यो संविधानसम्मत थिएन भने यसो नगरौँ भनी यो तहका व्यक्तित्वले सुझाव दिन सक्नुपर्छ । यदि त्यस्तो सुझाव मानिएन भने कम्तीमा आफूले चाहिँ त्यस्तो असंवैधानिक कामको बहिष्कार गर्न सक्नुपर्छ । त्यसो भएन भने मुलुकले ठूलो खर्च गरेर दिलाएको अनुभव खेर जान्छ । गलत हो भन्ने लाग्दालाग्दै र जान्दाजान्दै त्यही कुरा दोहो-याइरहनु मुलुककै लागि दुःखद् हो । संविधान विपरीत काम गर्न कसैलाई पनि छुट हुनुहुन्न ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया