Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनको कारण अन्तर्राष्ट्रिय मजदुर दिवस प्रभावित

लकडाउनको कारण अन्तर्राष्ट्रिय मजदुर दिवस प्रभावित


काठमाडौं, वैशाख १९
कोरोना भाइरस कोभिड—१९ को कारण विश्वभर मे १ तारिखमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक (मजदुर) दिवस प्रभावित भएको छ । विश्वका सबैजसो देशमा कोरोना भाइरसको कारण मानिसहरुको भेला र सभा गर्ने कार्यक्रममा औपचारिक र अनौपचारिक रुपमा रोक लगाइएको छ । सोही कारण नेपालमा पनि शुक्रबार अन्तर्राष्ट्रिय मजदुर दिवस प्रभावित हुने भएको हो ।

कोभिड–१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै श्रम तथा रोजगारका क्षेत्र पनि प्रभावित भएका छन् । महामारीले स्वास्थ्य सङ्कट सिर्जना गर्नुका साथै विश्व श्रम बजारलाई पनि गहिरो प्रभाव पारेको छ । कोभिड–१९ का कारण हजारौँ उद्योग कलकारखाना बन्द हुने अवस्थामा पुगेका छन् । लाखौँ श्रमिक कामबाट वञ्चित छन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले कोभिड–१९ का कारण विश्वभरबाट करिब १० करोडले रोजगारी गुमाउने प्रक्षेपण गरिसकेको छ । आइएलओका अनुसार सबैभन्दा बढी खाडी क्षेत्रमा रोजगारी गुम्ने खतरा छ । नेपालको प्रमुख श्रम गन्तव्य खाडीका मुलुक नै भएकाले त्यसको सबैभन्दा ठूलो मार नेपालले खेप्नु पर्नेछ । कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाले रोजगारी गुमाउने आशङ्का गरिएको छ । कोभिड–१९ को प्रभाव बढ्दै गएमा वैदेशिक रोजगारीमा ठूलो गिरावट आउने आँकलन गरिएको छ ।

नेपालमा वार्षिक करिब पाँच लाख नयाँ जनशक्ति श्रम बजारमा भित्रने गरेको सरकारी तथ्याङ्क छ । तीमध्ये अन्यन्त सानो सङ्ख्याले मात्र स्वदेशमै रोजगारीको अवसर पाउने गरेको छ । अधिकांश वैदेशिक रोजगारीको खोजीमा मातृभूमि छाड्न बाध्य छन् । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा सङ्कुचन आउने प्रबल सम्भावना देखिएसँगै सरकारले स्वरोजगारी र आन्तरिक रोजगारका अवसर सिर्जना गर्ने कार्यक्रम ल्याउने तयारी गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हितअनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे) २०२० को यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सम्पूर्ण श्रमजीवीको श्रम अधिकार सुनिश्चितताका लागि शुभकामना व्यक्त गरेकी छिन् ।

शुभकामना सन्देशमा उनले मुलुकमा पूर्णलोकतान्त्रिक शासन प्रणालीसहित गणतन्त्र स्थापनामा नेपाली श्रमिक वर्गले पु¥याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान समेत गरेकी छिन् । “श्रमिकहरूको हकअधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ मनाउने गरिन्छ”, सन्देशमा भनिएको छ, “यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा मैले लिएको छु ।”

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक सुनिश्चित गर्दैै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ । सोहीअनुरुप सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगारहरूका लागि कम्तीमा सय दिनको रोजगारी प्रदान गर्नुका साथै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गरेको छ । कृषिक्षेत्रको श्रमलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बद्ध पक्षले ध्यान पु-याउने अपेक्षा रहेको सन्देशमा छ ।

“मुलुकमा न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा यसबाट श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास मैले लिएको छु”, सन्देशमा भनिएको छ, “प्राकृतिक स्रोत तथा सम्पदामा सम्पन्न हाम्रो मुलुकमा विकासको ठूलो संभावना भएकाले यसलाई साकार तुल्याउन श्रमको व्यापक आवश्यकता पर्दछ, यसका लागि सबैले श्रम गर्ने अवसरसहित सामाजिक आर्थिक समुन्नति हासिल गर्न सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने तर्फ सम्बद्ध सबैको ध्यान आकृष्ट गराउन चाहन्छु ।”

“नोबल कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण इतिहास कै कठिन मोडमा उभिएका छौँ, मानव जातिका विरुद्ध आइलागेको यस विषम परिस्थितिमा धैर्य र संयमताका साथै एकताबद्ध भएरयस महामारी विरूद्धको लडाइँमा विजय हासिल गर्नुछ, महामारीले विश्वलाई नै आक्रान्त पारेको वर्तमान परिवेशमा सामान्य जनजीवन र अर्थतन्त्रमा प्रतिकूलता ल्याएकाले यसलाई मध्यनजर गर्दै सरकारका आगामी नीति तथा कार्यक्रम अघि बढ्ने र यसबाट श्रमिकहरूको जीवन पनि सामान्य अवस्थामा फर्किने आशा लिएको छु”, सन्देशमा भनिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x